top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

आफ्नै मर्जीः आइएस आधुनिक विश्वको बर्बरताको प्रतीक Published: February 4, 2015  |  बुद्धबार 21 माघ, 2071  |  5:30 AM  |  By Rajan Kuikel  |  Viewed: 16361 times

राजन कुईंकेल ।

 
इराक र सिरियाको केही क्षेत्रमा इस्लामिक शरीया कानुनमार्फत् शासन लाद्ने दुस्साहसका साथ अघि बढेको इस्लामिक स्टेट नामक संगठन अहिले मानवताविरोधी प्रतिबिम्बका रुपमा स्थापित हुँदै गएको छ । सत्ता र शक्तिप्राप्तिको यात्रा कतिसम्म घिनलाग्दो हुँदो रहेछ भन्ने दृष्टान्त उसका पछिल्ला केही हर्कतबाट प्रमाणित हुँदै जान थालेका छन् ।

इस्लामको नाममा आइएसले केही मुस्लिम बाहुल्य देशहरुमा आज जे गरिरहेको छ, त्यो इस्लाम धर्मको पवित्रता र आस्थाकै लागि एउटा भद्दा गालीसरह बन्न पुगेको छ । आइएसका केही लडाकूमा इस्लामिक शरीया कानुनमार्फत् शासन गर्ने भूत यसरी सवार भएको छ कि यसले मानवताको सामान्य मर्म पनि बाँकी राखेको छैन ।

इराक र सिरियाका केही भूभाग नियन्त्रण गर्दै इस्लामिक शासन गर्ने र पश्चिमा शक्तिविरुद्ध लड्ने उद्घोष गरेको आइएसले पछिल्ला दिनमा निहत्था नागरिक र आफ्ना नियन्त्रणमा रहेका व्यक्तिहरुलाई निशाना बनाउन थालेको हो । मानवीय संवेदना शून्य आइएस लडाकूहरुको निर्दयीतामा द्धन्द्धग्रस्त सिरिया र इराकमा विश्वभरबाट खटिएका सहायताकर्मीदेखि पत्रकारसम्म पर्न थालेका छन् । पछिल्लो एक साताभित्रै दुई जापानी र एक जोर्डनी नागरिकको निर्ममतापूर्वक हत्या गरिएको छ । मंगलवार मात्र आफ्नो कब्जामा रहेका जोर्डनी पायलट मोएज अल कसासबेहलाई उनीहरुले जिउँदै जलाएर हत्या गरे । सुन्दै आङ सिरिङ्ग हुने अपराध गर्दा उनीहरु खुसीले चिच्याउँछन् । जबकी यसको ठीक तीनअघि जापानी पत्रकार केन्जी गोतोको टाउको छिनालेर हत्या गरिएको थियो ।

आइएस लडाकूले आफ्नो कब्जामा रहेका निहत्था व्यक्तिलाई जिउँदै जलाएर या शीर छिनालेर मारेको छ । उसको निन्दनीय हर्कत यतिमा मात्र सीमित छैन । स्वच्छन्दताको आरोपमा महिलालाई ढुंगा हानेर मार्नु, समलिंगी भएको नाममा अग्ला भवनको छतबाट खसाल्नु उसका कायरतापूर्ण बहादुरीका उदाहरण हुन् । गत वर्षको मार्चमा सिरियाको रक्वा तथा त्यसपछि इराकको दोस्रो ठूलो सहर मोसूल कब्जा गरेर इस्लामिक स्टेटको घोषणा गरेको आइएसले यसबीचमा आफ्ना नियन्त्रणमा रहेका पश्चिमा देशका दर्जनौं व्यक्तिलाई निर्दयी ढंगले मारेको छ । ती क्षेत्रका सर्वसाधारण या त उनीहरुको यातना सहन विवश छन् या आफ्नो थातथलो छाडेर अन्यत्र पलायन हुन बाध्य ।

आइएसले आफ्नो बर्बरताको परिचय भने सन् २०१४ को अगस्ट १९ मा अमेरिकी पत्रकार जेम्स फोलेइको टाउको काटेर हत्या गर्दै सुरु गरेको हो । आफू र आफ्ना नीतिविरुद्ध नलागुन् भन्नकै आइएसले यस्ता बर्बर दृष्ययुक्त भिडियो सामाजिक सञ्चालमार्फत् सार्वजनिक गर्न थालेको छ । उसले ट्वीटर जस्ता सामाजिक सञ्जाललाई समाजलाई नै आतंकित तुल्याउने यस्ता दृष्य र आवाज प्रशारण गर्न ततथा आफ्ना मागहरु राख्न प्रयोग गरिरहेको छ ।

जोर्डनी नियन्त्रणमा रहेका अलकायदा बन्दी छाड्न होस् वा जापानसँग २० करोड फिरौती माग्न आइएसले यिनै माध्यमलाई प्रयोग गर्‍यो । आइएसको एकपछि अर्को घिनलाग्दो हर्कतको शिकार हुने क्रममा अर्का अमेरिकी पत्रकार स्टेफेन सोटलोफ गत वर्षको सेप्टेम्बर २ मा उसैगरी मारिए जसरी फोलेइको हत्या गरिएको थियो । सेप्टेम्बरकै १३ मा आफ्ना मागको सुनुवाइ नगरेको बहाना देखाउँदै आइएसले बृटिश सहायताकर्मी डेभीड हेइनसको हत्या गर्‍यो भने अक्टोबरको ३ मा अर्का बृटिश सहायताकर्मी एलन हेन्निङको शीरच्छेदनको भीडियो प्रशारण गर्‍यो । हत्याको श्रृंखला यतिमै रोकिएन । मानवता मरिसकेका आइएसका लडाकूले नोभेम्बरको १६ मा अमेरिकन सहायताकर्मी पीटर कासिङको उसैगरी शीर छिनालेर हत्या गरे ।

प्रोपोगण्डा मच्चाउनकै लागि पनि हत्याका भिडियो बनाएर प्रशारण गरिरहेको आइएसले यस वर्षको सुरुवातमै कब्जामा रहेका दुई जापानी नागरिक केन्जी गोतो र हारुना याकुवालाई रिहा गर्न २० करोड डलर फिरौती माग्यो । जापान सरकारले त्यसको प्रबन्ध गर्न सक्दा नसक्दै २४ जनवरीमा दुई मध्ये एक याकुवालाई हत्या गरेको दृष्य प्रशारण गर्‍यो र नियन्त्रणमा रहेका जापानी पत्रकार गोतोको रिहाइका लागि जोर्डनी जेलमा रहेकी अलकायदा लडाकू साजिदा अल रिश्वीलाई छाड्नुपर्ने शर्त तेस्र्यायो । तर, यो पनि अर्को बहाना देखियो किनकी जनवरी ३१ मा गोतोलाई हत्या गरेको भिडियो उसैगरी प्रशारण गरियो जसरी अघिल्ला दृष्य सामाजिक सञ्चालमा फालिन्थे ।

फेब्रुअरी ३ हुँदा नहुँदै आफ्ना नियन्त्रणमा रहेका जोर्डनी पायलटलाई त फलामे पिंजडामै बन्द गरेर जिउँदै जलाएर हत्या गरे । जसको कुनै शब्द र बोलीले भत्र्सना गरेपनि कम हुन्छ । यसरी आइएस आजको सभ्य दुनियाँमा त्रासदी र बर्बरताको परिचायक बन्न पुगेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell