top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

आफ्नै मर्जीः सरकारको एक वर्ष, जस्ता सुशील, त्यस्तै प्रधानमन्त्री ! Published: February 9, 2015  |  सोमबार 26 माघ, 2071  |  5:30 AM  |  By Rajan Kuikel  |  Viewed: 2999 times

राजन कुईकेल ।
 
नेपाली कांग्रेस संसदीय दलका नेता सुशील कोइरालाले मुलुकको कार्यकारी पद सम्हालेको एक वर्ष पूरा भएको छ । अर्थात् संसदबाट कोइराला नेपालको ३८औं प्रधानमन्त्रीमा निर्वाचित भएको ठ्याक्कै ३६५ दिन पूरा भएको छ । एक वाक्यमा प्रधानमन्त्रीको मूल्यांकन गर्ने हो भने निश्कर्ष निष्कन्छ–जस्ता सुशील कोइराला उस्तै पधानमन्त्री । अर्थात् न त अब्बल । न त पूरै खराब । बीचको । मध्यम कार्यकुशलता । पार्टी सभापतिका रुपमा रहँदा कोइरालाले जे कार्यक्षमता देखाए, प्रधानमन्त्रीका रुपमा त्यसलाई माथ गर्न सकेनन् ।

संविधानसभाको दोस्रो निर्वाचनमार्फत् संविधान बनाउने मुख्य कार्यादेश बोकेर प्रधानमन्त्री बनेका कोइराला मुख्य कार्यसूची मै चुके । हुन त संविधान नबन्नुको दोषी उनी मात्र होइनन् । तर, मुख्य दोषचाहिँ कोइरालाले नै बोक्नुपर्छ । अघिल्लो संविधानसभाको चार वर्षे अवधिका चार/चार कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदा पनि बनाउन नसकेको संविधान आफ्नो कार्यकालमा जारी गर्न पाउने सुवर्ण अवसर खेर फालेका छन् कोइरालाले । यद्यपि, सरकारको समीकरण तत्काल परिवर्तन हुने अवस्था नभएकाले अझै पनि त्यो मौका कोइरालाले छोप्न सक्छन् । तर, एक वर्षभित्र संविधान दिने कसम तोडेको तथा संविधान दिने मिति माघ ८ को वरिपरी दलहरुबीच बढेको मूठभेडको दोष उनले बोक्नुपर्ने हुनसक्छ ।

प्रधानमन्त्रीका रुपमा सपथ लिएलगत्तै कोइरालाले भनेका थिए–६ महिनाभित्र स्थानीय निर्वाचन र एक वर्षभित्र संविधान जारी गर्छु । दुबै काम उनको कार्यकालमा भएन । ठीक एक वर्ष अगाडि प्रधानमन्त्रीका रुपमा सिंहदरबारतर्फ पाइला लम्काउँदै गर्दा कोइरालाका अघिल्तिर कम्ति चुनौती थिएन । जनताबाट चुनिएको ठूलो दल भएर पनि प्रधानमन्त्रीको कुर्सीमा पुग्न सत्ता साझेदार एमालेले हालेको अल्झन तोड्न कोइरालाले सात बुँदे सम्झौता नै गर्नुपर्‍यो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नगरे सत्तामा उक्लन नदिने एमालेको अडानले गृह मन्त्रालय फुस्केको मात्र होइन कोइरालालाई समर्थन दिँदै एमाले अध्यक्ष केपी ओलीले सचेत गराएका थिए–‘खोलो तर्‍यो, लौरो बिस्र्यो’ नगरेस् । त्यतिमात्र होइन, एक वर्षमा संविधान जारी गर्ने र त्यसपछि प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, उपराष्ट्रपति सबै पदमा नयाँ निर्वाचन गर्ने सात बुँदे समझदारीप्रति व्यंग्य गर्दै कमल थापाले भनेका थिए–‘प्रधानमन्त्री नहुँदै कोइरालाको दिनगन्ती सुरु भयो’ । यो चुनौतीका बीच सुरु भएको यात्रामा मुख्य जिम्मेवारी पूरा गर्न नसकेपनि कोइरालाले पूर्ववर्तीभन्दा केही फरक छाप भने छाडेका छन् ।

भारतसँग जलविद्युत व्यापार र खरिद सम्झौता पीडीए र पीटीए गर्नु, सार्क सम्मेलन भव्य रुपमा गर्नु, सम्मेलनकै क्रममा शत्रुुतापूर्ण सम्बन्धका कारण दुईतिर मुख फर्काएका छिमेकी भारत र पाकिस्तानी प्रधानमन्त्रीबीच हस्तमिलान गराउनु, झन्डै दुई दशकदेखि हुन नसकेको भारतीय प्रधानमन्त्रीको भ्रमण दुई/दुईपटक हुनु प्रधानमन्त्रीका उपलब्धि हुन् । त्यसअलवा घरेलु राजनीतिमा वैदेशिक हस्तक्षेपलाई न्यून गर्न उनले खेलेको भूमिका अर्को महत्वपूर्ण कार्य हो । उज्यालो हुँदानहुँदै प्रधानमन्त्रीको शयन कक्षमा पुग्ने नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई आफ्नो हैसियत र स्थानमा रहन कोइरालाले पटक–पटक सचेत गराए । जुन उनका पूर्ववर्तीबाट अपेक्षा गर्न सकिएन । अझ भारतीय दूतावास र उनका कर्मचारीलाई नरिझाए पदमा टिक्न सकिन्न भन्ने नेपाली नेताको गिर्दो मानसिकताका बीचमा कोइराला अपवाद बने ।

हाल र पूर्ववर्ती भारतीय राजदूतलाई कूटनीतिक मर्यादामा रहन भनेको मात्र होइन, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सूलरलाई हप्काएको प्रसंगमा कोइराला प्रधानमन्त्री बन्न सक्दैनन् भन्नेहरु प्रशस्तै थिए । तर, घरेलु राजनीतिमा बलियो पकड भए नेपालीकै खुट्टामा उभिएर राजनीति गर्न सकिन्छ भन्ने कोइरालाले देखाए । सहमति पनि नगर्ने र प्रक्रियामा पनि नजाने विपक्षीको चालबाजीकैबीच संविधानसभामा प्रक्रिया सुरु गरिएपछि सहमतिमै फर्कन लबिङ गर्ने युरोपेली राजदूतहरुलाई प्रधानमन्त्रीले कुनै विषयमा सहमति नबने तिम्रा देशमा कुन पद्धती अपनाउँछौं भनेर प्रतिप्रश्नै गरे ।

सत्ता र शक्तिका लागि देश र जनताको स्वाभीमानलाई नै बन्धकी राख्ने नेताहरुका अघिल्तिर अपवाद बनेर प्रधानमन्त्रीका रुपमा कोइरालाले थोरै भएपनि नेपाली जातीको इज्यत जोगाए । दैनन्दिनी शासन–प्रशासन चलाउने क्रममा भने कोइरालाले आशा जगाउन सकेनन् । मन्त्रिपरिषदबाट संविधानसभामा लैजाने २६ सभासदको मनोनयन होस् वा संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्ति । कोइरालाले पनि राजनीतिकरण र दलीय भागबन्डाबाट मुक्त गर्न चाहेनन् ।

अदालतमा न्यायाधीश बनाउनेदेखि सरकारका सचिवहरुको बढुवासम्ममा कोइरालाले उसैगरे जस्तो पूर्ववर्ती सरकारी मुखियाहरुले गर्दथे । संविधान निर्माण त अपूरो रह्यो नै शान्ति प्रक्रियामा महत्वपूर्ण मानिएको सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबीन आयोग पनि बनाइएन । पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा गरिएका कत्रिम अभाव र कालोबजारी नियन्त्रण भएनन् । बरु भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको प्रधानमन्त्रीको भनाइ लागू हुन सकेन । तथ्यांक र प्रतिवेदनहरुले भ्रष्टाचारको पारो बढेकै देखायो ।

संसारकै गरीब उपमा पाएका प्रधानमन्त्रीकै क्याबिनेटमा पार्टीले नै भ्रष्टाचारी करार गरेका तथा सुनैसुन थुपार्ने मन्त्रीसम्मको जमघट देखियो । यसरी प्रधानमन्त्रीका रुपमा पनि कोइराला, व्यक्ति सुशीलभन्दा धेरै पर देखिन सकेनन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell