top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

माओवादी फूट र ‘एकता’मा अन्तर्निहित तत्वहरु Published: March 20, 2015  |  शुक्रबार 6 चैत, 2071  |  5:30 AM  |  By Bharat Dahal  |  Viewed: 366 times

भरत दाहाल ।

विश्वभरिको र्माक्सवादी साहित्यमा दृष्टिकोण, सिद्धान्त र राजनीतिक मूल्य–मान्यताहरुमा गुणात्मक अन्तर नभएको फूट र एकतालाई अवसरवाद प्रेरित मानिन्छ । यो मान्यताअनुसार निजी वा गुटगत स्वार्थमा आधारित फूट र एकतामा ‘लाइन’को अन्तर हुँदैन, अर्थात् राजनीतिक दिशा सारतः एकै प्रकारको हुन्छ । त्यसैले कम्युनिष्ट आन्दोलनमा फूट हुनेबेला सबैभन्दा बढी ‘दुइ लाइनको संघर्ष’ पदावलीको व्यापक मात्रामा प्रयोग भएको हुन्छ । पहिलेदेखि चल्दै आएका ‘दुई लाइनहरु’ एउटैमा रुपान्तरण भएको खन्डमा एकता र नभएको खन्डमा फूट हुन्छ ।

झन्डै ३ वर्ष अघि विभाजित भएको विभिन्न खेमाको माओवादी वृत्तले अहिले एकताका लागि औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउने सहमति गरेको छ । माओवादी वृत्त किन फूटेको हो र किन जुट्ने प्रयास गर्दैछ भन्ने कुराको सैद्धान्तिक–राजनीतिक औचित्य कसैलाई ज्ञात छैन । विभिन्न वृत्तका माओवादी नेताहरुको बयानलाई आधार मानेर हेर्ने हो भने आफ्ना अगाडि उत्पन्न भएको ‘व्यावहारिक संकट’को सामना गर्नका लागि ‘एकता’को प्रयास सुरु भएको भन्ने जानकारी पाइन्छ । ‘व्यावहारिक संकट’को अर्थभित्र धेरै कुराहरु लुकेका छन् ।

‘व्यावहारिक संकट’का रुपमा उनीहरुले उठाउँदै आएको पहिलो मुख्य विषय माओवादी वृत्त लोप हुनसक्ने खतरा हो । माओवादीहरुबाट बारम्बार फूटबाट कमजोर भएको कारणले संसदवादीहरुले हेपेको भन्ने कुन्ठाहरु व्यक्त हुँदै आएका छन् । संविधानसभाभित्र एमाओवादीको भूमिका निर्वाचनपछि स्खलित भएर जानु र वैद्य नेतृत्वले गरेको क्रान्तिको उद्घोष पनि मानसिक उत्तेजनामै सीमित रहनुका कारणले दुबै पक्षमा चरम हिनताबोधको विकास भएको छ । त्यसैले तिनीहरुका बीचको ‘एकता’ प्रयासको पहिलो कारण अस्तित्व रक्षाको प्रश्नसँग जोडिएको देखिन्छ ।

माओवादी वृत्तबाट द्धन्द्धकालका ‘मानवताविरोधी घटनाहरुमा फसाइने’ खतरा र ‘हेग’को कुरा उठिरहनुबाट उनीहरुमा सुरक्षा संवेदनशीलता निकै रहेको अनुमान गर्न गाह्रो छैन । प्रचण्ड स्वयंले पटक–पटक आफू मारिन सक्ने कुरा उठाउनु र बाबुरामले यदाकदा आफू ‘भीमसेन थापा’ बन्न तयार रहेको सन्दर्भ उठाउनुले पनि यस्तो त्रासको झलक दिन्छ । त्यसैले ‘एकता’का पछाडिको दोस्रो महत्वपूर्ण कारण भौतिक जीवनको सुरक्षाको विषयसँग सम्बन्धित छ । माओवादी नेताहरुले यो चुनौतीलाई ‘एकता’को बाटोबाट पन्छाउन चाहन्छन् ।

सुरक्षाको प्रश्नसँग अर्को पाटो पनि जोडिएको छ, जसलाई उनीहरु शब्दमा व्यक्त गर्न चाहन्नन् । त्यो हो, क्रान्ति वा शान्तिको बहानामा त्यहाँभित्रका केहि व्यक्तिहरुले लुटेर सन्चय गरेको निजी सम्पत्ति जोगाउने सवाल । जो सत्ता वा बन्दूकको आडमा देश र सर्वसाधारणको सम्पत्ति लुटेर कुलिन वर्गमा रुपान्तरण भएका छन्, तिनीहरुमा ठूलो भय छ कि प्रतिरोध गर्ने शक्ति नरहेको अवस्थामा बदलाको कारबाहीमा पर्न सकिन्छ र लुटेको सम्पत्ति पनि जाने सम्भावना रहन्छ । यसलाई उनीहरुले ‘एकीकृत शक्ति’ निर्माण गरेर बचाउन चाहन्छन् ।

तेस्रो कारण माओवादी ‘आन्दोलन’को पूर्वनिर्धारित नियति हो । यसलाई जुन जुन बाह्य वा आन्तरिक शक्तिकेन्द्रहरुले जे उद्देश्यका लागि संगठित गरेका थिए त्यसअनुसार उठाउनु वा सुताउनु तिनीहरुकै हातको कुरा थियो । हिजो एउटा शक्तिले माओवादी वृत्तमा आफ्नो प्रभाव देखाउन फूटाएको र आज अर्को शक्तिले कमजोर भएका आफ्ना मुद्दाहरुलाई पुनर्संगठित गर्न जुटाउन लागेको संकेत देखिन्छ । आकाश र पातालका रुपमा भिन्नता देखाउनहरु आत्मालोचितसम्म नभएर ‘एकता’ वार्तामा सामेल भएको घटनाले यस्तो आशंका निराधार ठहर्दैन ।

यसको चौथो कारण माओवादी वृत्तभित्र बढ्दै गएको टुटफूटको श्रृंखला हो । प्रचण्डसँग बाबुराम बसिरहने सम्भावना छैन, त्यसैले उनलाई त्यसबाट उत्पन्न हुने क्षतिको भर्पाइ गर्नु छ । वैद्य माओवादीबाट चन्द पक्षको बहिर्गमनपछि त्यसलाई पनि यहि समस्याले गाँजेको छ । अझैपनि दुबैतिर जातीय, भाषिक, क्षेत्रीय आस्थामा आधारित थुप्रै गुटहरुको अस्तित्व छ, जसले कुनै पनि बेला अर्को विभाजनको रुप लिन सक्दछ । तसर्थ, दुबै पक्षले वार्तालाई आफ्नो स्खलनको प्रक्रिया रोक्ने साधनका रुपमा उपयोग गर्न चाहेका छन् ।

मेरो बुझाइमा माओवादी ‘एकता’ प्रयासको पाँचौं कारण सापेक्ष रुपमा इमान्दार भनिनेहरुसँग जोडिएको छ, जसले उनीहरुको अकर्मन्यता र त्यसबाट उत्पन्न कुन्ठासँग सरोकार राख्दछ । यस्तो तप्का भावनात्मक रुपमा क्रान्तिप्रति संवेदनशील भए पनि दृष्टिकोण, दिशा र कार्यक्रमविहीन थियो । बचनको प्रतिबद्धताअनुरुप केहि गर्न नसकेपछि ‘फूटको औचित्य साबित हुन नसकेको’ भन्दै गलत तत्वहरुले यो पंक्तिलाई घेराबन्दी गरेर दबाबा दिने मौका पाए । दोस्रो तहका नेताहरुको संयुक्त कार्यक्रमले यो यथार्थतालाई प्रष्टसँग देखाएको छ ।

उपरोक्त चर्चाबाट साबित हुन्छ कि यो ‘एकता’ प्रयास क्रान्तिको ‘लाइन’सँग संबन्धित छैन । यसमा चरित्र सुधार गर्ने संकल्प र इच्छाशक्ति पनि अभिव्यक्त भएको छैन । यो मूलतः अस्तित्वको संकट, सुरक्षा त्रास, बाह्य शक्तिकेन्द्रहरुका निर्धारित मुद्दामा जोडिएको चासो, स्खलनको रोकथाम र सांगठनिक अकर्मन्यता जस्ता मिश्रणको परिणाम हो । उनीहरुका बीचको निकटताको कारणहरु आन्तरिक नभएर बाह्य पक्षसँग सम्बन्धित छन् भन्ने कुरा यसबाट स्पष्ट हुन्छ, जो ‘हरेक चिजको उत्थान र पतनको प्रमुख कारण आन्तरिक हुन्छ’ भन्ने माओवादी मान्यताकै विरुद्ध छ ।

जहाँसम्म व्यक्तिगत अभिरुचीको कुरा छ, प्रचण्ड नै यसको मुख्य सूत्रधार हुन् । यसका लागि उनले वैद्यतिरका केहि मानिसहरुलाई अस्तित्व, सुरक्षा र संसदवादीहरुसँग विवादित मुद्दाहरु औचित्यहीन हुने खतरा देखाएर उचालेका छन् । विभिन्न प्रकारका व्यक्तिगत रिसराग र स्वार्थका कारणले एमाओवादीमा रहन नसकेका तर प्रवृतिगत रुपमा एमाओवादीसँग खासै भिन्नता नरहेको वैद्य पक्षका मानिसहरुको यसमा साथ रहेको छ । बाबुराम प्रधानमन्त्री बन्ने बेला मागेका मन्त्रालय नपाएपछि ठूला कुरा गर्दै बटारिएका तत्वहरुलाई यस कोणबाट हेरिनु पर्दछ ।

त्यसैले ‘एकता’ प्रयासको उत्पत्तिको स्रोत विचार नभएर उपयोगको दाउपेच हो । एमाओवादीमा बाबुराम गुटको यसमा असहमति छ भने वैद्य पक्षमा पनि ठूलो संख्या यो प्रक्रियासँग सहमत छैन । वैद्य पक्षले राखेका ६ ओटा सर्त एमाओवादीले मान्न सम्भव छैन । एकले अर्कोलाई लगाएका ‘गद्दार’, ‘विदेशी दलाल’, ‘वाम विसर्जनवादी’, ‘राष्ट्रिय आत्म समर्पणवादी’का आरोपहरुबारे कसैले आत्मालोचना पनि गरेका छैनन् । वैद्य पक्षलाई चुनावमा जान नदिनेदेखि त्यसकाविरुद्ध सेना परिचालनको प्रयाससम्म गरेका एमाओवादी हर्कतहरु व्ैद्य पक्षको मानसपटलमा जीवित छन् ।

यस्तो अवस्थामा ‘एकता’लाई मूर्तरुप दिने आधार भनेको ‘फरक मतलाई बहसको विषय बनाएर लैजाने’ सहमति गरेर झारा टार्ने हो । यसले त्यहाँभित्र उत्साह जगाउने त छैन नै, राम्रा मानिसमा अझ ठूलो अविश्वास तथा गलत प्रवृतिका बीचमा विग्रह र अराजकताको सिर्जना गर्नेछ । सर्वसाधारण मानिसहरुमा सबै माओवादीहरुप्रतिको बुझाइ उस्तै प्रकारको छ । यसले जनस्तरमा त्यसको आकार बढ्ने पनि देखाउँदैन । बढीमा यसले नव औपनिवेशिक सत्ता राजनीति गर्ने दलाल कित्तामा थोरै भए पनि वार्गेनिङको हतियारका रुपमा काम गर्न सक्छ ।

व्यक्त विचार लेखकका निजी विचार हुन्–सम्पादक ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell