top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

भुकम्पको हल्ला: बालबालिकाहरुको लागि घातक Published: May 3, 2015  |  आईतवार 20 बैशाख, 2072  |  5:30 AM  |  By Nirjala Kashyapati  |  Viewed: 1732 times

-निर्जला कक्षपति

गत शनिवार देखि आएको भूकम्पले सबै नेपालीको मन डर र त्रासले त भरिएको छ नै त्यस माथि स–साना नानीहरु झनै त्रसित देखिएका छन् । भुकम्प के हो, कसरी आउँछ भन्ने समेत नबुझेका नानीहरु अकस्मात् घर अनियन्त्रीत तवरले हल्लिदा र घरका ठूला व्यक्तिहरु अकस्मात् ‘भुईंचालो आयो’ भन्दै ठूलो स्वरमा रुँदै कराउँदै भागदौड गर्दा बच्चाहरु बढी त्रसित्र हुन पुगे । मंगलवार देखि भुईचालोको झड्का केही कम भएको महशुस गरेपनि अझै धेरैको मनबाट डर र त्रास हट्न सकेको छैन । ससाना नानीहरु भूकम्पको डरले घरभित्र प्रवेश गर्नै डर मानीरहेका छन् भने कोही नानीहरु डर र त्रासले कम बोल्ने र टोलाइरहने समेत हुन थालेका छन् ।

भूकम्प प्राकृतिक विपत्ती हो । यो कति बेला कसरी आउँछ, कसैलाई थाहा हुदैन र यस्को पूर्वअनुमान गर्न पनि सकिदैन तर भूकम्प आउनु भन्दा अगाडी नै ‘लौ है, यति रेक्टरको भूकम्प आउँछ रे, यस्ले गर्दा अव झनै ठूलो धनजनकोे नास हुन्छ रे’ भन्ने खालको हल्ला गर्दा मन त्रसित हुन पुगेको हो । साना नानीहरुले पनि यस्तै खालको कुरा सुनेर नै बढी डराएका हुन् ।

बाल मनोविज्ञका अनुसार, ससाना नानीहरुको अगाडी यस्तो कुरा गर्नु गलत हो । प्राय गरि बच्चाहरुले आफना बाबुआमासँग भुकम्प कहिले रोकिन्छ अर्थात् अव पनि भूकम्प आउँछ भन्ने प्रश्न गरिरहन्छन् । यस्तो बेला अभिभावकले एकिन कुरा भन्न नसकेपनि अव भूकम्प आउदैन, आएपनि हामीलाई केही गर्दैन भनेर सान्त्वना दिइराख्नुपर्छ र भूकम्पबाट बच्ने उपायबारे पनि उनीहरुले बुझने भाषामा सम्झाइरहनु पर्दछ । यसैगरि घरका ठूला व्यक्तिले पनि आफना कामलाई नियमित गर्ने प्रयास गर्नु पर्दछ ।

ठूला व्यक्तिले नियमित काम गरेको देखेर पनि ससाना नानीहरुको आत्मबल बढ्न सक्छ । यस्ले गर्दा उनीहरु खेल्न थाल्छन् । घरभित्र आफना नानीहरुसँग अभिभावकहरु सँगै बस्ने र खेल्ने गर्दा पनि उनीहरुले भूकम्प आएको क्षण विर्सन सक्छन् । यदि कोही बालबालिका आफनो कोठामा जान डराइरहेका छन् भने नानीसँगै कोठामा जाने गर्नुपर्दछ  र कोठामा केही घण्टाका लागि समय व्यथित गर्नु पर्छ ।

मनोविद्का अनुसार, सामान्यतया प्राकृतिक प्रकोप, हिंसाजन्य क्रियाकलाप र मान्छेले बनाएका संरचना भत्किदा र सवारी साधन दुर्घटना हुँदा मानिसलाई आघात पार्छ । प्राकृतिक विपत्तीको बेला मानिसमा ठूलो तनाव तथा त्रास हुन्छ । त्यसैले यस्तो प्राकृतिक विपत्ती आइपरेका बेला ससाना नानीहरुले अभिभावकलाई छोड्नै नमान्ने अनि टास्सेर बस्ने गर्छन् ।

यस्तो प्राकृतिक विपद्को ठुलै घटना घट्दा ठूला व्यक्तिलाई तीन दिन सम्म मानसिक आघात पर्छ भने साना नानीहरुलाई एक हप्तासम्म मनमा डर पस्न सक्छ । यदि एक हप्ता पछि पनि ससाना नानीहरु सामान्य अवस्थामा फर्किएनन् भने उनीहरुलाई परामर्श गर्नु पर्ने सुझाव मनोविद्हरु दिने गर्छन् । यदि बेलैमा परामर्श गरिएन भने बालबालिकाहरुमा मानसिक समस्या देखिन सक्ने धारणा पनि मनोविद्हरुको छ

भूकम्पबाट त्रसित्र मनलाई साम्य पार्ने उपाय भनेको, घरका सबै परिवार एकै ठाउँमा जम्मा भएर बस्नु पनि हो । परिवारका सबै सदस्य मिलेर गफ गर्नु उत्तम मानिन्छ तर भूकम्पका बारे यत्तिकै फिंजाइएका हल्लाका गफ होइनन् । आफना नानीहरु सँगै बस्दा टेलिभिजनमा देखाइने विभत्स घटना तथा भयावह दृश्य नहेर्नु नै राम्रो हुन्छ । किनभने ससाना नानीहरु सँगै यस्तो दृश्य हेरिंदा बच्चाहरुको मनमा झन डर उत्पन्न हुन सक्दछ । सामुहिक रुपमा बस्दा भजन गाउने, भगवान्लाई सम्झने अनि भूकम्पमा परि घाइतेहुनेहरुको स्वास्थ्यलाभको कामना गर्नुपर्दछ  र सबभन्दा महत्वपूर्ण कुरा भनेको भूकम्प आउँदा आत्तिएर भागदौड गर्नुभन्दा संमयता अपनाई सुरक्षितसँग बाँच्नु नै बुद्धिमत्तापूर्ण काम हो ।
      

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell