top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

धक्का नं ७.८ Published: May 31, 2015  |  आईतवार 17 जेष्ठ, 2072  |  5:30 AM  |  By shailendra Shrestha  |  Viewed: 5310 times

-शैलेन्द्र श्रेष्ठ ।

२०७१ को अन्तिम साँझ थियो । फेसबुकमा यस्तो लेखेँ । र शुभकामना दिएँ नयाँ सालको ।
“मेरो नम्बर र ठेगाना सुख, शान्ति र सम्वृद्धीलाई पनि नदिनू । म आफै मौका मिलाएर बोलाउँछु भन्दिनू । आउने सालमा पनि जुध्नेछु हरेक चुनौतिसित । तव बलियो भइँदो रहेछ जीन्दगीमा । तपाईहरुलाई पनि शुभकामना ! ”यो यसै लेख्न आएको थिएन । भर्खरै मात्र एउटा टेलिभिजन शोमा चर्चित अभिनेत्री मनिषा कोइरालाको अन्तरवार्ता हेर्दै थिएँ । उनी सकारात्मक लयमा केही कुरा भन्दै थिइन । त्यो हेरेपछि उनको स्पिरिचुअल इन्टेलिजेन्स्बाट निकै प्रभावित भएँ म ।

हरेक कठिन अवस्था त्यसै आउने होइन रहेछ । कतै न कतै मानिसको अवचेतनमा लुकेर बसेको हुन्छ । भविष्यमा यस्तो होस् र सामना गरुँ जस्तो लाग्ने । नभन्दै त्यस्तै एउटा घटना भइदिने । कतै संयोग जस्तो । आफैले चाहेजस्तो । मलाई पनि कुनै बेला यस्तै के आउँथ्यो दिमागमा । अझैपनि आउँछ ।
म अहिले भन्छु । इमोसनल सिल्लिनेस्  ! र कुनै बेला पत्रमा लेख्थेँ उनलाई । “म तिमीसितको प्रेममा एउटा वियोग चाहन्छु।”

नभन्दै त्यो पनि त्यस्तै भयो । अहिले यस्तै लाग्दैछ । मनिषा जे भन्दै थिइन अन्तरवार्तामा । जव हेरेँ । म आफै क्लिक भएँ । र लेख्ने मुड बनाएँ ।

खासमा मलाई लामा ब्लग र लेखहरु भन्दा छोटा कविताहरु लेख्न र पढ्न मन पर्छ । ताकि लेख्न र पढ्न पनि गाह्रो नहोस् । तर धेरैलाई बुझ्नै कठिन भैदिँदो रहेछ । खैर लेख्दैछु । अरुका लागि नभए पनि आफ्नै लागि ।
०००
यसपाला नयाँबर्षले पहिलो दिनबाटै काउन्टरै दिन थाल्यो । उसै दिनहरु कठिन हुँदै थिए । कठिनाई अरु थपिदै गए । सोचेँ सायद नयाँ बर्षले पनि जवाफी चुनौति दियो । सामाना गर्छु ।

मिड टर्म चलिरहेको थियो एमबिए दोस्रो सेमेष्टरको । जागिरले डिमोटिभेट गराएपछि ७ बर्षदेखि गर्दै आइरहेको जागिर छोडेर पढाई गर्दै थिएँ । तैपनि जजसलाई सेवा गर्ने मौका पाएँ । उनीहरुको मेसेज पढेर अझै पनि खुसी हुन्छु । राम्रो गरेछु भन्ने लाग्छ । र आत्मविश्वास भरिएर आउँछ । प्रशंसा गर्छन् । 

नयाँ सालको पहिलो हप्ताको शनिबार आमाको मुख हेर्ने दिन । शनिबार बिहानै मेरो पारिवारिक भन्दा नजिकका दाईको निधनको खबर आयो । एकजना असल अभिभावक गुमाएँ । शनिबार दिनभर अस्पताल र पशुपति आर्यघाटमै दिन बित्यो ।

भाउजू र भतिजको आँसुमा मैले रोक्न सकिन आँसु । रोएँ । खुब रोएँ । र आर्यघाट अँध्यारो हुन थालेपछि दाहसस्काँर सकिएर फर्किएँ घर साथीसित ।

त्यसपछिको हप्तै भरि कठिन हुँदै थिए । अरु पनि कारण थिए । कहिलेकाही कारणै चाहिदैन थियो। जतिबेला भारी लाग्थ्यो रोइदिन्थेँ बाथरुममा । ऐना हेर्दै । निकै कोशिस गरेँ आफूलाई हलुका बनाउन । सकिरहेको थिइन ।

सायद त्यो पनि सपना थियो । म प्रेमको एउटा कठिन मोडमा थिएँ । सरुभक्तको लाइन सम्झन्छु ।

–प्रेममा कुनै मोड हुँदैन, मोडमा कुनै प्रेम हुँदैन । अरु कसैले भनेको सम्झन्छु,

–देयर इजि नो लभ विदाउट ट्रेजेडी  ! प्रेम छ र त वियोग छ ।

उताबाट ऊ रोएकी सुनिन्थ्यो अवेर रातसम्म । टोलमा एकथान बिहेको धुन बजिरहन्छ । कुकुर भुकिरहन्छन् । कतै उनीहरुकै युद्ध चलेको जस्तो । म निदाउन सकिरहेको थिइन उसै । अबेर रातसम्म पनि ।

साँच्चै जस्तो लाग्यो । सपनामा उठेँ । बाथरुमको बेसनमा एकदुइपल्ट जोडले खकारेँ । रगत छादेँ । ओठमा घाउ जस्तो देखेँ । रगत थामिएन । सायद, मैले हिजो बेस्सरी चुरोट पिएको थिएँ । सायद, त्यसैले । र बिउँझिएँ झस्याँङग  !

त्यो एउटा नमिठो सपना थियो । एैठन भएछ । निस्सासिएँ । फेरि कतिबेला निदाएँ । थाहै भएन । बिहान अवेर उठेँ । कसैलाई भनिन सपनाको कुरा । पछि उसैलाई भनेँ । म निकै आँतिएको थिएँ । केही प्रलय हुँदैछ जस्तो लाग्यो । उसैले पछि सम्झाई ।
–केही हुँदैन । नआत्तिनू  ! म छु नि  !
०००

बैशाख ११ गते, शुक्रबार, बेलुकी । परिक्षा सकेर सिधै कोटेश्वर साथीकोमा लागेँ । खाना खायौँ । ज्यान गलेको थियो । मानसिक रुपले नै निकै थाकेको थिएँ । भोलि शनिवार । आइतबारदेखि नयाँ अफिस । नयाँ जिम्मेवारी सम्हाल्ने । शनिवार सबै ह्यांगओभर उतार्नु थियो ।  डिप्रेसन होला कतै भन्ने डर थियो । होइन रहेछ।  दुःखी हुनु । कठिन महसुस् हुनु । निकै संघर्ष गरिरहेको थिएँ बरु मानसिकरुपमा चुस्त रहन । सकारात्मक भएँ । र केहीबेरमै निदाइयो ।

बैशाख १२ गते, शनिबार ।

ढिलो उठियो । हलुका नास्ता गर्यौँ । र हतार हतार हलतिर लाग्यौँ। सिनेमाहलको छैठौँ तल्ला । चाबहिल । नेपाली सिनेमा – रेशम फिलिली ।

हामी तीन जना थियौ साथीहरु । सिनेमा अल्छि–अल्छि लाग्दो भइरहेको थियो । रिल लाइफको अन्तराल नसकी अचानक एउटा नयाँ मोड आयो कथाको । जिन्दगीको कथाको । धक्का नं ७.८ ।
०००

हलभित्र हामी बाँसको टुप्पामा हल्लिए जसरी हलियौँ । सिनेमा चलिरहेको थियो । हामी बस्दै, उठ्दै गर्यौँ । हल्लिन छाडेन । हलमाथिको जिप्सम धुलिएर झर्न थाल्यो। मलाई अंग्रेजी सिनेमामा देखाइने इलेक्ट्रिक स्पार्क जस्तै लाग्यो । अव बाँचिन्न जस्तो लाग्यो । मृत्यु अघि सबै डर भागेर जाँदो रहेछ जस्तो लाग्यो । कतिवेला त्यो भवन गर्ल्याम्म भत्किएर हामी पुरिन्छौ र मर्छौ जस्तो लाग्यो ।

हतार हतार झर्यौ । हल्लिन छाडेको थिएन। रोडमा निस्कियौँ ।  धुलाम्मे देख्यौ जताततै । खुला चौरमा दौड्यौँ । कसैलाई सम्झन सकिरहेको थिइन । पछि फोन लागेसम्म सबैलाई सम्पर्क गरेँ ।

बसुन्धारामा फोन गरेँ दाईलाई । घरमा । लागेन । दाई आफैले गरे। घरमा ठिकै छ । हामी ठिक छौँ । घर चै भत्कियो । गाउँमा नबोली सन्तोक भएन। लागने फोन । फेरि दिदीले उतैबाट गर्नुभो । आमा बाबा र दुइ दिदीसँग बोलेँ । म बाँचे भने । धाडस दिएँ । मान्छे बाँचियो बनाऔँला घर ।

गाउँ घर धुल्लाम्मे भएको खबर सुनेँ । छिमेकी परे भन्ने सुनेँ । फेरी दाईको फोन आयो । काठमाडौमा कान्छा दाईको घर भत्कियो । त्यता गइहाल । दाई मात्र बाँच्नू भो रे  ! अपुष्ट खबर आयो । प्यारी दिदी, भाउजू, भतिज र ठूलोममलाई पनि गुमायौँ भन्ने ।

साथीलाई लिएर कुदेँ । लोकेट गर्न गाह्रो भो घर । दिमागले काम गर्न छोडे जस्तो भो । बल्ल पुगियो । दाईलाई अँगालो मारे । आँसु थाम्न सकिएन । घरभित्र रेस्क्यु प्रयास जारी थियो । एकजना नजिकै बस्ने डाक्टर चिच्चाउँदै आइन भीडमा । एकजना बुढी मान्छेलाई हस्पिटल लगिएको छ।

होस् मा अझै हुनुहुन्छ भन्ने थाहा भो । र हस्पिटल दौडियौँ भतिजहरुसित । हस्पिटलको आँधीभित्र पनि बसेँ । कठोर रात बिताएँ । भोलिपल्ट आर्यघाटमा आफन्त जलाएर आएँ । अरुका आफन्त जलाएको देखेँ । घर भत्कियो । धुँवाको मूस्लोसित जुधेर हिँडे । जता ततै । एक्लै एक्लै । रोएँ । रोएँ मात्र । विक्षिप्त भएँ । भगवान पुकारेँ । धिक्कारेँ ।
०००

जिन्दगीमा गर्न नपरेको र नजानेको दुःख गरेँ मैले पनि । के के गरिएन ?  ढुँगो बोकेँ बडेबडेमानको । घरको खाँबा, बला र धुरीका काठ थुपारेँ । पोखिएको धान टिपेँ, बोकेँ । घर कोतरियो । घुम्ने कुर्सीदेखि कठोर शारिरिक श्रमसम्म गरेँ ।

पसिना त्यति बग्यो जति मलाई पानी खान पनि डर लाग्छ अचेल र एउटा छाप्रो बनायौँ । बाबु आमा, दिदीहरु र आफ्नै आश्रयका लागि । नउडाइदिए हुन्थ्यो यो हुरीले त्यो छाप्रो । यता हुरी चल्दा पिरै पिर लाग्छ ।

गाउँ जाँदा बाबूसँग रातभरी छाप्रोको बासमा पछाडीबाट कस्सिलो च्यापेर सुत्थेँ । बाबू सुँकसुकाउँनु हून्थ्यो । उमेरले हो कि । धूलोले नाक कोतरेको हो बाबूको । अँध्यारोमा मैले औँला लगेर छामे । ठम्याउन सकिन । बाबा रुन म भन्दा धेरै जान्ने जो हुनु हुन्छ । जसले जिन्दगीमा बडेमानको दुइटा भुइचालो भोगे ।

घरमा मेरी आमा, दुई दिदीहरु कठिन समय गुजार्दै हुनुहुन्छ । यता म दाई र भाउजूसित छु । दुःख बिर्सन  कोशिस गर्दैछु । दुःख मैले मात्र पाएको पनि होइन यसपाला । साराले पाए ।

ठूलीआमाआमा बाँच्नु भो तर प्यारी दिदी, भाउजू र हिरो भतिजलाई गुमायौँ । दाई शोकमा हुनुहुन्छ अझै । भेट्ने हिम्मत अझै आएको छैन । यस्ले मान्छे बनाउला रु कस्तो मान्छे बनाउला रु कि आँसुले मान्छे बनाउँदैन होरु नत्र मलाई किन यति रुन आएको होलारु  लेख्दा लेख्दै पनि रुन मन लाग्छ कहिलेकाही ।

बोल्दा बोल्दै पनि रुन्छु । के म कमजोर भएर होर ? कि आँसुको प्रश्नै हुँदैन । आफैलाई धेरै पटक सोध्छु । यो भन्दा पनि कठोर के के हुन्छ होलार ? अरुको देखेर तर्सिएँ । मलाई यी सबै सम्झनाहरु जतिसक्यो बिस्मृतिमा लैजानु छ ।

यो भुइचालो कै बिचमा पटकपटक काठमाडौ र गाउँ ओहोर दोहोर गरेँ । अघिल्लो पटक जाँदा भुकम्पकले बाँचेको मान्छे पहिरोको भीरमा झण्डै मरियो । सायद केही नहोला अव । जतिपटक आएँ सपना बोकेर आउँथेँ । र भताभुंग पार्थ्यो मेरा सपना । पछिल्लो पटक काठमाडौ आउँदा कुनै सपना नबोकी आएको छु । मर्नपनि डर लाग्दैन अचेल । कतै घाइते भएर बाँच्नुपर्ला भन्ने डर लाग्छ बरु ।

मलाई अझै झल्को आउँछ । हलमाथिको जिप्समको धुलो अँग्रेजी सिनेमाको इलेक्ट्रीक स्पार्क जस्तो अझै आइरहन्छ सम्झनामा । सायद त्यहि मेरो नयाँ जिन्दगीको स्पार्क हो कि कतै । कथा यहिँ सिद्धिएको छैन । बरु कथा यहीँबाट सुरु हुँदैछ । खै आउने दिनको सिक्केवेल कथा कस्तो हुने हो बरु ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell