top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

दलीय सामन्ती सोच Published: June 25, 2015  |  बिहीवार 10 आषाढ, 2072  |  5:30 AM  |  By ananda ram paudel  |  Viewed: 1220 times

-आनन्दराम पौडेल ।  सत्ता वर्गीय हुन्छ र वर्गीय सत्ताले आफ्नै वर्गको पक्षपोषण गर्छ भनेर पढ्थ्यौं। हाम्रो राजनीतिक नेतृत्व र शासकले चालेका हरेक कदम र लिएका प्रत्येक निर्णयले त्यही पुष्टी गर्छ । २०६९ बैशाख ७ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले गज्जबको आध्यादेश जारी गराएका थिए । त्यही अध्यादेशलार्इ कानुनी औपचारिकता दिएर पक्का बनाउनको लागि वर्तमान सरकारले संसदमा विधेयक पेश गरेको छ ।

ठूलो पदमा एकपल्ट आसीन भएको व्यक्तिलार्इ ठूलो पदमा आसीन भैदिनु भएबापत (उनीहरु त्यो पदमा बसिदिनु नै राष्ट्रको लागि ठूलो कृपा भएको ठानी ) सरकारले आवास, विलासी गाडी, इन्धन, मर्मत खर्च आजीवन दिने भएको छ । चालक र सचिवालयका कर्मचारीको तलबभत्ता पनि आजीवन दिनेछ । त्यसबेला यो सुविधा सिडिओलार्इ पनि दिनुपर्छ भनेर कुरा उठेको थियो, तर के कारणले हो अध्यादेशमा समावेश हुन सकेन ।

नेपाली समाज ‘स्टाटस कन्सस’ छ। ठूलो पदमा आसीन भैसकेकोलार्इ सधैं ठूलो मान्छे भन्छ । न्यायपूर्ण, उन्नत समाज निर्माणको लागि कस्ले कति योगदान गर्यो  त्यताबाट कसैको मूल्याङ्कन गर्दैन । घुसकमिशन खाएर वा भ्रष्टाचार गरेर जे गरेर भएपनि रातारात अरबपति हुनेलाइ पुरुषार्थी भन्छ । तिनैलाइ शीरमा राख्छ र तिनैको पाउ पर्छ । जनता अनुसारकै नेता र समाज अनुरुपकै सरकार भएकोले नेतृत्वले पनि तिनैलाइ काखि च्याप्छन् । २०६४ को निर्वाचनपश्चात् बनेका सरकारले मात्रै तीन हजार जघन्य अपराधीका मुद्दा फिर्ता लिइसके । पाँच शय खुङ्खार अपराधीका मुद्दा फिर्ता लिन प्रकृया अघि बढिसकेको छ ।

हुनेखाने, सम्भ्रान्त, ठूलावडाकै पक्षमा सरकारले जुन काम गरिरहेको छ, त्यस्लाइ अन्यथा भन्न मिल्दैन । आफ्नो वर्गीय चरित्र अनुसार सरकारले अर्थोक गर्नसक्ने सम्भावना थिएन। २०४८ सालको सरकारले सांसद र मन्त्रीहरुले गरेको भ्रष्टाचारमा अख्तियारले छानबिन गर्न नपाउने ऐन बनाएका थिए । यो विभेद र पक्षपातविरुद्ध बालकृष्ण न्यौपानेले त्यसविरुद्ध रिट हालेपछि सर्वोच्चबाट भएको फैसलाबमोजिम २०५९मा ऐन सच्याएका थिए ।

२०५२ सालमा शेरबहादुर देउवाजीले सचिव, न्यायाधीश, सांसदलगायत सबै ठूलाबडालाइ प्राडो, प्याजेरो ल्याउन भन्सार ९२५० प्रतिशत लाग्ने भन्सार छुट गरिदिएका थिए । २०६३ पछि नेताहरुले अर्को भयङ्कर काम गरे । सैद्धान्तिक नीति अनुसार गरिबीको रेखामुनी परेका अति बिपन्नहरुको लागि दिनुपर्ने आरक्षण त उनीहरुलार्इ नदिएर जात र सम्प्रदायको नाममा सम्भ्रान्तहरुको काखपोल्टामा पो पारिदिए । पीडकको ख्याल गरेर, पीडकहरुलाइ असजिलो नपर्नेगरी सत्यनिरुपण तथा मेलमिलाप ऐन बनाए । सरकारी कर्मचारी बीचमै पनि काखा र पाखा गर्छन् । कसैलाइ तलबको दशौं गुना भत्तासुबिधा दिन्छन् त कसैलाइ सुख्खा तलब मात्र दिन्छन् । नेतृत्वले जे गरिरहेछन् त्यस्ले जर्ज अरवेलको ‘एनिमल फार्म’ उपन्यासको सार९वाक्य “अल एनिमल आर इक्वेल, बट सम एनिमल आर मोर इक्वेल” लार्इ सार्थक बनाइरहेछ। नेतृत्वप्रति कुनै गुनासो छैन । आपत्ति एउटा मात्र छ, उनीहरुले कुरा एउटा, काम अर्कै नगरिदिए हुन्थ्यो । उनीहरु सर्वहाराको कुरा गर्छन्। जनता भन्छन् । सर्वसाधारणको लागि गरिरहेछौं भन्छन् । यसरी ढाँट्ने कामचाहीं नगरिदिए हुन्थ्यो भन्ने एकमात्र हाम्रो उजुरी हो । हो, यही ढाँट, छल, ढोंग, पाखण्ड र आडम्बरले हामी आजित भैसकेका छौं, राष्ट्र आक्रान्त भएको छ ।

अठारौं शताब्दी र उन्नाइशौं शताब्दीको दोश्रो विश्वयुद्धसम्म युरोप पनि नेतृत्व र शासकका ढोंग, पाखण्ड र आडम्बरले आक्रान्त थियो । परिवर्तनको तिब्र लालसा बोकेका जनतालाइ भ्रमजालमा अल्मल्याउन नेतृत्वले परिवर्तनका ठूलाठूला कुरा गर्ने र परिवर्तनको पक्षमा उभिएको देखाउँथे । नेपालमा सधैं क्रान्ति र परिवर्तनको भाषण गरिरहने र आफूलाइ चर्को क्रान्तिकारी भन्नेहरु नै मौका पाउनासाथ जसरी सम्भ्रान्तहरुको सेवा गरिरहेको देखिए, ठीक त्यही अवस्था युरोपमा थियो ।

फयोदोर दोस्तोभएस्कीले “अण्डरग्राउण्ड” कृतिमा त्यसबेलाको दोग्ला समाजको सजीव चित्रण उतारेका छन् । नेपालमा २०४६ सालमा राजाले प्रजातान्त्रिक अधिकार दिएजस्तै सन १७८९ मा फ्रान्समा राजाले जनतालाइ अधिकार सुम्पे । तर, फ्रान्समा त्यसपछिका शासक झन् चर्का निरङ्कुश भए । इरानमा पनि त्यत्रो क्रान्ति गरेर शाह रेजा पहल्वीलाइ सत्ताच्युत गरे । राजतन्त्र फाले । तर, शासनसत्ता कट्टरतावादी आयातुल्लाह खुमेनीको हातमा पुग्यो ।

अहिले नेपाल एउटा सामन्तीको कब्जाबाट फुत्काइएको, तर फटाहाहरुको हातमा पुगेको स्थिति छ । फटाहाहरुलार्इ चिनेर छलकपट, धुर्त्याईं, फट्याईंबाट यो राष्ट्रलाइ मुक्त गर्नु देशभक्त नेपालीको परमकर्तव्य भएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell