top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

भूकम्पले ओझलमा परेको जाजरकोट Published: July 5, 2015  |  आईतवार 20 आषाढ, 2072  |  5:30 AM  |  By Ganesh Baniya  |  Viewed: 722 times

गणेश बानियाँ । विभिन्न समयमा विभिन्न किसिमका रोग महामारीले सताउने जाजरकोटमा यस बर्ष पनि धेरै जनाले सामान्य औषधी उपचार नपाएर ज्यान गुमानु पर्यो  । गत चैत्र दोस्रो साता देखि फैलिएको महामारीका कारण २७ जनाले ज्यान गुमाउनु प¥यो भने १५ हजार भन्दा बढी ब्यक्तिलाई रोगले सतायो ।महाभूकम्पका कारण अहिले देश, विदेशको आँखा राजधानी र राजधानीको छेउछाउका जिल्लामा छ । हजारौं जाजरकोटीलाई सताएको महामारीको लेखाजोखा गर्न कसैलाई फुर्सद छैन । खानाका लागि बिरामीले सकिनसकी भएपनि काम गर्नु पर्ने बाध्यता रहेको छ । बार्षिक ६० प्रतिशत भन्दा बढी खाद्यन्न तराईका जिल्लाबाट जाजरकोटमा आउने गर्छ । यस जिल्लामा उत्पादन न्यून छ । यसैकारण पनि गरिबी र अशिक्षाको रुप झनझन विकराल बन्दैछ जाजरकोटमा ।

२०६६ सालमा महामारीको रुपमा फैलिएको हैजा र झाडापखालाले झण्डै तीन सय भन्दा बढी मानिसको ज्यान गएको थियो । ६ बर्ष पछि पुन:अर्को प्रकोप अर्थात स्वाईनफ्लुको महामारीको पीडा सहन बाध्य भए जाजरकोटेहरु । यसपटक जिल्लाका अर्छानी, पैंक, नायवाडा, सक्ला, टालेगाउँ, पजारु, मजकोट, दशेरा, रोकायगाउँ, ढिमे, कोर्ताङ्ग, झाप्रा, जुँगाथापाचौर, गर्खाकोट, खलंगा, सीमा, रामीडाडा गाविसहरु महामारीको पीडा सहे ।  
बारम्बार आईलाग्ने जाजरकोटबासीको पीडाप्रति राज्य गम्भिर हुन नसक्नु चिन्ताको विषय बनेकोे छ । जब सहनै नसक्ने नगरी गाउँ नै थला पर्छन  । तब मात्र राज्यको ध्यान पुग्छ । ठूलो क्षती र महामारी पछि देखापर्ने सरकारले जाजरकोटलाई आश्वासन सिवाय केही दिन सकेको छैन ।
जाजरकोटमा गरिबी  र पछौटेपन ब्यप्त छ । मानव सूचाङ्कले यो जिल्लालाई अति गरिब जिल्लामध्येका  ६८ औ जिल्लामा देखाएको छ  ।  यस जिल्लामा ३० गाविस रहेका छन । यहाँका ३० हजार घरधुरी मध्ये अधिकांश कृषि पेशामा संलग्न छन । दुई तिहाई घरधुरीको आफ्नो उत्पादनले तीन महिना मात्र खान पुग्छ । बाँकी महिनाको खानको जोहो गर्न अधिकांश जाजरकोटका बासिन्दाहरु भारत र बैदेशिक रोजगारको लागि खाडी मुलुक जाने गरेका छन् ।

कुल जनसंख्याको २१ प्रतिशत दलित र १३ प्रतिशत जनजाती रहेको यस जिल्लामा रोगको संक्रमण यिनै समुदायमा बढी फैलिएको भेटिन्छ । चरम गरिबी, स्वास्थ्य संस्था नामका मात्रका हुनु, समयमै स्वास्थ्यसेवा लिनु पर्छ भन्ने जनचेतनाको कमी आदि कारणले सधँै जाजरकोटबासीलाई विभिन्न रोगले सताउने गरेको छ । भौगोलिक विकटताका कारण यहाँ अवसरहरु छैनन् ।
२०६६ सालमा पनि सरकारले सुरुमा प्रकोपलाई सामान्य रुपमा लियो र पछि थेग्नै नसक्ने गरी महामारी फैलियो । अहिले पनि अवस्था त्यस्तै देखियो । सरकारले प्रकोप नियन्त्रणमा लिएको, औषधी र स्वास्थ्यकर्मी पर्याप्त मात्रामा परिचालन गरेको भने पनि गाँउलेहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा औषधी र स्वास्थ्यकर्मीको अभाव भएको गुनासो गरिरहेका छन् । समयमा उपचार नपाएर मर्ने क्रम जारी छ । त्यसको कुनै हिसाब छैन । भौगोलिक विकटता र गरिबीसँग संघर्ष गरिरहेका जाजरकोटका ग्रामिण भेगका बासिन्दा अहिले स्वाईनफ्लु र बर्षातको समयमा लाग्ने विभिन्न रोगसँग लडिरहेका छन् ।

स्वास्थ्य संस्थामा लामो समयदेखि स्वास्थ्यकर्मी विहीन हुँदा पनि सरकार कानमा तेल हालेर बसेको छ । प्रभावित क्षेत्रमा रहेका दुई ओटा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनाकाल देखि नै चिकित्सकको दरवन्दी खाली नै छ ।
२०५२ सालमा स्थापना भएको गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृतको दरबन्दी भएपनि अहिले सम्म पदपुर्ति हुन सकेको छैन ।  पदपुर्ति गरिएपनि काजमै सदरमुकाम बस्ने गरेका छन । चिकित्सक सहित ९ जनाको दरबन्दी रहेको गर्खाकोटमा ५ जनामात्र कार्यरत छन । मेडिकल अधिकृत, एच ए, स्टाफ नर्स र ल्याव असिस्टेन्ट लामो समयदेखि  रिक्त  रहेका छन । अहिले अहेवले स्वास्थ्यचौकी धानेका छन ।

त्यस्तै लिम्सा प्रथामिक स्वास्थ्यकेन्द्रको अवस्था पनि त्यस्तै छ । २०६७ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्यकेन्द्रमा एक जना मेडिकल अधिकृत , एच ए, स्टाफ नर्स र ल्याव असिस्टेन्ट स्थापनाकाल  देखि नै खाली छन । यी दुई ओटा प्राथमिक स्वास्थ्यकेन्द्र त प्रतिनिधी संस्था मात्र हुन  । जिल्लाभर २ सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको जाजरकोटमा अहिले ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली छ । अधिकांश स्वास्थ्य संस्थामा अहेव र अनमीले सेवा दिईरहेका छन् ।
त्यहाँ न आवश्यक उपकरण हुन्छन् न त सरकारले निशुल्क दिने भने अनुसारका औषधी नै पाईन्छन् । नागरिकहरु भगवान भरोसामा बाँचीरहेका छन् । पाहुनाको रुपमा आउने डाक्टर साबहरुको अनुहार कमै देख्न पाइन्छ, । डाक्टर नभए पछिको विकल्प जिल्लाका अधिकांश बासिन्दा विरामी पर्दा अझै धामीझाँक्रीको विश्वास गर्छन । सरकारले  न त जाजरकोटका बासिन्दाको स्तर उकास्न चाहान्छ ,  न त सर्वसुलभ भनिएको स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउँछ । अरु बेला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन चासो नदिने सरकार जतिवेला मानिसहरु विरामी परेर मृत्युशैयामा छट्पटाईरहेका हुन्छन् , त्यतिवेला हेलिकोप्टरमा मन्त्री र नेताहरु जिल्लामा आएर  तपाईहरुको साथमा सरकार छ , हामी तपाईहरुको उपचार गर्न तत्पर छौ भनेर टोपल्ने बाहेक केही गर्दैनन् । जव सम्म जाजरकोटबासीको जीवनस्तरमा परिवर्तन ल्याउन आर्थिक, शैक्षिक नीतिमा सरकारले आवश्यक र ठोस पहल गर्दैन , तवसम्म सरकार हामीलाई बचाउ भन्नु र भगवानको नाम लिनु बाहेक जाजरकोटीहरुमा अरु कुनै बिकल्प रहेको छैन ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell