top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

नेपाल बन्द गर्नेका श्रीमती पोइल जाउन... Published: August 23, 2015  |  आईतवार 6 भदौ, 2072  |  5:30 AM  |  By Krishna Neupane  |  Viewed: 6893 times

-कृष्ण न्यौपाने ।
‘बन्द आह्वान गर्नेका श्रीमती पोइल जाउन’–यस्ता आक्रोश सामाजिक सन्जाल लगायत जताजतै देखिन्छ जव आम जनताहरुलाई दुःख दिनको लागि बन्दको आह्वान गरिन्छ । बन्द आह्वान गर्नेहरु सायद ‘दारु–पानी’मा मस्त हुँदा हुन । उनीहरु फुक्छन यो दिन बन्द,‘हामीलाई आम नेपालीको साथ र समर्थन छ’ तर सडकमा बन्द गराउँदै हिडनेहरुको उपस्थिति देख्दा यस्तो लाग्छ धेरैजसो जनता बन्दको बिरोधमा छ ।उनीहरुको साथ र समर्थन छैन बन्दप्रति ।

नेपालमा हरेक दिन जसो बन्द भैरहेको छ । कहिले नेपाल बन्द त कहिले जिल्ला बन्दले हैरान बनेका नेपालीहरु बन्दबाट जहिले पनि आजित बनेका छन् । बन्दलाई सदाका लागि बन्द गर्नुपन्ने माग जनताको भएपनि कसले सुन्ने यस्ता मागलाई ? बिभिन्न माग राखेर गरिएको बन्दले देशैभरको जनजीवन अस्तब्यस्त बनिरहेको छ । दैनिक रुपमा करोडौैको नोक्सान हुँदा पनि बन्द आह्वान गर्ने समुह तथा राजनीतिक दलहरु बन्दमा आम जनताको समर्थन रहेको दाबी गर्छन । तर बन्द गर्नेहरुको सडकमा उपस्थिति देख्दा हरेक नेपाली लज्जित हुन्छन् ।

कहिले मधेसीको बन्द, कहिले जनजातीको बन्द, कहिले नेपाललाई हिन्दु राष्ट्र बनाउन बन्द, कहिले धर्मनिरपेक्ष बनाउनको लागि बन्द कहिले जिल्ला टुक्राइयो भन्दै बन्द त कहिले जिल्ला जोडियो भन्दै बन्द हुन थालेपछि नेपालीहरु झनै आक्रोशित बन्नु सामान्य हो । हुन त कानुन नभएको देशमा यस्ता सानामसिना कुरामा बन्द हुनु सामान्य कुरा हो ।

यहाँ त श्रीमान–श्रीमती झगडा हुँदा पनि बन्द हुन थालिसक्यो ।  ‘स्यालले कुखुरा समात्यो भन्दै स्याललाई पक्रेर कारवाही गर्नुपर्‍यो भन्दै  बन्द हुन्छ कुनै दिन ।’ एक जना अपरिचित मित्रको कुरा सुन्दा हाँसो उठछ् । हुन पनि यस्तै देखिन्छ यहाँ ।

२०७२ साल भाद्र महिनाभित्रमा नेपालमा नयाँ संविधान बन्ने तयारी राजनीतिक दलहरुको छ । ठूला ‘घ्याम्पे’ पार्टीहरु यसको तयारी गदै छन् । भन्छन–‘अब भाद्र महिनामा संविधान बन्नबाट कसैले पनि रोक्न सक्दैन ।’  तर संविधान निर्माणमा प्रमुख दलहरुसंग सहयात्रा गर्दै आएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक भने गठबन्धनबाट अलग भएको छ ।

सात प्रदेशको अवधारणाप्रति असहमति जनाउँदै फोरम लोकतान्त्रिक गठबन्धनबाट अलग भएको हो । सो पार्टीका अध्यक्ष विजय गच्छदारले  पत्रकार सम्मेलन गरी आफूहरुले अब सदन तथा सडकबाट संघर्ष गर्ने बताउनुभयो । लौ पर्‍यो फसाद, संविधान निमार्ण गर्नको लागि कुममा कुम मिलाएर हिँडेका गच्छादार पनि अन्तमा सात प्रदेशका अवधारणाप्रति असहमति जनाउँदै सडकतिर हुँइकिए ।

बच्चामा एउटा कमेडी गित सुनेको थिए

‘आलु र मुला पोइल गएछन ।
खुर्सानीबारी सुन्य पारेर ।’
अचेल संविधानसभामा पनि यस्तो दृश्य देखिन थालेको छ । अरबौँ रुपैंया खर्च गरेर संविधानसभाको निर्वाचन भयो । एकपटक मात्र निर्वाचन भएन देशको ढकुटी रित्तो पारेर दुई/दुई पटक निर्वाचन भएपनि तातो न पिरो हातमा लाग्यो जिरोको अवस्थामा संविधान सभा पुगेको छ ।

करोडौैँ रुपैंया खर्च गरेर बिदेशी भुमिमा उपचारका लागि हुँइकिन्छ नेताहरु, विदेशीले दान गरेका डलर कता पुग्छन कता कसैलाई पत्तो छैन् । नेताका भुँडी बडेको बढ्यै छ ।  देशलाई दश बर्षमा सिंगापुर पुर्‍याउने बाचा गर्छन तर अन्त्यमा देश त सोमालिया भन्दा पनि गैबार हुन लाग्दा पनि नेताहरुको चेत खुल्न सकेको छैन । सोझा नेपालीहरु नेताहरुले संविधान बनाउँछन, देशको बिकास हुन्छ भन्ने आशमा धेरै बर्ष पर्खेर बसे । तर उनीहरुको चर्तिकला देख्दा नेपालीको आश मरिसकेको छरपष्ट देख्न सकिन्छ ।

हुँदा हुँदा त ‘आन्दोलनमा आउ, मरेमा हामी ५० लाख दिन्छौैं’–पो भन्छन । यो त आन्दोलन सफल पार्ने होइन मान्छे मार्ने खेल पो खेल्न लाग्या जस्तो लाग्छ । आन्दोलनमा जनसमर्थन भएको भए पचास लाखको धाक लगाउनु पर्छ र भन्या । एक ब्यक्तिले भन्छन–‘आन्दोलनमा एक जनाको मृत्यु भएमा यत्रो रकमको पुरस्कार घोषणा गर्नेसंग कति सम्पती होला छानबिन हुनुपर्छ ।’ बरु सिधा यस्तो बिज्ञापन गरे हुन्छ नि ।

‘आन्दोलनमा मर्नुस पचास लाख पाउनुस...’ हुन त नेपालमा जीवनको कुनै पनि मुल्य छैन । जुन दलले पनि जनताको लागि राजनीति गरेको भन्छन । तर पनि उनीहरुको जीवनशैली हेर्दा जनताको लागि राजनीति गरेको हो कि अरु कसैको लागि राजनीति गरेको हो प्रष्ट देख्न सकिन्छ ।

हाम्रा ठूलाठूला बढेमानका नेताहरु गफमै उडाउँछन् । गफमै कुदाउँछन, र गफमै देशलाई अधोगतितिर पुर्‍याउँछन । एक जना बरिष्ठ नेताको भाषणको याद आउँछ । ‘गाडी चलाउने ड्राइभर एसएलसी पास, देश चलाउने नेता औंठाछाप’ भन्ने नारा लाग्न थालेको छ । तर, सम्झिनुस त, केपी ओली र वामदेव गौतमहरुले क्रान्तिमा होमिनुको साटो डिग्री लिन्छु भनेर बसेको भए देश कहाँ हुन्थ्यो ?’

सोही विषयलाई जोड्दै नेताले गफ दिन भ्याए ‘गौतम बुद्धले कति क्लास पढेका थिए ? साक्षरसम्म पनि थिएनन् । त्यतिबेला त लिपिको विकासै भएको थिएन । आज तिनै निरक्षर गौतम बुद्धको उपदेशमाथि कतिजनाले पीएचडी गरेका छन् ?’ यसरी नै देश चल्दै छ हाम्रो । नेता डम्फु बजाउँछन् । हामी उनीहरुले बजाएको डम्फुमा नाच्नमा खप्पिस छौैं । कार्यकर्ता भन्दा नेता बढि भएको देशमा कुरा के गर्नु र । जताततै नेतैनेता भेटिन्छन हाम्रो देशमा । राजनितीक दल पनि गनेर साध्य छैन । बन्द पनि कसले गर्छ कसैलाई थाहा छैन ।

महासय, कुरा गर्न सजिलो छ । देशको बिकास गर्न धेरै गार्‍हो पो छ त । यस्तै हो यस्तै क्रियाकलापले एक दिन हाम्रो देश कता पुग्छ कसलाई थाहा छ ? यदि साँच्चै तपाईहरुलाई देश र जनताका लागि राजनिती गरेको हो भने आफ्नो अन्तरआत्मालाई सोधेर काम गर्नु होला । अनि बन्छ देश, अनि बन्छन जनता । नत्र नेताहरुको बजन बढनु बाहेक केहि हुनेछैन । लेखेर राख्नुस ।


 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell