top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

१७ हजार लाशले नपुगेकै हो त ? Published: September 2, 2015  |  बुद्धबार 16 भदौ, 2072  |  5:30 AM  |  By Krishna Neupane  |  Viewed: 6472 times

कृष्ण न्यौपाने-
नेपालमा कैलालीबाट सल्किएको आगोले बिकराल रुप लिइरहेको छ । अखण्ड सुदुरपश्चिम र थरुहट पक्षधरको बन्दले त्यस क्षेत्रको जनजीवन मात्रै होइन, छुट्टै थरुहट राज्य, मगरात, लिम्बुवान, लगायतका राज्यको माग गर्दै आन्दोलनको आगो बिस्तारै सल्किदै गइरहेको प्रष्ट देख्न सकिन्छ ।

नेपालमा जातीय राज्यको वकालत गर्ने एमाओवादी अहिले चुपचाप बसेको छ र अधिकार प्राप्तिका लागि थारुको अलावा, मगर, तामाङ, नेवार, लगायतका जातजातिलाई छुट्टै राज्यका लागि आन्दोलनमा होमिन अपील गरिरहेको छ । हुनत देश टुक्राटुक्रा पार्ने अभिष्ट राख्नेहरु कैलाली घटनालाई सामान्य भन्छन् । खासगरी एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल एवं उनीहरुका दाहिने मानिने नेताहरु राजाहरुप्रति क्रुद्ध हुने गर्दछन् ।

हुन पनि हो नेपाल एकीकरणका सुत्राधार पृथ्वीनारायण शाह लगायतका राजाहरु एवं वीर योद्धाहरुले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एउटै सिङ्गो देश बनाए । बाइसे र चौबिसे राज्यमा सुखभोग गरेर शासन सन्चालन गर्ने राजा–महाराजाहरुलाई युद्धमा जितेर एउटै देश नेपाल बनाउनु कम्ती सास्ती थिएन । माओवादीका डा. भट्टराई लगायतका नेताहरुलाई एउटै सिङ्गो देश पटक्कै मन पर्दैन । नेपाल देश सुन्ने बित्तिकै उनीहरुमा पसिना छुट्न थाल्छ । राजा–महाराजाहरुको नाम लिने बित्तिकै भट्टराईलाई छट्पटी सुरु हुने गर्छ ।

त्यही भएर माओवादीलाई राजाहरुले गरेका हरेक निर्णय उल्ट्याउनु छ । एमाओवादी त्यही भएर २०५२ सालमा जंगल छिर्‍यो । गुरिल्ला बने धेरै युवाहरु । गुलेली चलाएर युद्ध सुरु गरेको माओवादी जंगल छिरेको केही बर्षमै  एके ४७ राइफलको पहुँचसम्म पुग्यो । करिव एक दशक सरकारी फौंज एवं कांग्रेस, एमालेका नेताकार्यकर्तालाई मृत्युदण्ड दिँदै हिडेको माओवादीले २ सय ४० वर्षको राजतन्त्रलाई घुँडा टेकाउन मुख्य योगदान दियो । तानाशाही राजतन्त्रको जरो नेपालबाट उखेलियो । २०५२ सालमा जनयुद्ध लडेर सफलता पाउन माओवादीलाई कम्ती सास्ती परेको थिएन । पढ्दै गरेका साना—साना बकुल्लाहरुलाई हाम्रो क्रान्ति सफल बनेपछि पिएचडीको प्रमाणपत्र दिन्छौं भन्दै कलम खोसेर बन्दुक थमाईदिए । बुर्जुवा शिक्षा नेपालको लागि काम छैन भन्दै विद्यालयहरुमा पढाई हुने संस्कृत किताबहरु जलाउन पनि पछि परेनन् र आफ्ना सन्तानहरुलाई विदेशी विश्वविद्यालयमा पढाउन पनि हिच्किचाएनन् ।

जनयुद्ध लडेर पिएचडी गरेका कयौैं पूर्व लडाकुहरु अहिले साउदी, कतारमा गएर अपरेसन गरिरहेका छन् । सेना र प्रहरीसँग अत्याधुनिक हतियारका साथ युद्ध लडेका गुरिल्लाहरुले अहिले गुलेली पनि बोक्न पाएका छैनन् । सेना समायोजनको नाममा अरबौं रकम भ्रष्टाचार गरेर केहीको जीवनमा उथलपुथल आएको भए पनि अधिकांशको जिन्दगी अहिलेपनि जस्ताको तस्तै छ ।

पुरानो ध्वस्त पारेर नयाँ बनाउने भन्दै माओवादीले दश बर्षे जनयुद्ध लड्यो । मसानघाटमा बसेर १७ हजारको लासमाथि बसेर युद्ध सफल पारेको माओवादीको अझै पनि अभिष्ट पुरा हुन सकेको छैन । अब यस्तो लाग्दैछ नेपालमा जातजातिका प्रदेश नबनाईकन बाबुराम र पुष्पकमल चुप लागेर बस्नेवाला छैनन् ।

नेपालमा जातीय राज्यको जननी मानिने एमाओवादी अहिले पनि जातीय राज्यकै वकालत गरिरहेको छ । डा. भट्टराई तराईमा सल्किएको जातीयताको आगो पहाडतिर सल्किदा समेत सामान्य भनेर कानमा तेल हालेर बसेका छन् । उनीहरुलाई नेपाल टुक्रा पारेर एक सय बढी राज्य बनाउनु छ । किनकी नेपालमा एक सय २५ वटा भन्दा बढी जात छन् । हरेक जातलाई राज्य दिने हो भने एक सय २५ राज्य बन्ने नै भयो । भट्टराई लगायतका नेताहरु नेपालमा पिछडिएका जातजातीका लागि अग्राधिकार सहितको छुट्टै राज्यको वकालत गर्दा एउटा कुरा भन्न मन लाग्छ । नेपालमा केही सिमित नेताहरु बाहेक सबै पिडित छन्  । के सबैले नयाँ राज्य पाउँछन् त ?

डाक्टरहरुलाई नेपालमा नेवा, थारुहट, मगरात, जस्ता जातीय प्रदेश बनाएर विभिन्न राज्य बनाएपछि मात्र चैनसँग बस्न सक्छन् । ती प्रदेशमा झण्डा, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु विस्तारै नियुक्त गर्दा पनि फरक पर्दैन । यो त सुरुवातमात्र हो । हामीले अझ नेपालमा के के हुन्छ, हेर्न बाँकीनै छ ।

हुँदाहुँदा नेपालमा रहेका एक करोड भारतीयको संरक्षण गर्न भारतले हस्तक्षेप गर्न सुरु गर्दासमेत नेपाल सरकार नेपाली नेताहरुले केही पनि बोलेका छैनन् । सबैभन्दा बढी बोल्नुपर्ने माओवादी अहिले गुमनाम छ । किनकी जनयुद्धमा भारतले नेपाली भूमि कब्जा गर्‍यो भनेर भारतसँग सुरुङ युद्ध गर्ने घोषणा गरेको उसको ब्यवहार पनि नेपाली नागरिकले के बुझ्ने ? शंका बढ्दै गएको छ ।

तेन्जिङ नोर्गेले सगरमाथा चढेर विश्वमा नेपालको नाम राखे । तर नेपालका नेताहरु अहिले लेन्डुप दोर्जे बन्ने कुचेष्टा गरिरहेका छन् ।

राजनीति भनेको परिस्थितीको सही एवं समयानुकुल विश्लेषण गर्दै जनचाहनाअनुसार अघि बढ्नु हो तर नेपालमा शासनको बागडोर सम्हाल्नेहरुले कहिल्यै पनि जनचाहनाअनुसार शासन गर्न सकेनन् । त्यसैले पहिलो संविधानसभामा पहिलो शक्तिको रुपमा उदाएको एमाओवादी अहिले तेस्रो शक्तिमा झरेको छ । कुनै समयपछि माआवादीको नाम–निशाना मेटिन पनि सक्छ । किनकी यसको संकेत अहिले प्रष्ट देखिएको छ । यो बेला नेतृत्व सम्हाल्नेहरु ज्यादै संवेदनशील बन्नु जरुरी छ ।

तराईबाट सुरु भएको सानो झिल्कोले पहाड हुँदै हिमालसम्म पुग्ने जमर्को गर्दै छ । देशलाई टुक्रा पार्ने र राजगर्ने मानसिकता भएका यहाँ हजारौैं छन् । आफ्नै संस्कृति फालेर तराईदेखि हिमालसम्म नेटवर्किङ ब्यवसाय गर्ने मानिसको कमी छैन । देशलाई अखण्ड राख्ने या टुक्रा—टुक्रा पारेर जातजाति भिडाउने ? यो नेतृत्व लिनेको हातमा छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell