तीज विकृति : "उखरमौलो वैंश छोप्ने चिजै भएन" Published: September 2, 2015 | बुद्धबार 16 भदौ, 2072 | 5:30 AM | By Hari Dulal | Viewed: 4717 times

हरि दुलाल - हरितालिका तीज सदाको बर्षझै यसवर्ष पनि नजिँकिदै छ । विशेषतः हिन्दू नारीसँग जोडिएको यस पर्वका आफ्नै मूल्य र मान्यता छन् । आफ्ना पतिको दिर्घायूको लागि भन्दै व्रत बस्ने,महादेवको पूजा आराधना गर्ने, दान तथा पूजापाठ गर्ने प्रचलन छ । साथै वर्ष दिन भरीका पीर ब्यथा लाई भुल्दै दिदीबहिनी साथीसंगी भेला भएर सुख–दुख समेटिएका गीतसंगीत गाँउदै मन खोलेर नाच्ने गरिन्छ । पछिल्लो समय तीज आउनु २-३ महिमा पूर्व नै टेलिभिजन, एफएम रेडियो, यूटुब लगायतमा यस बर्षको नयाँ तीज गीत भन्दै छ्याप्छ्याप्ती हुनुले तीजको वास्तविकता गीतसंगीत मात्र हुन की भन्ने भान हुन्छ । संगीतमा गरिएको लगानी उठाउन यतिबेलाको संगीत बजारमा कलाकार तथा कम्पनी हरुलाई फलामको चिउरा चपाउनु सरह भए पनि युवा पुस्ता पछिल्लो समय तीजका गीत रेकर्ड गरेर बजारमा ल्याउन यति उत्साहित देखिएका छन की मानौ तीजका गीतमा मालामाल भईन्छ र रातारात चर्चाको शिखरमा पुगिन्छ ।
अहिले बजारमा आएका तीजका गीतहरुमा १० प्रतिशत मात्र पनि मौलिक र तीज पर्वको मर्म बोकेका गीत छैनन । छाडा,विकृतीमुलक र तीज पर्वको धज्जी उडाउदै ९० प्रतिशत गीतले अहिलेको लोकसंगीतको क्षेत्र धमिल्याई रहेका छन । नेपालीपन नबुझेका एकाएक कलाकार बन्ने होडमा जस्तोसुकै बाजागाजामा ताल र सुर जता बगाए पनि गीत हुन्छ र मिडिया बाजी गर्न पाईन्छ भन्ने कमजोर मानसिकता बोकेका केही जमातले गर्दा यस क्षेत्र झन विकृत बन्दै गईरहेको छ ।
केही साता अगाडि मात्र बजारमा आएको प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले गाएको ढाडे बिरालो गीत र सोही गीतको म्यूजिक भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्का विरोधका स्वरहरु पोखिएका छन ।
जामा लाउँदा छोटो भयो साडि लाउँदा सुहाएन
उखरमौलो वैंश छोप्ने चिजै भएन
तलपनि पिरलो माथी पनि पिरलो
चोरी खान पल्केको ढाडे बिरालो
यी उल्लेखित गीतका हरफहरुले के भन्न खाजेको हो, तीज र नारीको कुन कुरालाई यसले प्रतिनिधित्व गरेको छ । भित्री वस्त्रनै देखाउने नियतले नितम्व प्रदर्शन गरेर यस गीतमा नाँचेकी ज्योती मगरको नाचमा कुन चाँही मौलिकताको अंश छ रु यी केही प्रतिनिधि गीतहरु हुन् ।
आई लभ यू भन्छु , मलाई यो तिजमा आईफोन किनिदेउ सेल्फी खिचौंला ,भन्ने जस्ता गीतले तीजको कुन चाँहि पक्षलाई समेटेको छ भन्ने सोचनिय विषय बनेको छ । अझ कतिपय कमेडि गीतलाई समेत सस्तो लोकप्रियताका नाममा
तिजका गीत भन्दै प्रचार गरिएको छ । आजभोली तिजका गीतहरुमा महिलाको भन्दा पुरुषको बढि हावि भएको पाईन्छ ।
केहि बर्ष अघि लक्ष्मी न्यौपानेले गाएको एक गीत छ-
तीजका गीतमा केटाहरु नाँचेका
पिंढीमा बसेर हामी हेर्छां रमिता
तिम्ले गर पञ्चमीका पूजा बरिलै ।
यो गीतको गरेको ब्यङ्ग्य यतिबेला झनै सान्दर्भिक बन्दै गएको छ । “भाइ मलाई तीजका गीतमा हाम्रा पुरुष साथीहरुले गाएको र नाँचेको देख्दा लाज लाग्छ” गायक मिलन लामाले एक भेटमा मलाई भन्नुभएको थियो तसर्थ केही कलाकार तीजका गीत पुरुषले गाउनु उचित हैन भन्ने पक्षमा समेत छन् ।
हरिदेवी कोइराला ,विमाकुमारी दुरा ,शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने,तिर्थ कुमारीहरुका गीत बाट पछिल्लो पुस्ताका कलाकारहरुले केही सिक्न सकेनन् या सिक्ने प्रयत्न गरेनन् । ब्यवसायिकता र आधुनिकताका नाममा हाम्रा मौलिक गीतसंगीतलाई हामिले धमिल्याई रहेका त छैनौं , सोच्ने बेला आएको छ ।
परम्परागत महत्व बोकेका पर्वहरुसंग जोडिएका गीतसंगीत तयार गर्दा हाम्रो साँस्कृतिक महत्वलाई उजागर गर्ने र गरिमालाई उच्च राख्ने खालका कालजयी गीत बनाउने प्रयत्न गर्ने पो हो कि !
.