top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

डिभीमा टुंगिएको हाम्रो राष्ट्रवाद Published: October 4, 2015  |  आईतवार 17 असोज, 2072  |  5:30 AM  |  By Hari Dulal  |  Viewed: 1114 times

हरि दुलाल-
तराई बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तु र पेट्रोलियम पदार्थको आयातमा देखिएको समस्याका कारण सडकदेखि चुलो-चौकोसम्म परेको प्रभावले औसत नेपालीजस्तै म पनि आक्रान्त नै छु । मोटरसाईकलमा पेट्रोल सकिएको दुई दिन भईसकेको थियो । पेट्रोल पाईन्छ भन्ने आशा–भरोसा नभएसँगै पेट्रोल पम्प जाने कुनै चेष्टा नगरी शनिबार दिउँसो बाहिर निस्कनु पर्‍यो भनेर गोल्फूटारस्थित डेराबाट पैदल बाहिर निस्किएँ । सडकमा पातलो सवारी आवागमन, सडकमा गुडेका केही बस र माईक्रोबसको माथि खचाखच भरिएका यात्रु, उपत्यकाको सडकमा छतमाथि हुईकिदा छतका यात्रु सायद फरक अनुभव लिँदै थिए । त्यसैले उनीहरु हो–हल्ला समेत गर्दै रमाउँदै थिए ।

दृष्य हेर्दा वनभोज गएर फर्केको बेला जस्तो, कसैको विवाहको रिजर्भ गाडिमा जन्ती जाँदै गरेको जस्ता पूराना याद मेरो मानसपटलमा पनि सलबलाईरहेको थियो । लगभग एक घण्टाको यात्रापछि चाबहिल चोक पुगेँ । चोक नजिकै एक घरको बाहिर ‘अमेरिका जाने मौका नगुमाउनुहोस्’ भन्दै ‘ईडिभी’ भर्न आग्रह गरिएको ठूलो बोर्ड राखिएको थियो । अलि भिडभाड देखेर नजिकै गएँं, धैरैजसो ईडिभीको फर्म धमाधम भर्दै थिए । दुईजना युवती गफिँदै निस्किए, चेहरामा बडो उत्साहको लहर फिजाउँदै एक युवती भन्दैथिईन्, ‘वाह ! डिभी भरियो ।’ मानौँ, उनी भिसा लिएर अमेरिकी दूतावासबाट बाहिर निस्कदैछिन् । मलाई भने मनमनै लाग्यो डिभी भर्दामात्र नि यत्रो खुसी ? यसो सोचेँ, उनको उत्साह र उमंगलाई कसरी लिने ? देशप्रतिको वितृष्णा, देशसंँग जोडिएको सफलता, बाध्यता या हाम्रो नियती ? हामी देश छोड्न पाउँदा कति खुसी हुन्छौँ हगी ? सन् २०१६ का लागि अक्टोबर १ बाट ईडिभी भर्न आह्वान गरेसँगै धेरै युवाहरुको ध्यान उतैतिर खिँचेको छ र उत्साहित हुदै डिभी भरिरहेका छन् ।

चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डाको कभरभित्र आफ्नो तस्विर कैद गरेर फेसबुक र यूट्यूबको प्रोफाइलमा राख्दै राष्ट्रियता र स्वाभिमानका ठूला ठूला नारा स्ट्याटसमा पोख्नेहरुनै देशलाई लात मारेर परदेश जाने चिठ्ठा भर्ने भीडको अग्रभागमा देखिएका  छन् ।

आज दैनिक जसो सरदर १५ सय देखि २ हजार युवाले रोजगारका लागि देश छोडिरहेका छन् भने कतिले यहाँको नागरिकता त्यागेर बिदेशमै पीआर र ग्रीन कार्ड लिएर बस्ने गर्छन् । यसप्रति मुलुकलाई कतिपनि दुःख मनाउ छैन । उल्टै नेपाली युवाको थोपा–थोपा रगत, पसिनाबाट भित्रिएको रेमिट्यान्स् र राजस्वमा गर्वको अनुभुति गरिरहेछ ।

हातमुख जोड्नै धौ धौ हुनेहरु देशमा उचित रोजगारको अवसर नपाउँदा विदेशिनु बाध्यता हो तर सामान्य जीवन चलिरहँदा पनि सम्भावना हुँदाहुँदै पनि किन विदेशिन खोज्दै छौं हामी ? कि सरकारी सेवा छोड, कि बिदेशको ग्रीनकार्ड/पीआर त्याग भन्दा किन बिदेशी भूमि प्यारो हुदैछ ? देशप्रतिको दायित्व वहन कसले गर्ने ? यो देश बनाउने ठेक्का कसको ? नेपालीले नेपालमै काम गरिखाने वातावरण बनाउन नसक्नु राज्यको ठूलो कमजोरी हो भने आफ्नै भूमिमा गर्न सकिने काम र सम्भावना छोडेर बिदेशिन खोज्नु हामी युवाको अर्को महाकमजोरी हो ।

तसर्थ देश हाम्रो हो, हामीले नै हाम्रो देशलाई लोभलाग्दो बनाउने हो । पासपोर्ट बोकेर मेनपावर, दूतावास धाउन र ईडिभी भर्नतिर भन्दा सम्भावना खोजौं र नयाँ संविधान जारी भएसँगै देश निर्माणमा जुटौं । देश बने हामी पनि बन्छौं कि !

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell