top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

यस पटकको संविधानले पनि आकाश खसाउँदैन Published: October 5, 2015  |  सोमबार 18 असोज, 2072  |  5:30 AM  |  By Milan Achrya  |  Viewed: 888 times

मिलन आचार्य-
हाम्रै रहरले हामी आफैंले बनाएको विगत हेरौं त । पञ्चायत हट्नुपर्छ, यो शासनकाल हटेपछि आकाश खस्छ भन्ने हुँईया मच्चियो । पञ्चायतकाल हट्यो आकाश खसेन । सरकारको विरोध गर्ने थिति बस्यो । जे गरे पनि ‘भएन’ भन्यौं । एउटा तप्का रहरले भूमिगत भयो । रहरले आन्दोलित भयो, युद्ध भयो । आकाश खस्छ भनेर हजारौंले ज्यानको बली दिए तर आकाश खसेन । युद्ध रोकियो भने अथवा शान्तिको मार्ग सुरक्षित भयो भने आकाश खस्छ भन्ने लागेको थियो । माओवादी मुलधारमा आयो । फेरि पनि आकाश खसेन ।

अन्त्यमा राजा खेदाए चैं पक्का आकाश खस्छ भन्नेमा पुग्यौं । आन्दोलन र दंगा फसाद मच्चायौं । लगभग पुरै नेपाल आन्दोलनको भुमरिमा फस्यो । जनताको छोरो राजा बनायौं, राजा जनता बनायौं फेरि पनि आकाश खसेन । केही क्षण हर्षका रेसाहरु दौडनु बेग्लै कुरा, अपेक्षा गर्नु बेग्लै कुुरा । होइन भने संविधानले पनि आकाश खसाउँदैन । संविधान आउँदैमा पक्की सडक सँगै आउँदैन । बाटो, बिजुली सँगै आउँदैन । लामो समयदेखि सविधानको महँगो रटान लगाएर समय काट्दा मोह जाग्नु स्वाभाविक हो तर खास कुरा हामीले सुनेको रटानभन्दा भिन्न हुन्छ ।

कहीँ कसैले बनाएको संविधानले वा कसैले लेखेका कुराले सबै कहिल्यै समेटिदैंन, यो सत्य हो । यसको मतलव समेटिएकाले दियो वा सामान्य कुरा नपरेकाले टायर बालिनुपर्छ भन्ने भूत हुर्कायौं भने फेरि आकाश खसाउन लाग्छौं । संहार र क्षति कति होला थाहा छैन तर आकाश चै खस्दै खस्दैन । मान्छेको विचार परिवर्तनलाई त्यत्रो ठूलो कुरा केही नचाहिने रहेछ । फेरि सबै साना कुरा परिवर्तनयोग्य पनि हुँदैनन् । न्युटनको जीवनमा पनि स्याउमात्र खसेको हो, आकाश होइन । न्युटनलाई जाबो स्याउ नै वरदान साबित भयो । मानौं उनको जीवनमा आकाशबाट तारा खसेछ र उनी चम्किए । उनी र हामीमा फरक एउटैमात्र कुरामा हुन्छ, हामी विषयलाई गम्भिरताका साथ लिदैनौं । सानै कुरा खसोस् तर परिवर्तन ठूलो होस् । विषयवस्तुको गम्भिरता ध्येय नराखी आकाशै खसोस् भन्ने चाहमा हुन्छौं ।यदि फेरि पनि त्यसोमात्र भयो भने आकाश खस्नेवाला छैन । हामीले बढो उल्लासमय ढंगले भित्र्याएको संविधानले पनि आकाश खसाउँदैन ।

संविधानले विकासका लागि सम्भावनाको वागडोर देखाउला तर आफैं विकास हुँदैन । हामीमा परिवर्तन हुनेभन्दा गराउनेको संख्या बढी छ । जबसम्म हाम्रो काम गर्ने तौर तरिका फेरिदैंन, अमेरिका वा यस्तै विकसित मुलुकको संविधानले पनि हामीमा परिवर्तनको केही प्रभाव पार्नेवाला छैन ।फेरि अर्को कुरा हामी विकासलाई पनि सारमा मात्र बुझ्दै छौं । विकास हुनु भनेको के ? एउटा सम्पन्न व्याक्ति शहरमा सुन्दर घरको सपना बुन्छ । उसका लागि घरमा आधारभुत अवश्यकताका सम्पूर्ण साधन चाहिन्छ । बाटो, बिजुली र पानीमात्र होइन, उसको नाम चम्काउन चाहिने सबै चिज उसलाई विकास हुनुपर्छ । उसको विकासको परिभाषा भित्र आधारभुत आवश्यकताको जगमा टेकेर विलासिताका सम्पूर्ण सामग्री विकास हुनुपर्छ र बल्लमात्र उसको ओठमा हाँसो खुल्छ । अर्कोतिर दिनरात मजदुरी गरेर दुई छाक टार्नेले शहरकै साँघुरो गल्लीमा सानो छहारीको सपना बुन्छ । उसलाई काम गर्ने सहज वातावरणमात्र भयो भने पनि ऊ खुशी हुन्छ । उसको विकासको परिभाषा भित्र गाँस, बास र कपास दुःखले बाटो, बिजुली र पानीसम्म पर्ला । बस्, त्यति भए उसको मुहारमा खुशी छाउँछ ।

मेरो विचारमा देश विकास भनेको नै जनताको खुशी हो । मानी लिऔं, हाम्रो देश विश्वका सुन्दर शहर मध्येको पेरिस नै भयो र हामी त्यहाँ रमाउन र हाँस्न सकेनौं भने त्यसले खासै अर्थ राख्दैन । भौतिक चिजलाई मात्र विकासमा गनिनु हुँदैन । त्यो हाम्रो अर्को भुल हुनेछ । बाटो बन्यो र बाटोमा सवारी हिड्न पाएन । शहर बन्यो तर चहलपहल हुन पाएन । पानी छ, प्रयोग गर्न दिइदैन भने त्यो विकास भएको होइन । महसुस चाहिन्छ । हैन भने रोम नै भए पनि खुशी बिनाको विकासको त्यत्रो तात्विक अर्थ के रहला र ? अब विकासकै लागि त मनैदेखि परिवर्तन हुन पर्छ । परिवर्तन अथवा रुपान्तरणको समग्र रुप नै विकास हो । परिवर्तनगामी पाठ्यक्रम बनाएर शिक्षा दिनु पर्छ । मैले पढ्दै गरेको कोर्षमा पनि ठूलो मान्छे बन्न सिकाइयो । समाजका लागि असल मान्छे बन्न कहिल्यै सिकाइएन । म ठूलो मान्छे हुन परिवर्तन हुँदैछु र भोलि ठूला मान्छेहरुकै भिडमा खिइन्छु र हराउछु । म असल कहिल्यै हुँदिन ।जबसम्म मान्छे असल हुँदैन, जे ल्याए पनि त्यसले फरक पर्दैन ।

परिवर्तन र विकासको नारा धेरै लगाइयो । १५ हजार नेपालीको रगतको बलि चडाएर आशै आशमा परिवर्तन र विकास गर्ने ठाउँमा पुगेँ तर लछारपाटो लागेन । उनीहरुसँग पनि भर पर्न सकिन्न तर झिनो आशसम्म गर्न सकिन्छ । उनीहरुसँग पनि काम गर्ने क्षमता छ । नभएको इमन्दारीता हो । आशा गरौं, यिनीहरुले देशलाई सुव्यवस्थामा फर्काउन सहयोग गर्नेछन् । हातमा बोकेको नयाँ संविधानको पुस्तक लागू गर्दै गर्दा यिनीहरुको हात काप्ने छैन । अपराधमा लत्पत्तिएको अनुहारमा आफन्त देख्ने छैनन् । कसैको विचार पनि नसुन्ने र आफु पनि विचार नबोक्ने हाम्रो अर्को परिपाटी हो । परिवर्तन विचारले नै गर्ने हो । सशक्त विचारले विनास निम्त्याउँदैन । परिवर्तन नै गर्ने हो । ज–जसले कानुनी र नैतिक धरातलमा रहेर बैचारिक रुपमा परिवर्तन गर्न सक्छ विकास उनिहरुमा अडिएको हुन्छ । हामी आफू विकास नभई कतै र कसैको विकास देख्दैनौं, फरक यति हो ।मलाई जोड्न मन लागेको अर्को विषय चीन हो । त्यो पनि नयाँ संविधान पछिको चीन ।

संयोगमात्र पनि हुन सक्छ, दक्षिणी छिमेकी भारतले पनि त्यसपछि मात्र सहभागीता देखायो । आलोचनात्मक सहभागीता । निर्मम आन्दोलनलाई रक्तपात बनाउन अगुल्टो झोसेजस्तो देखिने गरी । जान्नेहरु यसो पनि भन्छन्, ‘दक्षिणी छिमेकीलाई आन्दोलनभन्दा पनि संविधान पछाडीको राजनैतिक बागडोर बारे चिन्ता छ ।’ यो त्यही छिमेकीको चासो हो जो नेपालमा जारी संविधान उसैको देशमा पनि लागू हुन्छ भनेझैं सुझाव पठाउँछ । नयाँ प्रधानमन्त्री बनेको भोलिपल्ट उसैको देशमा पाइलो टेक्नु पर्ने अघोषित नियम बनाउँछ । र मिठो स्वरमा लठ्याएर अघोषित नाकाबन्दीमा नेपालीको गुजारालाई बाटो छेक्न खोज्छ । अर्को छिमेकी चीन, हल्ला मच्चाउँदै हिडेन । चिनियाँ प्रधानमन्त्री वा राष्ट्रपतिहरुले सडकमा नेपालीसँग अँगालो हाल्दै हिँडेनन् । आश्वासन गिफ्ट पठाएनन् । सल्काएको चुरोटको ठूटो निभेजस्तो आश्वासन निभेन । न चीनले सदनको सभामा आएर मिठो स्वरमा नेपाली पगाल्न नै जरुरी रह्यो ।

यतिबेला भारतको कदमले चीन ‘ग्लामरस’ बनेको छ । लगभग नेपाली नागरिक स्पष्ट छैनन् कि भारतलाई के भनेर बुझ्ने ? त्यति मज्जाले नेपालीको स्वाभिमान अग्ल्याएर हिँडेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको नयाँ संविधान आएसँगै किन फेरिए ? यतिबेला लगभग यही प्रश्न बिक्दो छ नेपाली बजारमा । आँकलनसम्म गर्न सकिन्छ भारत नेपालमा कुटनैतिक हस्तक्षेप बिग्रनेमा सशंकित छ । भारतको कुटनैतीक चालका लागि उसले चाहेको पासा उसको हातमा पर्न जरुरी छ र संविधानले कतै यो फुत्क्याउला कि भन्ने चासो हुन सक्छ ।

शक्तिशाली छिमेकी चीनको साँधमा सगरमाथा पर्छ । चीनले चाहेको भए भारतले जस्तै  ‘पोलिटिकल इस्यु’ भन्दै हाम्रो सगरमाथा आफ्नो बनाउन सक्थ्यो । अरनिको चीन पसे, उतै आफ्नो कला देखाए । चीनले कहीँ पनि अरनिको चिनियाँ हुन् भनेर भ्रम फिँजाएन । चीनले चाहेको र गरेको भए हामी निरुत्तर हुने थियौं, जसरी भारतसँग छौं ।नेपालीहरु यस्ता पनि छन् जसको नाक चीनसँग मिल्छ । नेपालीहरु भारत र पाकिस्तानी जस्ता पनि छन् । पाकिस्तानको कुरा छाडौं, भारतले यसको फाइदा उठायो । के गर्दा केन्द्रसँग नेपाली छुट्टिन्छन् त्यो सबै गर्‍यो । आफैं अप्ठेरोमा परेको नेपाल जानेर या नजानेर चुप रह्यो । तर यसैको मामलामा पनि चीनले यसो गरेन । ऊसँग पनि अनुहार र आचरण मिल्ने थुप्रै नेपाली थिए । चाहेको भए उचाल्न सक्थ्यो । विद्रोह गराउन सक्थ्यो र भारतजस्तै ताली पिट्दै हेर्न सक्थ्यो । यो केही चीनले गरेन ।

व्यापक विश्लेषण गरेर अथवा सम्बन्धमा धावा बोलेर न हामी चीनसँग अँगालो हाल्न सक्छौं न भारत छोड्न । यो अवस्थामा भारतको विरोध अथवा चीनको समर्थनको केही तुक रहने छैन ।

धेरै पनि नलेखौं । संविधान हुर्किदै छ, मलजल गरौं । छिमेकीको कुरा सुनेर आफ्नै घर नबिगारौं । यसभन्दा अघि लेखिएका संविधान पनि पूर्ण लगान र मेहनतकै साथ लेखिएको थियो । समय परिवर्तन सँगै पुराना आफ्नै कविता मन नपराउने कविजस्तै भएछौं । खोज्ने हो भने यसमा पनि चित्त नबुझ्ने कुरा धेरै छन् । खोज्नतर्फ लागौं तर सम्भावना खोजौं । खोजौं खुसीको सम्भावना न कि आन्दोलन । समग्रतामा हामीले सिनेमा गतिमा विकास चाह्यौं । जुन असम्भव नै छ । यति हुँदाहुँदै जनताका ओठमा मुस्कान खुल्दैन भन्ने चाँही होइन । देश विकास भएको त्यतिखेर मात्र सबैले महसुस गर्नेछन् जब सबैको अनुहारमा चमक फैलिनेछ । नकि भौतिक बस्तुमा । सबभन्दा ठूलो कुरा त इच्छा हो । इच्छा परिवर्तनको हुनुपर्‍यो । कानुनी र नैतिक धरातालका प्रायः परिवर्तन नै विकास हुन्छन् । नैतिक र कानुनी विचारले हामी इमान्दार हुन्छौं । सबैले आ–आफ्नो ठाँउमा इमानदारितापूर्वक काम गरे देश विकास गर्न स्याउ नै खसे पुग्छ । तारा वा आकाश खस्न पर्दैन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell