गान्धीको विचारलाई मोदीले ‘धज्जी’ उडाएपछि.. Published: October 10, 2015 | शनिबार 23 असोज, 2072 | 5:30 AM | By Yadav Achrya | Viewed: 3174 times

-यादव आचार्य
भारत नेपालको नजिकको छिमेकी मित्र हो उसलाई सक्ने सहयोग गर्न नेपाल सरकार तयार छ । भारत सँग हाम्रो सनातन देखिको धार्मिक र साँस्कृतिक सम्वन्ध पनि प्रगाढ छ जुन कुनै पनि देशले विचलित पार्न सक्दैन । यो सम्वन्ध नेपाललाई मात्र होईन भारतलाई पनि उत्तिकै जरुरी छ जती नेपाललाई जरुरी छ ।
यस्तो नङ्ग र मासुको सम्वन्ध रहेको छिमेकी मित्र भारतले नेपालको अति मिलनसार र मृदु मित्रतालाई कमजोरीको रुपमा ठानेर नेपाल माथी ठाडो हस्तक्षेप गर्न खोज्नु भारतको अर्कमण्यता हो । नेपालीहरु जसरी भारतलाई मित्रताको रुपमा हेर्ने गर्छन् त्यो रुपमा भारतले नेपाललाई मित्र छिमेकी देशका रुपमा नहेरेको अहिलेको परिस्थितीले प्रमाणीत गरिदिएको छ । यो प्रमाणलाई भारतले कुनै पनि हालतमा होइन भन्न पाउँदैन ।
नेपालको तराईमा भौगोलिक अधिकार प्राप्तीका लागि शासक वर्गसँग तराई–मधेसबासी हरुले माग गर्नु स्वभाविक हो र यो नेपालीहरुको अधिकार पनि हो । यस्तो संघिन घडीमा उत्तरको छिमेकी मित्र चिनले घर भित्रको कुरा हो नेपाली आफैले मिलाउ भन्छ । तर दक्षिणको मित्र भारतले सात वुँदा परिवर्तन गर्नै पर्छ नत्र तिम्रो संविधान हामी स्विकार गर्दैनौ भन्छ । छिमेकीको घरमा कतिसम्म बोल्ने अधिकार हो त्यसको पनि भारतले वेवास्ता गरेको पाईन्छ । एउटा छिमेकीले अर्को छिमेकीलाई सल्लाह र सहयोग दिन सक्छ तर हस्तक्षेप होईन । भारतले अघोषित रुपमा नाकावन्दी गरेर आफ्नो विचारलाई नेपालको कानूनमा लेखाउन दवाव दिनु नेपाल र नेपालीको लागि आपत्ती हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मोदी नीति नेपाल प्रतिको हेपाहा प्रवृति होइन भनेर कुनै पनि नेपालीहरुले भन्न सक्दैन । एसियाकै होनहार देशको रुपमा परिचित भारतको यति सानो सोच देख्दा यतिखेर जोकोही नेपाली पनि भारतको मानसिक औकातको सजिलै आँकलन गर्न सक्छन् । “सादा जिवन उच्च विचार” भन्ने अभिव्यक्तीको प्रत्युउत्पादक देश जहाँ महात्मा गान्धीको बिचार जन्मियो त्यही देशकै प्रधानमन्त्रीको तुच्छ विचारयुक्त क्रियाकलाप छिमेकी मित्र देशमा प्रक्षेपण गर्न खोज्नु महात्मा गान्धीको उच्च विचारलाई चुनौती दिएकै हो । मोदीले नेपालमा भारतको जुन विचार लाद्न खोजे त्यो सरासर भारतीय तुच्छ विचार नै हो । यदि भारतको हृदय विशाल र विचार उच्च हुन्थ्यो भने आज नेपालले संविधान पाएको योे क्षणमा छिमेकीले पनि खुशी मनाउने वातावरण भारतले मिलाउन सक्नु पथ्र्याे तर त्यसो हुन सकेन । मोदी भारतका प्रधानमन्त्री त भए तर उनले छिमेकी देश र जनताका वारेमा प्रशस्त जानकारी नराखेको देखिन्छ । उनका पावरदार चश्मा लगाउने चर्म चक्षुले नेपाली स्वाभिमानी छन् भन्ने कुरो कहिल्यै पनि नदेखेको र नेपाली राजनितिज्ञहरुलाई ऋषिमन बनाउन प्रेरणा दिएको मोदी मनले अनुभुती नगरेको देखिन्छ ।
स्वाभिमानी नेपालीहरु खाडीमा गएर तातो वालुवामा छाला सुकाउलान् तर मागेर खान जान्दैन भन्ने कुराको कलियुगीन भारतीय ऋषीमनका आवरक मोदीले अहिले सम्म पनि बोध गर्न नसकेको प्रष्ट भएको छ । नेपाल र नेपाली आदिमकाल देखि स्वाभिमानी छन् कसैको औपनिवेशमा वाँच्न सकेनन् भन्ने हेक्का भारतीय मोदी सरकारले चाल पाएन । नेपाल र मधेसवासीको अधिकारको भिक्षा भारतले मागी दिने रे तैपनि नेपालको अस्मिता लुटिने गरी कति अमिल्दो कुरा । त्यो कदापी हुन सक्दैन । करोडौ नेपालीको प्राण आहुती होस तर नेपाल आमा बलात्कृत भएको देख्न सक्दैनन् नेपालीहरु ।
नेपालका नेताहरुलाई ऋषिमन वनाउन अर्ति उपदेश दिने मोदीजी तपाईको रावणमन नेपालीहरुले वुझिसकेका छन् । तपाइले नेपाली राजनितिज्ञहरुलाई बकचितुवा वनाएर तराईको शिकार गरौला भन्ने गिद्धे सोच राख्नु तपाई र भारतीयहरुको लागि पनि हानिकारक हुन सक्छ । नेपाल र नेपाली सँग धेरै सम्भावना छन् जुन सम्भावना अहिले सम्म नेपालीहरुले जोगाएर राखेका छन् त्यो भारतलाई पनि थाहा नहुन सक्छ । नेपालका केही राजनितिक दलका परअभिमानी नेता ज्यूहरुलाई फकाई फुलाई गर्दैमा नेपाली जनताहरु चुप लागेर बस्ने वाला छैनन् ।
तराईका भुमिपुत्र थारु र मधेसी जुन ऐतिहासिक काल देखि यस नेपाली भुमीमा वसोवास गर्दै आएका छन् ति सच्चा नेपाली हुन् । जसले तराईको औलोसँग लड्यो, अंग्रेज सँग पनि लड्यो तिनी हरुलाई अधिकार दिनका लागि नेपाल सरकार कदापी हिच्किचाउने छैन । यतिखेर भाई फुटे गवार लुटे भने झै नेपाली नेपालीमा एकता गर्नु आवस्यक देखिएको छ । परचक्री पाउ देशमा परिसकेपछि सच्चा देशभक्त नेपालीको मन दुख्नु स्वभाविक पनि हो । यस्तो अवस्थामा पनि चिन्ता नगरी आपसी लडाईलाई वढावा दिने हो भने पक्कै पनि नेपाल र नेपाली प्रति कुदृष्टि राख्ने पापिष्टहरुको मनोवल बढ्ने र अभिष्ट पुरा गर्ने साईत जुर्न सक्छ । यसमा सम्पूर्ण नेपालीहरु होसियार हुनु पर्ने समय आइसकेको छ ।
भारतले विश्वसामु कतीसम्म निर्लज्जता देखाएको छ त्यो त मधेस आन्दोलनका नाममा भारतले देखाएको प्रवृत्तिबाट प्रष्ट भैसकेको छ । यसमा भारत सरकारले कुनै पनि स्पष्टिकरण दिईरहनु पर्दैन । दश वर्षे द्वन्दकालमा भारतीय सीमानामा जोडिएका नेपालका जिल्ला सदरमुकामहरुमा तत्कालिन माओवादीका कार्यकर्ताहरु नेपाली भुमिमा आन्दोलन गरिरहँदा भारत सरकारलाई खतरा महशुस हुने तर भारतीय भुमीबाट नेपालमा ढुँङ्गा मुडा भैरहँदा नेपाललाई केही नहुने ? भारतको कस्तो संकुचित र तुच्छ मन भन्ने यसबाट छर्लङ्ग भैसकेको छ । माओवादीको नाममा भारतले भारतीय सीमानामा भारतीय सीमा सुरक्षा वल (एसएसवी) राख्न पाईने भारतबाट नेपालमा आक्रमण भैरहँदा नेपाल सरकारले नेपाली सीमानामा नेपाली सेना राख्न किन हिचकिचाउने ? आम नेपालीको प्रश्न छ ।
नेपालीहरु सोझा छन् चाहे पहाडी होस्, चाहे थारु होस्, चाहे मधेसी होस् । सोझो मित्रतालाई कमजोर सम्झी आफ्नो स्वर्थ सिद्ध गर्न कुनै पनि देशले नजर लगाउछन् भने वुरी नजर वाला तेरे मुह काला नेपाली जनताले छाड्ने छैनन् । यतिखेर मधेसमा आगो सल्किएको छ त्यो आगो निभाउने दमकल पक्कै पनि नेपाल सरकार सँग छ । चाँडै मधेस समस्याको समाधान हुन्छ भन्ने कुरामा नेपाली जनताहरु ढुक्क छन् ।
नेपालमा यतिखेर दोस्रो दर्जाका नागरिकहरुबाट मधेस आन्दोलनलाई अर्कै मोडमा पुर्याईएको भन्ने कुराहरु चारैतिर विश्लेषण हुन थालेका छन् । यदि यस्तो हो भने सवै नेपालीहरु एक ढिक्का हुनु पर्ने वेला आएको छ । केही आन्दोलनकारीहरुले संविधानमा लेखिएका कुराहरुलाई तोडमोड गरी प्रचार गर्ने र ग्रामीण समुदायहरुलाई आन्दोलनमा ल्याउन प्रेरणा दिने गरेको यतिखेर चर्चाको विषय वनिरहेको छ । यस्तो अवस्थामा संविधानमा लेखिएका कुराहरु दुरदराजका ग्रामीण जनताहरुलाई प्रष्ट्याउनु पर्ने आवस्यकता पनि देखिन्छ ।
यतिखेर नेपालको भुपरिवेष्ठित अधिकार खोसिएको छ । नेपालीहरु एउटा देशको स्वार्थका कारण आफ्नो अधिकारबाट वञ्चित भएका छन् । भारतकै कारण नेपालका लागि ल्याईएका पेट्रोलियम पदार्थहरु भारतीय भुमीमै थन्किएका छन् । अन्तर्राष्ट्रिय कानून भारतले मिचिरहँदा अन्र्तर्राष्ट्रिय देशहरु पनि गुमसुम टोलाएका छन् । विभिन्न एनजीओ मार्फत नेपालीहरुलाई अधिकारको महापुराण सिकाउने अन्र्तर्राष्ट्रिय समुदायहरु भारतले नेपालीको अधिकार उल्लंघन गरी रहँदा किन चुपचाप छन् । यसतर्फ पनि गम्भीर रुपमा नेपालीले सोच्नु जरुरी भैसकेको छ ।
जेहोस् छिमेकी नै ‘जिउँदाको जन्ती मर्दाको मलामी’ हो चिन र भारत नेपालका असल छिमेकी मित्र हुन् । नेपालले पनि दुवै छिमेकी देशहरु सँग सन्तुलित सम्वन्ध स्थापित गर्नु जरुरी छ । एउटालाई काखा र अर्कालाई पाखा गर्नु नेपाल र नेपाली कै लागि र्दुभाग्य सावित हुन सक्छ । दुवै देश सँग सम सम्वन्ध राख्दै सम्भावित उत्पादनलाई नेपालमै जोड दिन सके यस्ता तुच्छ विचार र विभिन्न कालखण्डमा गरिने घोषित अघोषित नाकावन्दीको नेपाली जनताले सामना गर्न सक्ने छन् । जय नेपाल ....