नवलपरासी पूर्ण खोप जिल्ला घोषित हरि शर्मा (इमेज) | Published: March 2, 2014 | आईतवार 18 फागुन, 2070 | 4:57 PM | Viewed: 983 times
नवलपरासी, फाल्गुन १८ । नवलपरासी जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज परासीमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.प्रविण मिश्रले नवलपरासीलाई पूर्ण खोप जिल्लाको घोषणा गरेका हुन् ।
पूर्ण खोप जिल्ला घोषणा
गर्दै स्वास्थ्य सचिव मिश्रले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत तोकेर सञ्चालन गर्दै आएका सवै खोपहरु १ वर्ष मुनिका बालबालिकाहरुले पुरा गरेको पाईएकोले नेपालमै पहिलो पल्ट पूर्ण खोप जिल्ला घोषणा गरेको बताए ।
खोप पाए नपाएको बारे जिल्लामा रहेका १२ देखि २३ महिना सम्मका बालबालिकाहरुमा सर्वेक्षण गरिएको थियो । जिल्लालाई पूर्ण खोप घोषणा गर्न २०६९ को साउनदेखि जिल्ला स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गरेको थियो ।
जिल्लामा ७३ गाविस र एक नगरपालिका छन् । यसैबिच जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको नव निर्मित कार्यालय भवनको पनि आजै उद्घाटन गरिएको छ । २२ कोठे भवन एक करोड ५९ लाखमा निर्माण गरिएको हो ।