top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

‘झोला’ हेरेपछि दर्शकको आँखामा आँसु, शुक्रबारदेखि पुनः प्रदर्शन  |  Published: April 24, 2015  |  शुक्रबार 11 बैशाख, 2072  |  3:44 PM  |  Viewed: 18810 times

काठमाडौं, वैशाख ११ । फिल्म हेर्दाहेर्दै धेरैको आँखा रसाए । गहभरि आँसु बोकेर हलबाट बाहिरिने पनि देखिए । कसैले पहिलोपटक हेरे, कसैले पटक–पटक ।

विहीबार राजधानीको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा थुप्रै परिचित-अपरिचित अनुहारहरुको उपस्थिति थियो । वर्ष २०७० को ‘हिट’ नेपाली चलचित्र ‘झोला’ उनीहरुले एकसाथ हेरे ।

/>चलचित्र युनिटले गरेको ‘विशेष सो’मा चलचित्रकर्मीसँगै साहित्य, संगीत, राजनीति, न्यायालयलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको जमघट भएको हो । सार्वजनिक प्रदर्शन, प्रिमियर र च्यारिटीहरुमा दर्शकको मन जितिसकेको ‘झोला’ले यहाँ पनि सबैबाट प्रशंसा बटुल्यो ।

चलचित्र हेरिसकेपछि सभासद बालकृष्ण खाँडले ‘नेपालको इतिहास झल्काएको तथा महिला हिंसाविरुद्ध आवाज बुलन्द गरेको चलचित्र उत्कृष्ट रहेको’ धारणा राखे । गहभरि आँसु बोकेर हलबाट बाहिरिएका वरिष्ठ संगीतकार बुलु मुकारुङले सन्चारकर्मीलाई प्रतिक्रियासमेत दिन सकेनन् ।

कलाकार रबी अधिकारीले नेपालीपन बोकेको ‘झोला’ले नेपाली संस्कृति, रितिरिवाजलाई उजागर गर्न सघाएको भन्दै नहेरेका दर्शकहरुलाई एकपटक हलसम्म आएर हेर्न आग्रह गरे ।

‘झोला’ दोसोपटक हेरेका निर्माता तथा वितरक गोपाल कायस्थले एकसय वर्ष पहिलेको नेपाली समाजको यथार्थकथा बोकेको यो चलचित्र प्राविधिकरुपमा पनि निकै उत्कृष्ट रहेको चलचित्र हेर्नैपर्ने बताए ।

‘चलचित्र हेरिसक्दा सबैको आँखामा आँसु भेटें–‘कायस्थले भने–‘एकपटक हेरिसकेका दर्शकले पनि यो चलचित्र पुनः हेर्दा केही घाटा छैन, नहेरेकाहरुलाई एकपटक हलसम्म आएर नेपाली समाजको इतिहास बुझ्न अनुरोध गर्दछु ।’

‘डेब्यु’मा नै सफल चलचित्र निर्देशकको दर्जा पाएका ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले धेरै दर्शकको मागअनुसार नै चलचित्र पुनः प्रदर्शन गर्न लागिएको जनाए ।

उनले सति प्रथाको कथा उठान गरेको झोला जस्तै विभिन्न ऐतिहासिक  पाटोमा चलचित्र निर्माण गर्न अग्रसरताका लागि पनि चलचित्र पुनः प्रदर्शनमा दर्शकको साथ आवश्यक रहेको बताए ।

‘हाम्रो सिनेमासँगै प्रतिस्पर्धी सिनेमा पनि चल्नुपर्छ भन्ने मेरो मान्यता हो’–भट्टराईले थपे–‘राम्रा चलचित्रका बीचमा प्रतिस्पर्धा हुँदा नै सिनेमा घरमा दर्शकको बाक्लो उपस्थिति हुन्छ र नेपाली चलचित्रप्रति आमदर्शकको दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।’

झोला’ शुक्रबारदेखि पुनः सार्वजनिक प्रदर्शनमा आएको छ । साहित्यकार कृष्ण धराबासीको कथामा आधारित ‘झोला’मा गरिमा पन्त, दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाललगायतको अभिनय रहेको छ ।

उत्तमकुमार श्रेष्ठको प्रस्तुतिमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशील शाहको लगानी छ ।

देश–विदेशमा सम्पन्न विभिन्न अवार्ड तथा चलचित्र महोत्सवमा सहभागी तथा पुरस्कृत यो चलचित्रबाट नायिका गरिमा पन्तले वर्ष २०१४ को सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell