top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

यो हो, अन्तरिक्षमा बाँच्न सक्ने जीव, यस्तो छ विशेषता  |  Published: July 16, 2015  |  बिहीवार 31 आषाढ, 2072  |  3:44 PM  |  Viewed: 8181 times

काठमाडौं, आषाढ ३१ । केही समयअघि वन्यजन्तु तथा प्रकृतिको बारेमा बृत्तचित्र प्रसारण गर्ने चर्चित टिभी च्यानल ‘एनिमल प्लानेट’ले वातावरणको चरम अवस्थामा पनि बाँच्न सक्ने १० प्राणीहरुको ‘काउन्ट डाउन’मा पहिलो नम्बरमा समुद्री जीव ‘टार्डिग्रेड’ पर्‍यो ।

अमेरिकी वैज्ञानिकहरुको टोलीले हालै गरेको अनुसन्धानअनुसार समुद्री जीव ‘टार्डिग्रेड’ १७७३ मा जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । सुरुमा यसको नाम ‘क्लाइर वासरबियर’ थियो । पछि एक इटालियन वैज्ञानिक स्पालान्जानीले यसको नामाकरण गरी ‘टार्डिग्रेड’ राखियो ।

टार्डिग्रेडको अर्थ हो, बिस्तारै हिँड्ने । अन्य स–साना किराहरुभन्दा निकै ढिलो हिँड्ने र खासै फूर्तिलो नदेखिने हुँदा यसको नाम टार्डिग्रेड राखिएको हो । टार्डिग्रेडको सबैभन्दा ठूलो प्रजाति पनि वयस्क अवस्थामा १ दशमलव ५ मिलिमिटरभन्दा ठूलो हुँदैन । सानोमा ० दशमलव १ मिलिमिटरसम्म साना टार्डिग्रेड पनि पाइएका छन् ।

माकुराको जस्तै ४ जोडी खुट्टाहरु हुने यस जीवको प्रत्येक खुट्टामा चारदेखि आठओटासम्म नङ जस्ता संरचनाहरु हुन्छन् । यिनीहरुको शरीरमा कोषहरुको संख्या कहिले पनि घटबढ हुँदैन । जन्मने बेलामा शरीरमा जतिओटा कोषहरु हुन्छन् बाँचुन्जेलसम्म पनि त्यति नै कोषहरु हुन्छन् । त्यसैले यिनीहरुको शरीर कोषहरुको बिभाजनबाट बढ्ने नभइ कोषको आफ्नै आकार बढ्नाले बढ्छ ।

यस्ता प्राणीहरुलाई वैज्ञानिक भाषामा ‘इउटेलिक’ भनिन्छ । टार्डिग्रेडका कुनै कुनै प्रजातिहरुमा कोषहरुको संख्या ४० हजारसम्म पाइएको छ । अधिकांश बहुकोषीय जीवहरुमा भने शरीरको आकार कोषहरुको विभाजनका कारण हुन्छ ।

टार्डिग्रेडमा स्वासप्रस्वास प्रणालीको छुट्टै अंग भनेर नाक, फोक्सो, स्वासनलीजस्ता कुनै पनि अंग हुँदैन । यिनीहरुले शरीरको सतहमा रहेका कोषहरुबाट सीधै वायुमन्डलको हावा लिन पठाउन सकिन्छ । यसको मुख सानो ट्युब जस्तो हुन्छ भने यसको मुखमा पाइप जस्तो हुन्छ र त्यसैको सहायताले बोट–बिरुवाका कोषहरु, स साना किराहरु खाने गर्दछ ।

यो जीव १ सय ५१ डिग्री सेन्टिग्रेड तापक्रममा पनि बाँच्न सक्दछन् भने सबैभन्दा कम –२०० डिग्री तापक्रममा पनि बाँच्न सक्छन् । त्यतिमात्र होइन, यो जीव पानीबिना पनि दशकौं बाँच्न सक्छ । त्यसो त यो जीवलाई सन् २००७ मा वैज्ञानिकहरुको एक टोलीले अन्तरिक्षमा १० दिनसम्म राखी परीक्षण गरेको थियो । अन्तरिक्षमा रहँदासमेत बाँच्न सफल यो जीवका बारेमा फेरि पनि नयाँ–नयाँ तथ्यहरु पत्ता लगाउन वैज्ञानिकहरु अनुसन्धानरत छन् ।

जे होस् टार्डिग्रेडको अध्ययनबाट रहस्यहरु खुल्दै जाँदा पृथ्वीमा जीवनको सुरुवात र पृथ्वीबाहिर जीवनको अस्तित्वको अध्ययनमा नयाँ सम्भावनाहरु खुल्दै जानेमा कसैको दुइमत छैन । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell