top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

आफ्नै दाजुभाइलाई लुट्नेहरुले अब लाज मान्नु पर्छ : श्रम राज्यमन्त्री गुरुङ  |  Published: July 19, 2015  |  आईतवार 3 साउन, 2072  |  11:12 AM  |  Viewed: 33191 times

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले खाडी मुलुकहरुमा रोजगारीका लागि जाने नेपालीबाट प्रवेश अनुमतिपत्र र टिकटको पैसा लिन नपाउने निर्णय गरेसँगै मुलुकभरका वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित बने । उनीहरुको आन्दोलन अहिलेसम्म पनि जारी छ ।

मन्त्री गुरुङले गरेको निर्णय कामदारका पक्षमा देखिएका कारण मुलुकभर उनको पक्षमा बहस गरिदैं छ । तर व्यावसायीहरु गुरुङका कारण वैदेशिक रोजगारी खोसिने दाबी गर्दैैछन् । सरकारको निर्णय नमानेर अटेर गर्ने व्यवसायीलाई सरकारले कारवाही गर्ने मन्त्री गुरुङको दाबी छ । प्रस्तुत छ, ईमेजखबर डटकमका लागि ठाकुर बेलवासेले मन्त्री गुरुङसँग गरेको वार्ताको केही महत्वपूर्ण अंश :

सरकारको निर्णय नमान्ने भन्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलनमा छन् ।व्यवसायीहरु आन्दोलनमै जानुपर्ने यो कस्तो निर्णय गर्नुभयो तपाईले ?

मैले पनि केही बुझन सकिरहेको छैन । सरकारले वैदेशिक रोजगार व्यवसाय संचालन गर भनेर अनुमतिपत्र दिएको छ । सरकारको निगरानीमा उनीहरु बस्नु पर्छ । सरकारले दिएका निर्देशन पनि पालना गर्नु पर्छ । यो उनीहरुलाई मैले बुझाइरहनु पर्ने कुरै होईन ।

अहिले खाडीमा काम गर्न जाने युवाहरु गरिब नेपालीका छोराहरु हुन् । ऋण काढेर खाडी गएका छन् । खाडीका राम्रा कम्पनीहरुले निःशुल्क प्रवेश अनुमतिपत्र र टिकट दिने गर्छ । तर हाम्रा व्यवसायीहरु खुलेआम उताका कम्पनीहरुलाई कमिशन खुवाउँछन् र नेपालीलाई लुट्छन्, यो कस्तो बिडम्बना ? यसैलाई नियममा बाधौँ, व्यवसायलाई अनुशासित बनाऔँ भन्ने मेरो पहल हो ।

नेपाली ठगीएका छन्, वैदेशिक रोजगार व्यवसाय अनुशासित छैन भन्ने कुरा बुझ्न किन यति ढिलो ?

हो, उहिल्यै गर्नुपर्ने काम अहिले आएर गरिदैं छ । विदेश जाने काम यतिबेला फेशनजस्तो भएको छ । सरकार पनि रेमिट्यान्सका नाममा मख्ख छ । तर यसका घाटा हामीले कहिल्यै हेरेनौं । यो दुःखको कुरा हो । हाम्रा रोजगार व्यावसायीहरु एजेन्टमात्र हुन् । नेपालको परिस्थितिले उनीहरु व्यवसायी बने । कतार, मलेसिया लगायतका राम्रा कम्पनीहरुले कामदारलाई निःशुल्क भिषा र टिकट पठाउँछन् ।

अनि नेपाली म्यानपावर कम्पनीलाई कमिशन पनि दिन्छन् तर हाम्रा व्यवसायी भनिने कम्पनीहरुले उताका काम नलाग्ने कम्पनीहरुलाई कमिशन ख्वाएर मान्छे उता पठाए । यसले नेपालीले खाडीमा दुःख त पाए नै, अर्कोतर्फ देशको ठूलो रकम विदेश गयो । यो राज्यका लागि चिन्ताको विषय हो । विगतमा के भएन, के भयो भन्नेभन्दा पनि अब राम्रो गरौं भन्नु पर्यो नि ।

नेपाली कामदारबाट लिएको मोटो रकम त रोजगार कम्पनी र यहाँका व्यवसायीले बाँडीचुँडी पो खान्छन् ?

म यस व्यवसायीसँग राम्रो भिजेको मान्छे । प्रत्यक्ष मैले काम पनि गरेको छु । यसकारण यहाँ भित्र विकृति के छन् भन्नेबारे सबै मलाई थाहा छ । मलाई कसैले सिकाउनु पर्दैन । केका लागि आन्दोलन गर्दैछन् साथीहरु ? म अचम्ममा परेको छु । लुट्न पाईनँ भनेर आन्दोलन गर्ने ?

अब रोजगारीका लागि खाडी जान चाहनेले कुन निकायसँग सम्पर्क राख्ने त ?

वैदेशिक रोजगार कम्पनीसँगै हो नि सम्पर्क गर्ने । उनीहरुलाई त्यही काम गर भनेर नेपाल सरकारले अनुमतिपत्र दिएको छ ।

कमाई खोसिएपछि नेपालका रोजगार व्यावसायीले कसरी कामदारलाई विदेश पठाउने ?

यही त छ बिडम्बना । कति कमाउने ? एकजना गरिबको छोरालाई कति लुट्ने ? निःशुल्क प्रवेश अनुमतिपत्र र टिकट कामदारका नाममा आउँछ । जुन देशको कम्पनीले कादार माग गर्छ, उसैले पनि कमिशन दिन्छ । यताबाट प्रति कामदार १० देखि १५ हजार सेवा दिएबापत लिनसक्ने अवस्था पनि छ । यसरी दुबै तर्फबाट प्रतिकामदार कम्पनीले कम्तीमा २५ हजार कमाउँछ । अब मैले नबुझेको कुरा कति कमाउनु पर्ने हो उनीहरुले ? यहाँबाट ठगिएर खाडी गएका युवाहरुले हामी ठगिएका रहेछौं भन्ने थाहा पाउँछन् । यहाँका कम्पनीहरुलाई सरापेर बस्छन् । आफ्नै दाजुभाइको सराप कति खानु हो ?
 
अहिलेसम्म त यो क्षेत्र मनोमानी कै रहेछ नि त ?

हो, यति धेरै मनोमानी छ कि कुरै नगरौं । म त यस क्षेत्रको भुक्तमान हुँ । मैले कुनै हचुवाका भरमा निर्णय गरेको छैन । अति भएपछि यो कदम चाल्न बाध्य भएको हुँ ।

पैसाका नाममा नेपाली युवा माथि खेलवाड गर्ने अधिकार कसैसँग छैन । अहिले खाडीका देशहरुमा नेपालीको विजोग किन छ भन्दा कमिशन खुवाएर नेपाली म्यानपावर कम्पनीले नराम्रा कम्पनीको रोजगारी ल्याए, अनि नेपाली त्यहाँ पुगेपछि अलपत्र पर्न थाले, यो असह्य कुरा हो ।

व्यवसायीहरुले आन्दोलन फिर्ता लिदैनौं भन्दैछन्, के गर्नुहुन्छ ?

केका लागि आन्दोलन गर्दै हुनुहुन्छ तपाईहरु भनेर मैले बारम्बार सोधेको छु । उहाँहरुसँग जवाफ छैन । गरिबलाई लुट्न पाईनँ भनेर आन्दोलन गर्न सुहाउँदैन ।

अर्को कुरा, नयाँ नियम असार २१ बाटमात्र लागू भएको हो । उहाँहरुले ९४ हजार युवाहरुको वैदेशिक रोजगारीका लागि श्रम विभागबाट अनुमति लिइसक्नु भएको छ । १०–१२ हजार त उड्ने अवस्थामा छन् । यो सानो कुरा होइन । हामीले यो छुट पनि दिएका छौं ।

९४ हजार युवालाई लुट्ने छुट दिएको ?

हेर्नुस्, देशको अवस्थाले यस्तो भयो । लाखौं लाख युवा ठगिएका छन् ।  ९४ हजारलाई पनि ठग भनिएको होइन । पहिला भद्रगोलको अवस्था थियो । त्यही अवस्थामा अगाडि बढाईएका कामलाई नयाँ नियमले नबाँधौं, यसअघि जे भयो–भयो भनिएको मात्र हो । यति गर्दा पनि व्यवसायीलाई चित्त बुझेको छैन ।

सरकारको निर्देशन नमान्ने व्यवसायीलाई कारवाही गर्न सक्दैन सरकार ?

किन सक्दैन ? गजबले सक्छ । म हेर्दैछु । काम गरे भनेर अनुमति दिएको हो सरकारले । लुट भनेर दिएको हो र ? म हेर्दैछु । अब धेरै पर्खिन्नँ पनि ।

मैले यो निर्णय खाडीका सबै मुलुक डुलेर, वास्तविकता बुझेरमात्र गरेको छु । जसले रोजगारी दिएको छ, त्यही देशमा आज हाम्रो ईज्जत पानीमा छ । आफ्नै दाजुभाइलाई लुट्नेहरुले अब लाज मान्नु पर्छ ।

वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित अध्यक्ष विमल ढकाललाई आफैं लागेर जिताउनु भयो, अहिले उनी नै तपाईका विरुद्धमा आन्दोलन गर्दैछन्, हैन ?

मैले यो  व्यवसायमा राजनीति नगरौं भनेकै हो । विमलजी मेरो साथी हुनुहुन्छ । मेरो विरोध गर्नु भयो–भएन म जान्दिनँ । तर राम्रा कामका बारेमा उहाँले पनि साथ दिनु पर्छ । यस विषमा म दलभन्दा माथि छु । मलाई पार्टीले यसो गर, उसो गर भने पनि यसमा मान्ने पक्षमा छैन । यो आम नागरिकको काम हो ।

मन्त्रीकै कारण अब वैदेशिक रोजगारी गुम्दै छ भन्छन् त व्यावसायी ?

आफुले कमिशन पाउँदा रोजगारी नगुम्ने, नपाउँदा गुम्ने ? सोझा नेपाली भएरमात्रै उनीहरु यस्तो कुरा गरिरहेका छन् । वर्षौदेखि निःशुल्क भिषा र निकटलाई नेपाली कामदारले पैसा तिर्न बाध्य भए । उताबाट कामदार पठाऊ, भिषा र टिकटसँगै कमिशन पनि दिन्छौं भन्छन् र त्यसै गर्छन् । यताकाहरु हाम्रा गरिब दाजुभाइलाई लुट, तिमी पनि कमिशन खाउ, हामी पनि खान्छौं भन्छन् ।

नेपाली कामदारको खाडीमा ठूलो माग छ । खाडीमा काम खोज्न जो भारतीय, श्रीलंकन या अन्य देशका कामदारभन्दा नेपाली कामदार बढी इमान्दार मानिन्छन् । यसकारण हामीले नीति राम्रो बनायौं भने रोजगारी खोसिने होइन कि अझ बढ्ने छ ।
 
तपाईलाई सरकारको सहयोग कस्तो छ ?

विरोध अन्य मन्त्रीज्यूहरुले गर्नु भएको छैन, यही हो सहयोग ।

खाडीमा धेरै नेपाली अलपत्र छन्, नारकीय जीवन विताउन विवश छन् भनिन्छ, कहिले उद्धार हुन्छ ?

यो काम सकिए पछि म खाडीका मुलुकमा जाँदैछु नेपाली कामदारको अवस्था बुझ्न । अब कुनै पनि नेपालीले खाडीमा दुःख भोग्नु नपरोस् भन्ने हो । मैले यसका लागि योजना बनाईसकेको छु । संविधान निर्माणले पनि केही असर त गर्ला तर म छिटै यस विषयमा विशेष काम गर्दैैछु ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell