top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

यसरी भयो होमियोपैथिक चिकित्सा पद्धतिको उत्पत्ति र विकास  |  Published: September 11, 2015  |  शुक्रबार 25 भदौ, 2072  |  10:26 AM  |  Viewed: 1500 times

काठमाडौं । होमियोपैथिक चिकित्सा पद्धतिको उत्पत्ति एलोपैथिक चिकित्सा पद्धतिका नामुद चिकित्सक डा.हैनीमैनले गरेको इतिहास छ ।

सन् १७५५ अप्रिल १० तारिखका दिन जर्मनीको सैक्सन राज्यको माइसेन शहरमा फ्रेडरिक सैम्युअल हनीमैनको जन्म भएको थियो । उनका बुबा माटोको भाँडो बनाएर आफ्नो परिवारको जीविका निर्वाह गर्दथे । हनीमैनको जन्म अति गरीब परिवारमा हुँदा पनि उनी सानैदेखि होनहार प्रतिभाशाली, लगनशील ब्यक्तित्व थिए । उनले २४ बर्षकै उमेरमा एलोपैथिक चिकित्सा पद्धतिमा एमडिको डिग्री प्राप्त गरेका थिए । साथै उनी अंग्रेजी, फ्रेञ्च, ग्रीक, ल्याटिन, हिन्दी, अरबी भाषको ज्ञाता समेत थिए ।

डा. हनीमैनले शुरुमा प्रचलित एलोपैथिक चिकित्सा पद्धतिको शिक्षा प्राप्त गरी चिकित्सा सेवा प्रारम्भ गरेका थिए । १० बर्षसम्मको चिकित्सा सेवाको अवधिमा एलोपैथिक चिकित्सा पद्धतिप्रति उनको चित्त बुझिरहेको थिएन । उनलाई बराबर एलोपैथिक चिकित्सामाथि शंका नै उत्पन्न भइराख्थ्यो । आफ्नो जिविका चलाउनका लागि उनले बिभिन्न बैज्ञानिक पुस्तकहरुलाई अंग्रेजी भाषाबाट जर्मन भाषामा अनुवादको क्रममा एलोपैथिक मटेरियामेडिकालाई जर्मन भाषामा अनुवाद गरिरहेको बेला मलेरिया अर्थात् औलोज्वर निको पार्ने कुनाइन भन्ने औषधिमा एउटा अन्तरबिरोधी कुरो पाए । कुनाइनले औलोज्वर निको पार्छ, तर त्यसले स्वस्थ शरीरमा औलोज्वर पनि ल्याउँछ भन्ने अन्तरबिरोधी कुराहरुले गर्दा उनको हृदयमा एक्कासी के बिचार आयो भने मलेरियाले औलो ज्वरोलाई निको पार्ने मात्र नभई यसले निरोगी मान्छेमा औलोको ज्वरोसमेत उत्पन्न गराइदिने पनि गर्दछ ।

जसरी प्रख्यात बैज्ञानिक सरज्याक न्युटनले रुखबाट स्याउ झरेको देखेर स्याउ तल किन झर्यो ? माथि किन गएन ? भनेर सोच्न थालेपछि नै पृथ्वीको गुरुत्वाकर्षण शक्ति पत्ता लगाएका थिए । त्यसैगरी हनीमैनले आफूले पाएको अन्तरबिरोधी कुराहरुबारे सोच्दासोच्दै मलेरियाले स्वस्थ शरीरमा औलो ज्वरो ल्याउन सक्ने र यसले त्यही रोग लागेको मान्छेलाई निको पार्न पनि सक्छ भन्ने तथ्य पत्ता लगाए । शरीरमा जुन रोग छ, त्यसको ठीक बिपरीत अवस्था उत्पन्न गराइदिनु एलोपैथिक उपचार पद्धति हो भन्ने उनैले पत्ता लगाएका हुन् । जस्तै कब्जियत छ भने पखाला लगाउने औषधि दिनु र पखाला लागेको छ भने कब्जियत गराउने औषधि दिनु । हनीमैनले यसको ठीक बिपरीत सिद्धान्तको आविष्कार गरे– त्यो हो समोपचार । संस्कृतमा यसलाई समः सम शमयति भनिन्छ ।

स्वस्थ शरीरमा जुन रसायनले जस्तो लक्षणहरु उत्पन्न गराउँछ त्यस्तै लक्षणहरु भएको रोगीलाई त्यही रसायनलाई औषधिको रुपमा सेवन गराउँदा त्यसले रोग निको पार्छ । होमियोपैथी रोगलाई दुई बर्गमा बाँडेको छ । तरुण रोग र दीर्घ अर्थात पुरानो । तरुण रोगमा ज्वरो, रुघाखोकी, पखाला, आउँ जस्ता तुरुन्त लागेका रोगहरु यस वर्गमा पर्छन् । यी रोगहरुलाई एलोपैथिकले भन्दा पनि होमियोपैथिकले चाँडै निको पार्छ । अर्को हो दीर्घ रोग । एलोपैथिकमा वा दीर्घरोगका लागि जीवनभरि औषधि प्रयोग गर्नुपर्छ । तैपनि निको हुँदैन । त्यस्ता पुराना रोगहरुलाई २–३–४ वर्ष लगातार होमियोपैथिक औषधि प्रयोग गरी सँधैको लागि निको पार्न सकिन्छ । त्यसैले होमियोपैथिक उपचार पद्धतिले विस्तारै काम गर्दछ भन्ने कुरा भ्रम मात्र हो । होेमियोपैथिक औषधिको कुनै साइड इफेक्ट र रियाक्सन हुँदैनन् ।

होमियोपैथिकको सिद्धान्तअनुसार होमियोपैथिक औषधिहरुमा औषधिको अंश नगन्यमात्रमा हुन्छ, जसले गर्दा विरामीको शरीरमाथि साइडइफेक्ट र रियाक्सन हुँदैनन् । अर्थात होमियोपैथिकबाट कुनै किसिमको नकारात्मक प्रभाव रोगी वा स्वस्थ शरीरमा पर्दैन । होमियोपैथिक औषधिहरुलाई पारमाणविक आधारमा तयार पारिएको हुन्छ । जस्तो कि कुनै पनि औषधिको मूल अकंको १ थोपालाई ९९ थोपा अल्कोहलमा हल्लाएर मिसाई त्यसबाट झिकिएको १ थोपालाई १ पावर भनिन्छ । त्यस्तै, त्यसबाट १ थोपा झिकि फेरि ९९ थोपा अल्कोहलमा मिसाएर हल्लाई त्यसबाट झिकिएको १ थोपालाई २ पावर भनिन्छ । क्रमशः त्यसैगरी तीस, दुई सय, एक हजार, दश हजार एक लाख, दश लाख र अनगिन्ती पारसम्म औषधि तयार पारिएको हुन्छ । त्यस्तो पावर भएको औषधिमा औषधिको ठोस औषधिको अंश नभई काम गर्ने शक्तिमात्र रहेको हुन्छ । प्राय: होमियोपैथिक औषधिहरुमा औषधिको अंश नगन्य मात्रामा हुने भएकै कारणले गर्दा यसले विरामी तथा स्वास्थ शरीरमा कुनै पनि नकारात्मक प्रभाव पार्दैन ।

होमियोपैथिकको जन्म जर्मनीमा भएको कारणले यूरोपेली देशहरुमा यसको राम्रै विकास भएको छ । साथै भारतमा पनि यस पद्धतिको राम्रो विकास भएको छ । नेपालमा पनि अब यो विस्तारै विकास हुँदैछ । नेपालमा सरकारी स्तरमा एकमात्र पशुपति होमियोपैथिक अस्पताल हरिहर भवन ललितपुरमा छ । होमियोपैथिक चिकित्सा पद्धतिद्वारा पुरानाभन्दा पुराना रोगहरु जस्तै, दम, बाथ, अल्सर, ट्यूमर, मुसा, ग्यास्ट्रिक, पायल्स, डायविटिज, मुटुको रोग, स्त्रीरोगहरु, बालरोगहरु, मानसिक रोगहरु, सुस्त मनस्थिति इत्यादि रोगहरु सधैको लागि निको पार्न सकिन्छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell