top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

अन्धजातिवादी कुराले कम्यूनिस्ट आन्दोलन चकनाचुर हुन्छ : राम कार्की (एनेकपा माओवादी)  |  Published: September 28, 2015  |  सोमबार 11 असोज, 2072  |  6:36 PM  |  Viewed: 6686 times

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि नेपाली राजनीतिमा नयाँ चर्चा थालनी भएको छ । संविधान जारीपछि मुलुकमा मधेस आन्दोलन लगायतका विषयले राजनीतिक बृत्त चुनौतीपूर्ण घडीमा रहेकै अवस्थामा डा. भट्टराईले पार्टी र व्यवस्थापिका–संसद सदस्य पदबाट समेत राजीनामा दिएका छन् । प्रस्तुत छ, लामो समय डा. भट्टराईसँगै सहकार्य गरेका एमाओवादी नेता राम कार्कीसँग यिनै समसामयिक राजनीतिक विषयमा केन्द्रीत रही ठाकुर बेल्बासे र सुदर्शन आचार्यले गरेका कुराकानी :

यति लामो समय जुन पार्टीका लागि डा. बाबुराम भट्टराईले योगदान गरे, संविधान जारी भइसकेपछिको अवस्थामा चटक्क पार्टी परित्याग गर्नुको कारण के हुन सक्छ ?

यो प्रश्नको सोझै जवाफ दिनुभन्दा पनि म तपाईलाई एउटा परिस्थिती कल्पना गर्न आग्रह गर्दछु । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यतिबेला चटक्क राजीनामा दिनु भएमा के हुन्छ ? उहाँलाई त्यो छुट छ कि छैन ? मलाई लाग्छ, हाम्रा नेताहरु पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई जस्ता कदका नेताहरु जसले माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । उहाँहरुलाई यसरी सजिलै अलग हुने छुट राजनीतिमा हुँदैन । राजीनामा दिएर बाबुरामजीले एउटा नयाँ धरातल बनाउन खोज्नु भएको हो ।

अहिलेसम्म भएका काम–कारवाही उपलब्धिको जस–अपजसको भागिदार हुनका लागि पनि उहाँ एमाओवादी मै रहनुपथ्र्यो भन्न खोज्नु भएको हो ?

मलाई लाग्छ, केही दिनभित्र उहाँहरुले नयाँ राजनीतिक समूह निर्माण गर्नुहोला । त्यसको नाम पनि ‘माओवादी’ नरहन सक्छ । यो अनुमान कै कुरा हो, प्रजातन्त्रवादी र कम्यूनिस्टहरुलाई पनि पाच्य हुनेगरी त्यस्तो राजनीतिक समूहको एउटा नाम बन्न सक्छ । तर नेपालको इतिहासलाई अत्यन्त प्रभावित गर्न सक्ने, त्यो आन्दोलनप्रति आफ्नो स्थिती स्पष्ट पार्न सर्वसाधारणलाई बाध्य पार्ने आन्दोलन थियो– माओवादी आन्दोलन ।

त्यस्तो आन्दोलनबाट डा. बाबुराम भट्टराईले आफू अलग भएको औपचारिक घोषणा गरे पनि यथार्थमा त्यसको जस–अपजसबाट उहाँ धेरै टाढा जान सक्नुहुन्न भन्ने मेरो बुझाइ हो ।

माओवादी आन्दोलन जतिबेला चरम उत्कर्षमा थियो, त्यो बेला बाबुराम भट्टराईका राजनीतिक अधिकार खोसेर उनलाई नजरबन्दमा राखेको अवस्थामा समेत उनले पार्टी नछोड्नु तर मुलुकमा आफ्नोसमेतको हस्ताक्षरमा संविधान जारी भइसकेपछि उनले पार्टी र संसदसमेत त्याग्नु भित्रको रहस्य के हुन सक्छ ?

हिन्दु, बौद्ध, मुस्लिम, किराँत धर्म आदिका ऐतिहासिक पुस्तक तथा ग्रन्थमा कुनै प्रकारको संशोधन गर्न मिल्दैन । तर मार्क्सवाद यस्तो चिज हो, जहाँ केही थपिएन भने त्यो समाप्त हुन्छ । बाबुरामजीले नेपालको सन्दर्भमा जातीय, क्षेत्रीय, लैंगिक प्रश्नलाई बढी महत्वका साथ नेपालको कम्यूनिस्ट आन्दोलनमा उठाइयो भन्ने दाबी गर्दै आउनु भएको छ । अहिलेको संविधानमा ती प्रश्नहरुमा चुक्यौं भन्ने उहाँको ठहर हो ।

तर आफैं संविधानमा हस्ताक्षर गर्ने अनि आफ्नोसमेत सहमतिमा संविधान जारी भइसकेपछि यस्ता कुरामा संविधान चुक्यो भनेर पार्टी, संसदबाट समेत बाहिरिने प्रबृत्ती त राम्रो भएन नि ?

यही प्रबृत्तीलाई नै त हामी नेपाली राजनीतिमा बाबुरामजीका रुपमा चिन्दै आएका छौं । उहाँले यस्तो निर्णय ठिक समयमा गर्नुभयो वा गलत समयमा गर्नुभयो भन्नेकुरा त इतिहासले देखाउला । तर पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ, त्यो बैठकमा आएर आफ्ना कुरा राखेको भए उहाँको पहिलादेखिकै संघर्षको निरन्तरता भनेर बुझ्न सकिन्थ्यो । उहाँले सार्वजनिक रुपमै सबै कुरा भनिसक्नु भयो । उहाँ कै भनाईलाई आधार मान्ने हो भने नयाँ समूह नेपालको राजनीतिमा थपियो ।

नेपालमा संविधान जारी भएपछि भारतले मधेसवादी दलको आन्दोलनकै समर्थनमा अघोषित रुपमा नाकाबन्दी गर्नु, सुरुदेखि नै भारत निकट भनेर चिनिदैं आएका डा. भट्टराईले राजीनामा दिनु एउटा संयोगमात्र हुन सक्छ ?

यो विषयमा चाहीँ म बोल्दिनँ । किनभने यस्ता कुराहरुको प्रमाण हुँदैन । कुनै पनि नेताले गर्ने काम, उनीहरुले लिने अडान आदिको आधारमा उनीहरुको मूल्यांकन हुने हो । समयमा डा. बाबुराम भट्टराईका बारेमा पनि त्यस्तो मूल्यांकन हुने नै छ ।

संविधान जारीपछि दलहरुका बीचमा जुन प्रकारका विवाद देखियो र भारतको असन्तुष्टि जसरी देखा पर्‍यो, त्यसले त एक प्रकारको तरंग फैलिएको छ नि । यही बेला भारतसँग निकट भनिएका डा. बाबुराम भट्टराईको राजीनामालाई कति स्वाभाविक मान्न सकिन्छ ?

एउटा बलियो छिमेकी मुलुक भारतले हामीलाई दबाब दिइरहेको अवस्थामा हामी जुन ठाउँमा उभिइरहेका छौं, हामी सबैको पाइला त्यही ठाउँमा हुनुपर्ने हो । माओवादी आन्दोलन पुरानो भयो, थोत्रो भयो भन्ने विश्लेषण डा. भट्टराईले गर्नु भयो, यो कुरामा मेरो पनि सहमति छ तर २० हजार मानिसको रगतमा स्नान गरेर आएको, लाखौं परिवार विघटन भएको छ । हजारौं बेपत्ता छन् भने लाखौं युवा विदेशीएका छन् ।

भट्टराईजीले त अब माओवादी पार्टीको आवश्यता नै छैन भनिसक्नु भयो नि ?

सजिलैसँग उहाँले भन्नु भएकै हो । एमाओवादीको यो हविगत हुनका निम्ति यो पार्टीले विगतमा लिएका नीति र यसको नेतृत्व शैली जिम्मेवार छ । यो स्थितीमा बाबुरामजी जस्तो नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मान्छेले त्यसको एउटा निर्मम समीक्षा गरेर अगाडी बढ्ने चेष्टा गर्नु पर्दथ्यो । तर उहाँ जसरी समीक्षा गर्नबाट जोगिन खोज्नु भयो, त्यसमा मेरो असहमति छ ।

जनयुद्ध एउटा सनकको भरमा गरिएको थियो, जनयुद्धपछिको योजना माओवादी नेतृत्वसँग थिएन भनियो भने सही हुन्छ वा गलत ?

त्यति सतही ढंगले विश्लेषण गर्न अहिले सकिदैंन । जनयुद्धका थुप्रै उपलब्धिहरु अहिले छन् । नेपालमा अहिले भएका परिवर्तनहरुमा जनयुद्धका डोबहरु देख्न सकिन्छ । त्यसैले यो आन्दोलनमा केवल नकारात्मक कुरामात्र थियो भन्न सकिदैंन । तर जब आन्दोलनलाई पार्टी बनाउने बेला आयो, त्यतिबेला नेताहरुको ल्याकत देखियो । हिजोका दिनमा आन्दोलन थियो तर त्यो आन्दोलनलाई पार्टीमा रुपान्तरण गर्ने, संगठित गर्ने सवालमा नेतृत्व असफल भएकै हो ।

आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवार खाडी मुलुकमा जानुपर्ने, संघर्ष गरेकाहरु पार्टीमा किनारा लाग्ने र जसका विरुद्ध आन्दोलन गरिएका थियो, उनीहरु नै पार्टीमा भित्रिएर हालीमुहाली गर्ने परिदृष्यले त कार्यकर्ता पंक्तिमा निराशा देखिन्छ नि ?

त्यही कुरा म भन्दैछु । केही कुरामा नेतृत्व चुकेको हो । रह्यो कुरा डा. भट्टराईको, उहाँ विना योजना कुनै कदम चाल्ने व्यक्ति होइन ।

नेपालमा अरु उद्योगधन्दा, कलकारखाना केही चलेको छैन तर राजनीतिक धन्दा राम्ररी नै चलेको छ । एउटा साइनबोर्ड झुण्ड्याएर अरु अक्षर नबुझ्ने गरी लेखे पनि पुछारमा ‘पार्टी’ लेखिएको छ भने त्यो चलेकै छ । तर त्यसले नेपालको अहिलेको दायित्वलाई सामना गर्न सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण कुरा हो ।

तपाइँ आफैं डा. भट्टराईप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?

म विश्वस्त भइदिएको भए त उहाँसँगै अहिले हुन्थेँ होला नि ।

त्यसो भए उहाँलाई विश्वास गर्ने आधार तपाइँसँग छैन ?

सबै प्रमुख नेताहरुलाई मेरो आग्रह छ, नीति र नेतृत्वको समीक्षा गर्ने कुराबाट उहाँहरु कोही पनि भाग्न पाउनु हुँदैन । समीक्षा गरेर अगाडी बढ्न जरुरी हुन्छ, समीक्षा नै नगरी कोही भाग्नु राम्रो होइन ।

केही अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाओवादी र एमालेबीच एकीकरण हुन सक्ने कुरा गर्नुभयो । अहिले बाबुराम भट्टराईले पार्टी परित्याग गर्दै अब माओवादीको औचित्य रहेन भन्नु भयो । यी दुई परिदृष्य संयोगमात्र हो कि, व्यवहारमा कुनै तारतम्य पनि छ ?

एमाओवादी र एमाले तत्कालै मिलेर एउटा पार्टी बन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । दुबै दलबीच राजनीतिक रुपमा निकै भिन्नता छ । एमालेमा एकथरीको स्वरमा सुनिन्छ कि ‘नेपालमा जनयुद्धको आवश्यकता नै थिएन, यो कतैबाट प्रायोजित थियो ।’ त्यो स्थितीमा जनयुद्ध गरेर आएको र जनयुद्धकै कारणले परिवर्तन सम्भव भयो भन्ने पार्टीसँग एमालेको एकता हुने कुरा म देख्दिनँ ।

तर राजनीतिमा असम्भव भन्ने हुँदैन पनि भनिन्छ नि, दुबै दल अलिअलि लचिलो भइदिए त एकतामा के गाह्रो होला र ?

यस्तै लचिलोपनले त पार्टीको यो हविगत भएको हो । पार्टीले सिद्धान्तमा सौदाबाजी गरेपछि टिक्न कठिन हुन्छ । जस्तो उदाहरणका निम्ति संसारभरी कम्यूनिस्ट आन्दोलनलाई, वर्ग संघर्षलाई प्रतिस्थापन गर्नका लागि अन्धजातिवादी कुरा ल्याइन्छ । अन्धजातिवादी कुराले कम्यूनिस्ट आन्दोलन चकनाचुर हुन्छ । माओवादी आन्दोलन जब तराईमा घनिभूत हुन थाल्यो, त्यो अवस्थामा थुप्रै जातीय पार्टी देखा पर्न थाले । ती जातीय पार्टीका अगुवाहरुलाई उनीहरुको विगत, उनीहरुको राजनीतिक पोजिशन नबुझीकन अँगालो मार्ने काम हाम्रा नेताहरुले गरे । त्यसको गम्भीर परिणामहरु हामी देखिरहेका छौं ।

अहिले भारतले गरेको अघोषित नाकाबन्दीलाई कसरी हेर्नुभएको छ ?

यसमा हाम्रो कुटनीतिक पहलमा केही कमी कमजोरी रहेको छ । तराई मधेसमा रहेका मैथिली, भोजपुरी भाषीलाई भारतले बेलाबखत आफ्नो नजिकको ठान्ने गर्दछ । भारतमा पनि हाम्रोजस्तै भाषा, संस्कृती भएका भारतीयको संख्या उल्लेख्य छ । यी दुई कुरालाई नेपालले पनि पहिला डिप्लोमेटिक कार्डको रुपमा प्रयोग गर्ने गर्दथ्यो । सन् ८० को दशकपछि नेपालले बाहिर रहेका आफ्ना भाषीहरुलाई बिर्सियो । तर भारतले चाहीँ बिर्सिएको रहेनछ । यतिबेला म मधेसका साथीभाईलाई भन्न चाहन्छु, तपाईहरु श्रीलंकालाई हेर्नुहोस् । श्रीलंकामा तमिल बिरुद्ध निर्णायक युद्ध हुँदा भारतले श्रीलंकाका तमिलको सवालमा मौनता साँध्यो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell