top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

एक योद्धाको अन्तिम शिविर  |  Published: October 18, 2015  |  आईतवार 1 कार्तिक, 2072  |  5:30 PM  |  Viewed: 1778 times

राजेश खनाल-
प्रा.डा. अञ्जनीकुमार शर्मा आज हुनुहुन्न । एक वर्ष अघि असोज २१ गते उहाँ बित्नु भयो । जिन्दगीभरि क्यान्सर रोगको निदान, रोकथाम, उपचारका लागि लाग्नुहुने मेरा मामा प्रा.डा. अञ्जनीकुमार शर्मालाई अन्ततः त्यही क्यान्सरले नै लगेको थियो ।

यतिखेर प्राडा शर्मा अर्थात मेरा मामा बित्नु भन्दा छ महिना अगाडिको एउटा प्रसंग सम्झना भइरहेछ मलाई ।

♦♦♦

२०७० सालको मध्य चैतमा चर्किएको चिल्चिलाउँदो घामले दिएको गर्मीको वास्ता नगरी राजधानीबाट गएका डाक्टर तथा नर्सहरुको एउटा ठूलो टोली बिरामी जाँच्न मग्न थियो । सिरहा, भलुवाही स्कुलको चौरमा हजारौं मानिसहरु चैते घाममा पसिना तर्क्याउँदै उभिएका थिए । स्वयम्सेवक युवाहरुलाई घाममा उभिएका बिरामीहरुको लाम मिलाउनै हम्मे–हम्मे परेको थियो । बिरामीको चाप बढ्दै गएपछि सुरक्षार्थ खटिएका प्रहरीहरुलाई पनि लाम व्यवस्थापन गर्न असिन– पसिन तुल्यायो ।

स्कुलका हरेक कोठाहरुमा काठमाडौंबाट गएका युवा चिकित्सकहरु बिरामी जाँच्दै थिए । बिरामी जाँच्दै गरेको एउटा कोठामा केही युवा डाक्टरहरुका माझमा एउटा बेन्चमा बसेर आफू नगिच आएका बिरामीहरुलाई जाँच्दै हुनुहुन्थ्यो नेपालकै पहिलो शल्यचिकित्सक प्रा.डा. अञ्जनीकुमार शर्मा । ८५ वर्षको उमेरमा पनि उहाँको उत्साह स्वास्थ्य शिविरमा गएका युवा शल्यचिकित्सकहरु प्रा.डा. सुनील शर्मा, डा. निरज सुबेदी, डा.अमितमणि उपाध्यायलगायतको भन्दा कम थिएन ।

आफू जन्मेको थातथलो, आफ्नो गाउँ–ठाउँ र आफैले सिर्जेका कतिपय भौतिक पूर्वाधारहरुका बीच बिरामी जाँच्दा एक किसिमको उर्जा अनि उत्साह डा. शर्माको अनुहारमा झल्किन्थ्यो । स्वास्थ्य शिविर हुनु केही महिना अगाडिदेखि अस्वस्थ भएका कारण शरीर कमजोर भएपनि उहाँको मन कमजोर भएको देखिएन । शिविरमा पनि उहाँको मन उत्तिकै बलियो र जाँगरिलो थियो, जस्तो वीर अस्पताल, टिचिङ्ग अस्पताललगायतका अस्पतालहरुमा काम गर्दाको बखत थियो ।

सँगै स्कुल माथि छतमा अर्का बरिष्ठ डाक्टर गौरीशंकर लाल दास बिरामी हेर्दै हुनुहुन्थ्यो । सिरहा जिल्लाबासी (लहान, इनरुवाका) डा. दास प्रा.डा. शर्मासँग निकट र आत्मीय अनि सिरहा समाज सेवाको सक्रिय सदस्य हुनु भएकोले पनि उहाँ भलुवाही स्वास्थ्य शिविरमा बरिष्ठ चिकित्सकका रुपमा समावेश हुनु भएको थियो ।

सिरहा बजारभन्दा पाँच किलोमिटर उत्तरमा पर्ने भलुवाहीमा संचालन भएको स्वास्थ्य शिविरका लागि चैत १४ गते बरिष्ठ चिकित्सकहरु प्रा.डा. शर्मा, डा. दाससहित २५ जना चिकित्साकर्मीहरुसँगै हामी करिब २५ जना काठमाडौंबाट भलुवाही पुगेका थियौं । समुह ठूलो भएकोले कोही राजमार्गको चहोर्वाको रेडक्रस अतिथि गृहमा बसे, त कोही सिरहाको रेडक्रस अतिथि गृहमा ।

चैत १५ गते जनता माध्यमिक विद्यालय, भलुवाहीको प्राङ्गणमा बिहानैदेखि भीड बढ्दो थियो । ८ बजे बिहानदेखि सुरु भएको त्यो स्वास्थ्य शिविर साँझ ५ बजेसम्म चल्यो । त्यस दिन राजधानीबाट गएका २२ जना चिकित्सकले करिब ३ हजार विरामीको स्वास्थ्य परीक्षण गरे । भोलीपल्ट पनि करिब आठ सय बिरामीको जाँच भयो, दिउँसो दुई बजेसम्ममा । त्यसमध्ये दुई वयोबृद्ध बरिष्ठ चिकित्सकहरुले करिब पाँच सयभन्दा बढी बिरामीको जाँच गरेका थिए । बयोबृद्ध बरिष्ठ चिकित्सकहरुको त्यो ‘युवा उपस्थिति’ले भलुवाही स्वास्थ्य शिविरमा गएका युवा डाक्टरहरुलाई आफ्नो कर्मक्षेत्रमा क्रियाशील रहन पक्कैपनि उत्प्रेरित गरेको हुनुपर्छ ।

शिविरको त्यो दुई दिन डाक्टर र नर्सहरुलाई एक सेकेन्ड फूर्सद मिलेन । मैथिली भाषा नबुझ्ने डाक्टरहरुलाई दोभाषेको रुपमा स्वयम्सेवकहरुले सहयोग गरिरहेका थिए । पछि औषधि वितरणमा भीड बढेकाले डाक्टर सुनील आफैं औषधि वितरण कक्षमा बसे । उनी कुनैबेला बिरामी जाँच्दै हुन्थे भने कुनै बेला औषधि कक्षमा पुग्थे । फार्मेसीमा काम गरेका केटाहरुलाई समेत औषधि वितरण फलामे च्युरा भएको तिनका अनुहारबाट झल्किन्थ्यो ।

किञ्चित थकान महसुस नगरिकन हजारौंको उपचारमा लागेका चिकित्सकहरुको त्यो कार्य सिंगो भलुवाही गाउँलाई अभिप्रेरित गर्ने खालको थियो । मामा त दङ्ग हुनुहुन्थ्यो नै, कहिले तराई नटेकेका डाक्टर र नर्सहरु पनि फुरुङ्ग थिए । बोट र लहरामै रहेको हरियो चना र केराउलाई परालको आगोमा पोलेर ‘ओरहा’को नौलो स्वाद पनि तिनले लिए ।

सिरहा समाज सेवा गुठी काठमाडौं, भलुवाही स्कुल र हनुमाननगर गाविसको संयुक्त आयोजनामा सम्पन्न यो स्वास्थ्य शिविरले सबैभन्दा उत्साही प्रा.डा. अञ्जनीकुमार शर्मालाई नै बनाएको थियो ।

♦♦♦

भदौरे एकदिन बिहानै मामा (प्रा.डा. अञ्जनीकुमार शर्मा)ले मलाई बोलाउनु भयो । त्यस दिनपनि अरु बेला जस्तै फोनमा ‘तुरुन्त आईहाल’ भन्नुभयो । फ्रेस भएर म मित्रपार्क हान्निए । उहाँ घरको कौशीमा नै हुनुहुन्थ्यो । कौशीको पश्चिम तर्फको झ्यालबाट टोले फूच्चा फूच्चीहरुलाई केही समय चकलेट बाँड्ने उहाँको बानी थियो । बितेको आठ–दस वर्षदेखि उहाँको लत नै त्यही भएको थियो, केटाकेटीलाई चकलेट बाँड्ने । त्यो दिन चकलेट बाँडीसक्नु भएको थियो सायद । कुर्सीमै आरामरत हुनुहुन्थ्यो ।

हतारिएर गएकोले पसिना पुछ्दै उहाँको अगाडि बसेँ । उहाँले अरु केही कुरा नगरी सिधै भन्नु भयो, ‘मंसिरको दोस्रो हप्ता भलुवाही जानु पर्छ । समय मिलाउँनु ।’ मैले ‘किन’ भनेर सोध्नु परेन । उहाँले नै भन्नु भयो, ‘भलुवाही स्कुलले हाम्रो सम्मानमा कार्यक्रम गर्दैछ । त्यो कार्यक्रममा म जानै पर्छ, माइजु र सुनीलसँगै तिमी पनि जाने ।’

♦♦♦

मामाघर हरेकका लागि प्यारो हुन्छ । के कारण ? भन्न सकिन्न । तर मामाघरको प्रसङ्ग अधिकांशले उठाउने गर्छन् । मेरो बाल्यकालको अधिकांश समय मामाघरमै बितेकोले मामाघर भलुवाहीसँगको आत्मियता र लगाव अचम्मकै थियो । पैतीस–चालीस वर्ष अगाडि पनि भलुवाही जाँदा म फुरुङ्ग पर्थेँ । यसपटक भलुवाही जानुपर्ने सुन्दा नै पनि मख्ख परेँ । तर भरखर भदौको आधा–आधी बितेको थियो । मंसिरको आधा आउन अझै तीन महिना बाँकी थियो । मनै त हो, त्यसपछि बेला बेलामा भलुवाही पुगिरहन्थ्यो । म त त्यति सारो पूर्वस्मृतिमा गोता लगाइरहेको थिएँ भने पछिल्लो केही वर्ष यता भलुवाहीमा घरै बनाएर जाडो छल्ने कुरा गरिरहनु हुने मामा मनमनै कति पटक भलुवाही पुग्नु भएको होला ? म अनुमान पनि गर्न सक्दिनँ ।

२०४० साल अगाडि प्रायः हरेक वर्ष दशैँका बखत भलुवाहीमा सानोतिनो ‘हेल्थ क्याम्प’ नै लाग्थ्यो । दशैंमा घर जाँदा मामा दस–पन्ध्र कार्टुन औषधि बोकेर पुग्नु हुन्थ्यो । ‘अञ्जु बाबु’ आउँदै छन् भनेपछि वरिपरिका सिरहा, माडर, पदमपुर, बेलहा, थलहा, लक्ष्मीपुर, विसनपुरमात्र नभइ महेन्द्र राजमार्ग छेउछाउका गाउँका बिरामीहरु समेत भलुवाही पुग्थे । त्यहाँ सम्हाली नसक्नुको घुँइचो लाग्ने गथ्र्याे । फूलपाती साँझमा भलुवाही पुग्नु भएका मामा अष्टमी र नवमीका दिन घरमै आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरी औषधि दिनुहुन्थ्यो । कहिलेकाहीँ त ‘म्यान्टुल’ बालेर ‘गोहाली’ (गोठ) मा राती पनि बिरामी जाँचेको मैले देखेको छुँ । यसरी विरामी जाँच्दा अपरेशन वा थप उपचार गर्नुपर्नेलाई वीर अस्पतालमा बोलाउनु हुन्थ्यो । दशमीको दिन पनि टिका लगाइसकेपछिको समय बिरामीको लागि नै उहाँले खर्चनु हुन्थ्यो ।

त्यो दुई तीन दिनमा करिब सात–आठ सय बिरामी जाँच्नुहुन्थ्यो मामा । बिहान चिया पिएदेखि फूर्सद भनेको खाना, नास्ता र शौचको समयमा मात्रै हो । बाबा थेगो हाल्दै भन्नु हुन्थ्यो, ‘सियाँमा लाने, छोरासँग बरु नेपाल (काठमाडौं)मै कुराकानी हुन्थ्यो । यहाँ त भेट्नै समेत गाह्रो भो ।’

एक वर्ष होइन, दुई वर्ष होइन, तीसौं वर्षसम्म यो मिनी हेल्थ क्याम्पलाई उहाँले निरन्तरता दिनु भयो ।

२०४० सालमा बाबा बित्नु भएपछि दशैं मित्रपार्कमा सर्‍यो । त्यस उप्रान्त भलुवाहीमा हुने त्यो ‘दशैं मिनि हेल्थ क्याम्प’ पनि हुनछाड्यो । तर, दशैं नभएनि गाउँको ब्रह्मथान ‘डिहवारनी माता’को दर्शन गर्न भने हरेक वर्ष कम्तीमा एकपटक भलुवाही पुग्नु नै हुन्थ्यो, मामा ।

♦♦♦

७० सालको मंसिर १५ मामा पर्खिरहनु भएको थियो । म पनि पर्खिरहेको थिएँ । अरुहरु पनि पर्खिरहेका थिए । तर मंसिर १५ नआउँदै मामालाई सन्चो भएन । प्रारम्भिक जाँच गर्दा पिसाब नलीको तल्लो भागको क्यान्सर भएको पत्तो लागेको थियो । अनि थप उपचारका लागि दिदी र दाजुहरुले उहाँलाई दिल्ली लानु भयो । करिब पन्ध्र–बीस दिनको उपचार प्रकृयापछि मामाहरु काठमाडौं फर्कनु भयो ।

दिल्लीबाट फर्किएको केही दिनपछि मामाकहाँ पुग्दा पनि मामा सधैंझैं बाहिर कौशीमै बसीरहनु भएको थियो । अपरेशन गरेको जिउ कमजोर त थियो, तर उहाँको इच्छाशक्ति कमजोर थिएन । त्यसबेला पनि उहाँ मसँग भन्दै हुनुहुन्थ्यो ‘अब चैतमा भलुवाही जानुपर्छ राजेश ।’

जसका विरुद्ध आफू जिन्दगीभरि लड्नु भयो, क्यान्सरको निदान र उपचारलाई नै आफ्नो कार्यक्षेत्र बनाउनु भयो, आम मानिसको क्यान्सर उपचारकै लागि जागरण अभियान चलाउनु भयो, चुरोटमा उपचार कर लगाउने र सार्वजनिक स्थानमा धुमपान निषेधका लागि पहल गरि कार्यान्वयन गराउनु भयो । र पछिल्लो समयमा हरेक विकास क्षेत्रमा क्यान्सर डाइग्नोष्टिक सेन्टरको स्थापना गर्ने विषयलाई उहाँले उठाउँदै आउनु भएको थियो, ७० सालको मध्यतिर त्यही क्यान्सर रोगबाट उहाँ आफै पीडित हुनुभयो । आश्चर्य त के थियो भने आफूलाई क्यान्सर भएको जान्दा जान्दै पनि आफु जन्मेको गाउँ भलुवाहीमा गएर हेल्थ क्याम्प गर्ने मनस्थिति बनाउनु भएको थियो ।

सायद दह्रो आत्मविश्वास भनेको यही हो ।

बितेको तीस–बत्तीस वर्ष देखि उहाँले भलुवाहीमा त्यस्ता हेल्थ क्याम्पहरु गर्न सक्नु भएको थिएन । उहाँको इच्छा थियो, आफ्नो जन्म थलो भलुवाहीमा हेल्थ क्याम्पहरु गरिरहने । तर त्यो हुन सकिरहेको थिएन ।

♦♦♦

७० सालको चैत १६ गते दिउँसो भलुवाही स्कुल परिसरमा सम्पन्न सम्मान कार्यक्रममा ठूलो जमघट थियो । केटाकेटी छँँदा धुलो माटो खेलेको आफ्नो पुर्ख्यौली थलो पुगेका प्रा.डा.सुनील शर्माले शल्यक्रिया गर्नुपर्ने देखिएका १६ जना बिरामीहरुलाई नेपाल मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया गर्न बोलाएको बताए ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।’ सर्वदा स्वर्गझैं लाग्ने आफ्नो जन्मभूमिमा आयोजित आफूलाई गरिएको सम्मान कार्यक्रममा सम्बोधन गर्दा प्रा.डा. अञ्जनीकुमार शर्मा भावुक हुनुभयो । उहाँलाई थाहा थियो, जीवनको ‘काउन्ट डाउन’ सुरु भइसकेको छ र आफ्नै थातथलोमा आयोजित यो स्वास्थ्य शिविर सम्भवतः अन्तिम पटक गर्दैछु भन्ने । त्यसैले पनि होला, सम्वोधन गर्दा उहाँको गला अवरुद्ध भयो ।

आफ्नै घर आँगनको स्कुलमा आयोजित स्वास्थ्य शिविरमा बिरामीको उपचार गर्न पाउँदा डाक्टर मामाको अनुहारमा गजबको उज्यालो छाएको थियो । उहाँ सन्तुष्ट हुनुहुन्थ्यो, तीस–बत्तीस वर्षपछि नै भएपनि आफ्नो जन्मस्थान र वरपरका गाउँका बिरामीहरुको उपचार गर्न पाएकोमा ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell