top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

महाकवि देवकोटाको एक सय सातौं जन्मजयन्ती विश्वभर मनाइदैं  |  Published: November 11, 2015  |  बुद्धबार 25 कार्तिक, 2072  |  7:22 AM  |  Viewed: 1502 times

काठमाडौं, कार्तिक २५ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौं जन्मजयन्ती बुधबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

विक्रम संवत १९६६ साल कार्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा उनको जन्म भएको थियो ।

१० वर्षको कलिलो उमेरदेखि नै कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारीता झल्कन्छ ।

भारतीय विद्वान राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रुपसँग तुलना गरेका थिए ।

यस्तै नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल र पागल कवितासँग तीन पटक जन्मेको टिप्पणी गरेका थिए ।

विक्रम संवत २०१६ सालमा शिक्षामन्त्री हुँदा देवकोटाले नेपालभर नेपाली भाषालाई अनिवार्य पठनपाठन गराउने व्यवस्था गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा योगदान दिएका थिए ।

त्रिभुवन विश्वविद्यालय स्थापना गर्न पनि उनको महत्वपूर्ण योगदान छ । नेपाली साहित्य भण्डारमा अतुलनीय योगदान दिएका देवकोटाले आफ्नो जिन्दगीभर भने चरम आर्थिक अभाव व्यहोर्नु परेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell