top
ImageKhabar
मंगलवार, 13 जेष्ठ, 2077 Tuesday, May 26, 2020

ImageKhabar Archive

संगीतप्रेमीलाई थिरजको ‘निमन्त्रणा’  |  Published: December 2, 2015  |  बुद्धबार 16 मंसिर, 2072  |  9:44 AM  |  Viewed: 485 times

काठमाडौं, मंसिर १६ । गायक थिरज राई आफ्नो तेस्रो गीति एल्बम ‘निमन्त्रणा’ लिएर दर्शक/श्रोतामाझ आएका छन् । ‘अघि–पछि’ २०६४ र ‘कलियुग’ २०६८ गरी २ एल्बम प्रकाशन गरिसकेका सुुगम संगीतका साधक राईको हालै ‘निमन्त्रणा’ बजारमा आएको हो ।

उत्पादक तथा बजार व्यवस्थापक डीआर म्युजिक सेन्टर रहेको यस एल्बममा ६ वटा गीत सुन्न सकिन्छ । ‘गाँजलु आँखाले सानी’, ‘दासी बनेर जिउने रहर’, ‘तिम्रो मायामा बाँचेको’ ‘यो मन सधैं’, ‘मरे पनि हुने’ र ‘आकाश कहाँ छ’ बोलका गीत ‘निमन्त्रणा’मा समेटिएका छन् । गणेश चौधरी, सचित राई, डीआर, सुमिक र प्रेम रिबुसाल राईका शब्द रचनामध्ये २ वटामा गणेश चौधरी अनि बाँकी गीतमा गायकले नै संगीत भरेका छन् ।

‘गाँजलु आँखाले सानी’ गीतको भिजुअल युट्युबमार्फत सार्वजनिक गरिसकेको गायकले जानकारी दिए । ‘यो भिजुअललाई दर्शकले मन पराइदिनुभएको छ,’ उनले भने, ‘अब दासी बनेर जिउने रहर बोलको गीतको भिजुअल चाँडै दर्शकसामु ल्याउनेछु ।

डेढ दशकअघि इलामको लक्ष्मीपुर गाविसबाट आएर राजधानीमा सांगीतिक क्षेत्रमा क्रियाशील उनको पहिलो एल्बमका ‘यता टाले उता फाट्छ, उता टाले यता फाट्छ’, ‘लाहुरेको जिन्दगी’, ‘यो डाँडाले उनको गाउँ’, दोस्रो एल्बमका ‘कलियुग हो कलियुग’, ‘तिम्ले दे’को विश्वासमा’लगायत गीत दर्शक÷श्रोताले मन पराएका थिए ।

सामाजिक यथार्थवादी गीतलाई महत्व दिई सांगीतिक क्षेत्रमा पाइला चालेका उनले यसपटक ‘प्याटर्न केही चेन्ज’ गरेको खुलाए । ‘मैले आफ्नो तेस्रो एल्बममा लोकआधुनिक, गजललगायत सुगम संगीत फ्लेभरकै गीत समेटेको छु,’ उनले भने, “यसपटक सामाजिक यथार्थवादी गीतलाई केही पछि राखेर अलिक फरक ढंगले आएको छु । गीत सुने÷हेरेपछि श्रोताले थाहा पाउनुहुनेछ ।’

२०६९ जेठमा राजधानीमा एकल प्रस्तुतिसमेत दिइसकेका उनले ६ दर्जनभन्दा बढी गीतमा स्वर, ३ सयजति भजन र सयभन्दा बढी आधुनिक गीतमा संगीत दिइसकेका छन् । व्यापारका दृष्टिले ठप्पप्रायः रहे पनि सांगीतिक क्षेत्रलाई नै निरन्तता दिँदै आएका उनले भने, ‘सांगीतिक क्षेत्रको उतारचढावको वर्तमान अवस्थामा पनि दर्शक/श्रोताले माया गरिरहनुभएको छ । उहाँहरूको मायाले गर्दा गीतसंगीतमा लागिरहन हौसला बढेको छ ।’

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell