top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

सरकारी कामकाजमा विद्युतीय हस्ताक्षर सञ्चालनमा  |  Published: December 2, 2015  |  बुद्धबार 16 मंसिर, 2072  |  11:52 AM  |  Viewed: 812 times

काठमाडौं, मंसिर १६ । सरकारले आजदेखि सरकारी कामकाजमा विद्युतीय हस्ताक्षर सञ्चालनमा ल्याएको छ । शितल  निवासमा आज गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय हस्ताक्षरको शुभारम्भ गरिन ।

विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम कारबाही विद्युतीय हस्ताक्षरका माध्यमबाट हुनेछ । विद्युतीय हस्ताक्षरअनुसार काम गर्दा काम कारबाही सुरक्षित, विश्वसनीय र आधिकारिक हुने बताइएको छ ।

विद्युतीय हस्ताक्षर लागू भएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाउने विश्वास सरकारको छ । विद्युतीय हस्ताक्षरको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सूचना र प्रविधिको क्षेत्रमा विद्युतीय हस्ताक्षर प्रविधिको नयाँ आयाम भएको भन्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।

उनले विद्युतीय हस्ताक्षर सुशासन कार्यान्वयनमा ल्याउने सरकारको लक्ष्य सकारात्मक भएको भन्दै यसलाई देशव्यापी बनाउन सुझाव दिइन । विद्युतीय कारोवार ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग गरेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै विद्युतीय हस्ताक्षरले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले विद्युतीय कारोवारलाई सुरक्षित र भरपर्दो बनाउन विद्युतीय हस्ताक्षर अभियान सफल हुने विश्वास व्यक्त गरे । विद्युतीय हस्ताक्षरको प्रयोगले सरकारी निकाय, व्यवसायिक संस्था र सर्वसाधारणका काम व्यवस्थित हुने र सबैलाई प्रत्यक्ष फाइदा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमाणीकरण नियन्त्रणको कार्यालयले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई विद्युतीय हस्ताक्षर टोकन प्रदान गरेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell