top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

ओली सरकार जनतालाई बाटो देखाईदेउ  |  Published: December 6, 2015  |  आईतवार 20 मंसिर, 2072  |  1:59 PM  |  Viewed: 924 times

-होमप्रसाद लम्साल ।

अभिभावक जतिसुकै तन्नम् भएपनि छोराछोरीले उनैसंग आफ्ना गुनासाहरु पोख्ने हुन् । अभिभावक कति हैसियतवाला छ, भन्ने थाहा हुँदाहुँदै पनि खोजखाज गरेर भएपनि सन्तानको माग पुरा गराउनु अभिभावकको पहिलो कर्तव्य नै हो । त्यसैले जनअपेक्षा सरकारप्रति हुन्छ नै । हो त्यहि जनअपेक्षा सबैको सायद एउटै होला यतिखेर ओली सरकारप्रति । जनताले विकास निर्माणका कुरा माग्न छाडेको धेरै भयो, किनकी यी नेताहरुको चरित्रबाट नेपालमा विकास निर्माण संभव छैन् ।

जब नागरिकले सुखशान्तिसंग बस्न थाल्दछन् अनि त्यतिखेर सुविधा चाहिन्छ । अनिमात्रै विकास निर्माण आवश्यक पर्ने हो । त्यसैले विकास निर्माणका कुरा माग्न छाडेका हुन् । यतिखेर नेपाली जनताको माग भनेको न्यूनतम दैनिक जनजीवनलाई सरलीकृत गरीदेऊ । जनताका न्यूनतम उपभोग्यवस्तुमा सुविधा देऊ भन्ने मात्र हो माग । दैनिक चुलो बाल्न सकेका छैनन् र कसरी बाँच्ने भन्ने अवस्था आउनथालेको छ, यतिखेर ।

भारतले नेपालमा नाकाबन्दी गरेको कुरा जनता जानकार छन् । जनताले नबुझेको कुरा के हो, भने पैसा र पहुँचहुनेले जहाँबाट पनि जे पनि पाउने, अरुले नपाउने यो कस्तो शासन प्रणाली हो ? नयाँ सविधानमा यस्ता कुरा त सायद कहि कतै लेखिएको छैन होला । नयाँ सविधान जारी भएको दुई दिन पछिबाट सुरु भएको यो नाकाबन्दीको मारले जनता चुल्लो फेर्न बाध्यभएका छन । पकाएर खानेकुरा पेटभरी खान छाडेका छन । कारण कहिले चाईनाबाट तेल आउँछ भन्ने कहिले दाउरा दिन्छु भन्दै नाटकीय काम गर्न थालेपछि ओली सरकारको हैसियत प्रष्ट भएको छ । चीनबाट ल्याउछु भन्ने तर किन आवश्यक मात्रामा नल्याएको त्यसको जवाफ जनतालाई चाहिएको छ ।

अनि भारतीय पक्षलाई जो हाम्रो छिमेकी हुन यसले यतिखेर आफ्ना केहि भित्रि आकांक्षा राखेको हुन सक्ने देखिन्छ । त्यो हो भने कि उसको माग पुरा गरेर आपूर्ति व्यवस्था सुरु हुनु पर्यो होईन भने वैकल्पीक बाटो रोज्नु पर्दछ । वैकल्पीक बाटो पनि नरोज्ने भारतसंग पनि कुटनीतिक समाधान भन्दा पनि निहुँखोजी रहने प्रवृतिले जनता कति दिन सम्म दुःखपाई रहने । सरकारले भन्नु पर्यो कि यति दिन पछि यस्तो खालको समाधान हुन्छ । कुनै निश्चितता छैन कि यति दिनपछि समस्याको समाधान हुन्छ । समाधानका कुनै उपाय पनि अवलम्बन नगर्ने अनि समाधान पनि नखोज्ने हो भने यो सरकार के का लागि हो ? न त कुनै कुटनीतिक समाधन खोज्दछ , के के न गरौला भनेर निहुँमात्रै खोज्दा जनताले कति दिनपर्खने । जनताको धैर्यको बाँध छुट्न लागी सक्यो । त्यतिखेर अकल्पनीय अवस्थाआउन सक्दछ ।

अर्को कुरा मधेसी मोर्चाले जुन खेतालाको हैसियत देखाएर आफ्नै मुलुकमाथि नाकाबन्दी गराउन सहयोग गरी रहेको छ, त्यो संसारमा नै कही नभएको परिभाषामा छैन होला त्यस्ता जनता । मुलुकमा जनताभोकभोकै मर्दा रगत बगिरँदा खुसियाली मनाउने कस्ता नेता हुन ? महत्वपूर्ण कुरा त मधेशको समस्याको राजनीतिक समाधान खोज्नु पर्दछ । जव कि मधेसीलाई दोषमात्रै दिएर पनि हुँदैन । आखिर मधेशका केहि नेता खराबह होलान्, तर जनताले दुःख त पाउनु भएन नि ।

प्रदेश निर्माणका क्रममा केहि कतै त्रुटि भएकै छ । प्रदेश विभाजन कुनै नेतालाई स्थापित गराउने वा मुख्यमन्त्री निश्चित गराउनका लागि हुनुहुँदैन । भागबण्डामा बसेका केहि दलले भन्दैमा सबै कुरा हुने केहिले भनेको सुन्दै नसुन्ने भन्ने हुँदैन । आजको मधेश समस्याको चुरो त्यहि हो । हिजो २०५२ मा माओवादीले बुझाएको ३९ बुँदेलाई वेवास्ता गर्दा खर्वौको क्षती भयो र हजारौले ज्यानगुमाए भने फेरी कतै हामी यहिलाई कारण बनाएर जातीय वा वर्गीय युद्धतर्फ मुलुक लैजान उद्यतभएका त छैनौ ।

आन्दोलनको सुरुवाती चरण यस्तै हुन्छ जव बढ्दै जान्छ अनि त्यसका दायरा र मागहरु प्नि बढ्दै जान्छन ।यतिखेर मुलुकको अवस्था हेर्ने हो भने हामी असफल राज्यमा दरिएको अवस्था छ । त्यसैगरी अर्को महत्वपूर्ण कुरा यतिखेर जनताले भोगेको समस्यामा कतै केहि पार्टीले पिठ्यू फर्काएर सरकारको मुखताके को हो कि जस्तो पनि जनताले बुझ्न थालेका छन् । यदि त्यसो हो भने त्यसतर्फ पनि नगारिकप्रतिको दायित्व निर्वाह नगर्दा त्यसले भोलीका दिनमा नोक्सानी पुर्याउन सक्दछ ।

ढिलो छिटो नाकाबन्दीको राजनीतिक समाधान निस्केला । तर विभिन्न कालखण्डमा प्राकृतिक वा कृतिम समस्याका कारण जनताको चलायमान अवस्था नेपालको सन्र्दभमा यतिखेर वास्तवमा नै हेर्न लायक छ । जव मुलुक अस्थिर हुन थाल्दछ यस्तो वेला जनताले सुरक्षाको अनुभुति हुने स्थान खोज्न थाल्छन् । हिजोका दिन काम गर्न सजिलो समथर पहिरो डर छैन भन्दै पहाडीयहरु मधेस झरे । बाढीको कहीकतै दुःखबाहेक राम्रै रह्यो । जव मधेश आन्दोलन हुनपुग्यो त्यसको प्रभावले हजारौले मधेश छाडेर पहाडी भागमा बसाई सरे । आफ्नो काम गरेर शान्तसंग बस्न चाहनेहरु जाहाँ सहज ठान्छन त्यहि जान्छन नै । त्यो विश्वमा हुने बसाई सराईको मुल मन्त्र हो ।

गत बैशाखमा शक्तिशाली भुकम्प आयो । त्यसले समथर भन्दा बढी पहाडी क्षेत्रमा असर पार्यो । त्यस पछि त्यहि वर्गका मानिस फेरी पहाड भन्दा त समथर भाग नै ठीक रहेछ भन्दै सुरक्षित स्थान रोज्न थाले । त्यसको चक्कर चल्दै थियो यतिखेर नाकाबन्दीले पेटोलियम पदार्थ नपाएको बेला उनै जनता फेरी अर्को सुरक्षित स्थानखोज्न थालेका छन । केहि पहाडी बस्ती तर पनि नाकाबन्दी जस्ता समान्य अवस्थामा दुःख नपाईयोस । हो आज हामी र हाम्रो यति सानो देशमा संघीयता नै नभएको राम्रो थियो तर भए पनि हिमाल पहाड तराई मिलाएर बनाउनु पर्दछ भन्ने मुख्य कारणहरु यतिखेर पनि मेल खान्छ । नेपालको लागि संघीयता हुनु भन्दा नहुनु राम्रो छ तर चाहिएकै हो भने हिमाल पहाड तराई भएको संघीयता चाहिन्छ । जनसख्या चलायमान हुन्छ तर देशको परिस्थिति अनुसार चलायमान हुनसक्ने नागरिक कति छन् । अब सबै परिस्थिति बुझेर उनै जनता भन्न थालेका छन् हामी कहाँ जाँऊ सरकार ।

संसारमा नै निकै बस्ती र भुगोल वा वातावरणीय हिसावले निकै राम्रो हाम्रो देश आज जलिरहेछ । त्यहि रापमा जनतामात्रै पिल्सिएका छन् । कोही आगो ताप्नेहरु तेल हाल्दैछन त कोही आगो निभाउने कोसिस गरेजस्तो गर्दैछन । यहि अवस्थामा जनताले कसरी आफ्नो निर्वाह गर्लान ? गतिलो राजनेतान हुँदाको परिणाम आज हामी भोग्दैछौं । अन्त्यमा यस्तै अवस्थाबाट कति दिन टार्ने जनताको न्यूनतम् आपूर्ति पुरा गर्न नसक्ने यो सरकारले कि राजीनामा दिनु पर्यो । यतिखेर जनताले बनाएको संविधानको बहस पार्टी, पौवा, चौतारीमा हुनुपर्ने बेला यस्तो हालतमा हामी छौं । राजनीतिक समाधानका लागि दलहरु एकजुट भएर समस्या निराकरण गर्नु पर्दछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell