top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

धुर्मुस–सुन्तलीको सरसफाइ देश - दौडाहा  |  Published: December 8, 2015  |  मंगलवार 22 मंसिर, 2072  |  1:33 PM  |  Viewed: 1462 times

सिन्धुपाल्चोक,  मंसिर २२ । लोकप्रिय कलाकार तथा नेपाल सरकारका सरसफाइदूत सीताराम कट्टेल (धुर्मस) र कुन्जना घिमिरे (सुन्तली) ले पछिल्ला दुई दिन सिन्धुपाल्चोकका गाउँ, सहर सरसफाईमा बिताए ।

वैशाख १२ को भूकम्पपछि सरसफाईको अवस्था शून्यमा पुगेको सिन्धुपाल्चोकमा धुर्मुस–सुन्तली सरसफाई अभियान लिएर आएका उनीहरुलाई हजारौं स्थानीयले साथ दिए । नेपाल टेलिभिजनबाट प्रशारण हुने मेरी बास्यै हाँस्य टेलीश्रृंखलामा विभिन्न भूमिकामा देखा पर्ने प्रिय कलाकार आफ्नौ घर–आँगनमा देखेर दंग बजार तथा गाउँवासी हात–हातमा कुच्चो, साबेल, पिक बोकेर सरसफाईमा निस्किए ।

शनिबार बिहान मात्र धुर्मुस–सुन्तली अगुवाईमा सदरमुकाम चौतारामा बृहत सरसफाई अभियान चलाइयो । बजारवासी, सेना, प्रहरी, सरकारी कार्यालयका अधिकारी, कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक अगुवासहित सयौं अभियन्ता सरसफाई निस्किए । चौताराको बसपार्कदेखि टुँडिखेलसम्मको दुई किमी बजार क्षेत्र धुर्मुस–सुन्तली अगुवाईमा सरसफाई भयो । सरसफाईबाट झण्डै तीन ट्रक फोहोर मैला व्यवस्थापन भयो । धुर्मुस–सुन्तलीले सरसफाईमा निस्कन बजारवासीलाई हातै समाएर आग्रह गरेका थिए ।

‘सामाजिक काममा यति ठूलो मास अन्यत्र देखेको थिईन,’ सरसफाईमा सहभागी जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अरुण सिम्खडाले भने । सरसफाईपछि टुँडिखेलमा धुर्मुस–सुन्तलीले चेतनामूलक हाँस्यव्यंग प्रस्तुती देखाए । सीताराम (धुर्मुस)ले उपस्थित सयौंलाई ‘आफ्ना बालबालिकाको अनिवार्य जन्म दर्ता गर्छौ’ र ‘सरसफाईमा सँधै ध्यान दिन्छौं’ भनी बाचा गराएका थिए । सरसफाईको साथमा उनीहरुले जन्मदर्ता अभियान समेत ल्याएका थिए ।

बिहीबार जिल्ला आइपुगेका धुर्मुस–सुन्तलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, स्थानीय विकास अधिकारी कृष्ण शाही, खानेपानी तथा सरसफाई डिभिजन प्रमुख सिम्खडा, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायसँग जिल्लामा जन्मदर्ता र सरसफाईको अवस्थाबारे जानकारी लिँदै छलफल गरेका थिए । त्यसपछि उनीहरुले कुन्चोक गाविस पुगेर कुन्चोक माविमा चेतनामूलक प्रस्तुती देखाए । धुर्मुस–सुन्तलीले स्थानीय जौडाँडाको दलितबस्ती पुगेर सरसफाई गरे । सयौं स्थानीयले उनीहरुलाई साथ दिएपछि १० थुन्से फोहोर, मैला संकलन हुन केही बेरै लागेन । स्थानीयले आफ्नो घर, गाउँ सँधै सफा राख्ने बाचा कलाकारद्धयसँग बाचा गरे ।
    भूकम्पलगत्तै धुर्मुस–सुन्तली सरसफाई अभियान लिएर सिन्धुपाल्चोक आइपुगेका थिए । त्यतिबेला पीपलडाँडाको दलित बस्तीमा १० शौचालय बनाएका उनीहरु राहत बाँड्न कुन्चोकसमेत पुगेका थिए । सिन्धुपाल्चोकमा सन् २०१३ बाट सरसफाइ अभियान सञ्चालित छ । अभियान अन्तर्गत जिल्लाका ७९ मध्ये ६७ गाविस खुला दिसामूक्त घोषणा भइसकेका बेला विनासकारी भूकम्प गएको थियो । वैशाखभित्रै सिन्धुपाल्चोकलाई खुला दिसामूक्त जिल्ला घोषणा गर्ने तयारी भइरहँदा गएको भूकम्पले ७० प्रतिशत शौचालय भत्काएको छ ।

सन् २०१६ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामूक्त जिल्ला घोषणा गर्ने अर्को लक्ष्य निर्धारण गरिएको छ । ‘यो लक्ष्य हाँसिल गर्न हामी सकेको सहयोग जारी राख्छौं,’ धुर्मुस–सुन्तलीले एक स्वरमा भने । रामेछापबाट सरसफाई अभियान लिएर धुर्मुस–सुन्तली जोडी देश दौडाहामा निस्किएको हो । सरसफाई दूत सीताराम (धुर्मस) थप्छन्, ‘यो अभियान लिएर हामी सबै जिल्लामा पुग्दैछौं ।’ सरसफाईको क्षेत्रमा योगदान पु¥याए बापत जिल्ला सरसफाई, स्वच्छता तथा समन्वय समितिको तर्फबाट प्रजिअ गिरीले धुर्मुस–सुन्तलीलाई सम्मानसमेत गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell