top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

समयको पदचापलाई बेवास्ता गर्नेको हालत के हुन्छ ?  |  Published: December 10, 2015  |  बिहीवार 24 मंसिर, 2072  |  1:11 PM  |  Viewed: 860 times

हरिविनोद अधिकारी-
संविधानसभाबाट नेपालको संविधान घोषणासँगै हाम्रो राजनीतिक संक्रमणकाल दिनानुदिन अरु जटिलतातर्फ उन्मुख देखिन्छ । यदि अहिले देखिएको समस्या भारतसँगै मात्र होइन कि, आन्तरिक रुपमा मधेससँगमात्रै पनि नभई समावेशिता र जातजातिकाबीचमा समेत देखिएको छ । हिजोका दिनमा जातीय राज्यको ललिपप चटाएर जनयुद्धका लागि सिपाही बटुलेको जस्तो अहिलेको अवस्था छैन । त्यसैले भारतसँगको मात्र कुरा होइन, चीनसँगको मात्र कुरा होइन कि हाम्रै आन्तरिक समस्यालाई समेत बेलैमा उचित समाधान खोजिएन भने परिणाम अचिन्त्य पनि हुनसक्छ । मुलुकको अखण्डतामा समेत आँच आउन सक्छ र विदेशीको चलखेल अझ बढी हुनसक्छ, जसले हाम्रोमात्र होइन छिमेकीसमेतको सुरक्षामा गम्भीर संकट पैदा हुनसक्छ ।

आजको प्रश्न भनेको लोकतन्त्रको स्थायित्वसँग सम्बन्धित छ । कुरो कसले कसरी कोमार्फत कस्तो र कहाँ, मन्त्री या संवैधानिक अङ्गमा नियुक्ति पायो भन्ने भन्दा पनि लोकतान्त्रिक मर्यादाभित्र लोकतन्त्रलाई सम्मानका साथ प्रबर्द्धन गरियो कि गरिएन, सम्बर्द्धन गरियो कि गरिएन, त्यसलाई हेर्नुपर्ने हुन्छ । आजको खिचडी सरकारले लोकतन्त्रका गहकिला मर्मलाई आत्मसात गरेको छ कि छैन भन्ने पनि हो । सिद्धान्तविहीनतालाई लोकतन्त्रले कहिले पनि सम्झौता गर्दैन जबकि सम्झौता नै लोकतन्त्रको गहना हो, आवश्यक तत्व हो । अत्यन्त संवेदनशील तर विधिको शासन व्यवस्था हो जसमा पारदर्शिताको ज्यादै ठूलो महत्व हुन्छ । लोकतन्त्रमा कोही ठूलो वा सानो हुँदैन तर सबैको स्थान विधिले निर्धारण गरेको हुन्छ । राजाको छोरोलाई राजा हुनबाट वञ्चित गरेर एउटा किसानको छोरो वा छोरीलाई राज्यको प्रमुख बनाउने विधिले मात्र हो, बलले वा विधि मिच्याइँले होइन ।

अहिलेको नेपालको राजनीतिक अवस्थालाई मिहिन तरिकाले मूल्याङ्कन गर्नु जरुरी छ । विश्वका धेरै देशहरुमा आजको लोकतन्त्रको सुसंस्कृत अवस्थासम्म आइपुग्न र मुलुकको भौतिक विकासको लामो इतिहास निर्माणका क्रममा धेरै घटना घटेका पाइन्छन् । ती घटना नेपालमा नघटून् । तर इतिहास आफैँ दोहोरिँदैन, दोहोरिन वातावरण बन्दै जाँदो रहेछ । सत्तामा पुग्नेहरु वा नीति निर्धारणको मेचमा बस्ने मान्छे भूपि शेरचनले भने जस्तै घुम्ने मेचमाथिको अन्धो मान्छे वा नीति निर्धारणमा बस्ने मान्छे प्रज्ञाविहीनताको दृष्टिहीन, विवेकहीन हुने रहेछ । जनताले त्यस्को कसरी लेखा जोखा राख्छन् भन्ने कुरा निकट अतीतको कम्पुचियालाई लिन सकिन्छ र केही टाढा अतीतको नाजीको कुकर्मको परिणामलाई लिन सकिन्छ । नेपाल नै पनि त्यसको ज्वलन्त साक्षी बनेको छ विश्व राजनीतिक मञ्चमा ।

हामी समाज रूपान्तरणको यस्तो कालखण्डमा छौं कि हामीले जे–जेलाई रूपान्तरण भन्ने गर्छौं, त्यसको तर्कपूर्ण उत्तर हाम्रो समाज, हाम्रो नागरिक समाज, विश्व समाज र कानुनी समाजलाई दिनुपर्दछ । अहिले भर्खरको कुरा हो, दुई महिना पनि बितेको छैन, हामीले जटिल बनाएको राजनीतिक समस्या समाधानका लागि यताउता भौतारिई रहेका छौं, कहिले दिल्ली, कहिले सिँहदरबार त कहिले बालुवाटार तर अझै भरपर्दोरुपमा देशको निकास निकाल्न सकेका छैनौँ । हिजोमात्र दोस्रो संविधानसभाको निर्वाचनका लागि प्रधान न्यायाधीश र भूतपूर्व विशिष्ट प्रशासकहरुलाई गुहारेका थियौँ निष्पक्ष निर्वाचनका लागि र सरकारको जिम्मा लगाएका थियौँ । हाम्रा महत्वाकांक्षाहरु उहाँहरुमार्फत पूरा गरायौँ तर एउटा शक्ति पृथकीकरणको लोकतान्त्रिक मूल्यलाई गम्भीर प्रश्न खडा गर्‍यौँ । फेरि अहिले पनि नाकाबन्दीको जटिलताभित्र अरु जटिलता कूटनीतिक अपरिपक्वता दिनानुदिन थप्दैँछौँ ।

२०४६साल चैत्र २६ गते राती ११ बजे प्राप्त प्रजातन्त्रको विपक्षमा २०५२ साल फागुन १ मा यत्ति ठूलो मूल्याङ्कन गर्‍यौँ कि त्यसलाई अफाप सिद्ध गर्न सशस्त्र जनयुद्ध सुरु गर्‍यौँ किनभने आज त्यो संविधानमा मान्यताप्राप्त वाक्यको रुपमा लिपिबद्ध छ । २०६३ बैशाख ११ बाट आजसम्मका दिन गनौँ र त्यो मूल्याङ्कनको पनि अर्को मूल्याङ्कन गरौँ, अनि २०६३ साल माघ १ गतेदेखिको अवस्थाबाट अन्तरिम संविधानको स्वरुपलाई नियालौँ र अहिलेको संविधान घोषणापछिको अवस्थालाई समीक्षा गरौँ । कहाँबाट मुलुक कहाँ पुग्यो ? र अब अझै कहाँ पुर्‍याउन लागेका हौं ? प्रजातन्त्र पुनर्स्थापनाको पहिलो आमनिर्वाचनपश्चात् अर्थात् २०४८ जेठ १५ देखि मुलुकमा राजनीतिक स्थिरता थियो कि २०६३ साल बैसाख ११ पछिको अवस्थासँगै २०६३ माघ १ पछि राजनीतिक स्थिरता बढेको छ ? संविधानसभाको रटानपछि आएको संविधानसभाले किन संविधान दिन सकेन ? र आजको विकासक्रमसम्म आउनु परेको छ ? यी र यस्तै राजनीतिक प्रश्नहरुलाई उठाएर मुलुकको अवस्थामा नैराश्यताको भूमरीमा नयाँ जनआन्दोलनको अवस्था सृजना होला भन्ने एकातिर डर बढिरहेको छ भने अर्कोतिर त्यस्तो आन्दोलन अहिलेको नेपालले थेग्न सक्छ कि सक्दैन, त्यसको पनि मूल्याङ्कन तत्कालै जरुरी भएको छ । तराईको अवस्थाले त नयाँ जनआन्दोलन सुरु भइसकेको छ । त्यो केही समय मत्थर त होला तर त्यसको मानसिकरुपमा स्थायी उपचार भएन भने मुलुकको यो दुरावस्थामा खासै फरक पर्नेवाला छैन । 

आम जनता मौन तर सामाजिक संश्लेषक हो । उसले गर्ने विश्लेषण र संश्लेषण गणित जस्तै प्रामाणिक हुन्छ । नेपाली जनता झट्ट हेर्दा सारै सहनशील देखिन्छ तर जबजब नेपाली जनता जागेको छ, उसले निहत्था जनताले ठूला ठूला तोपलाई सात समुद्र पारि पठाएको छ, सेना प्रहरी र गुन्डा अनि सशस्त्र युद्ध पीडकहरुलाई आफ्ना आफ्ना साइजमा बस्न बाध्य पारेको छ । कसैले कुनै काल खण्डमा सोचेको थियो होला कि राणाले सिँहदरबार छोड्लान्, पञ्चायती व्यवस्थाको खारेजी राजाले नै मध्यरातमा गर्लान् ? अनि राजाले नारायणहिटी र हनुमान ढोका छोडेर राज्यको निगाहमा रानीबनको एउटा कुनामा रहेको नागार्जुनको टहरोमा लोडसेडिङ्मा बिजुली आउने समय कुरेर बस्लान् ? आजको भयानक देखिने र जनताको पटक्कै वास्ता नगर्ने दलहरुको अवस्थाको कल्पना अहिले कसैले किन पनि गर्न सक्दैन भने यहाँ प्रजापरिषद पनि थियो भन्ने कुरा इतिहासमा पढ्दा थाहा पाउने हाम्रै पुस्ता पनि छ र पहिलो मधेस आन्दोलनको सामान्य अवस्थाबाट सरकारलाई सम्झौता गराउनेसम्मको निर्णायक अवस्था आएको थियो । आज पनि त्यही सहमतिको आडमा आन्दोलनले जनस्तरको सहयोग पाएको यथार्थलाई बिर्सन मिल्दैन ।

नेपाली जनताले लोकतन्त्र बुझेको छ र लोकतन्त्रको सँस्कृति पनि बुझेको छ । नत्रभने बारम्बार लोकतन्त्रका लागि आफूलाई न्यौछाबर गर्ने थिएन र बारम्बार स्वतस्फूर्त जनआन्दोलनको भुमरीमा आफूलाई पार्ने थिएनन् । लोकतन्त्रको परिणाम भोगेको जनतालाई लोकतन्त्रको नयाँ नयाँ परिभाषाको जरुरत पर्दैन र लोकतन्त्र र प्रजातन्त्रको फरक पनि देखाउनु जरुरी छैन । लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हो भन्ने जानेका नेपाली जनताको अब धैर्यताको बाँध फुट्ला जस्तै भएको छ । लोकतन्त्रका विरुद्धमा काम सप्रमाण गर्नेहरुले लोकतन्त्रको दुहाइ दिँदा लोकतन्त्रको मर्ममा प्रहार भएको नेपालीहरुलाई लाग्दैछ । आज नाजीको अवस्था कस्तो छ जर्मनीमा तर पञ्च या राजाका पक्षधरहरुको अवस्था कस्तो छ नेपालमा । निर्णायक स्थानमा राखेर नयाँ भाँडभैलो देखाइएको छ र इतिहासमा यो पनि एउटा समीक्षात्मक टिप्पणीका लागि जनतालाई विषय बनेको छ । त्यो नै लोकतन्त्रको सँस्कृतिका नाममा जनताप्रति गरिने ज्यादती वा संयमतालाई बुझ्न सकिन्छ । त्यसैले भनेको हो कि जनता मौन विश्लेषक पनि हो र मौन संश्लेषक पनि हो ।

जनता जब ब्युँझन्छ, अनि उसलाई विश्राम गराउन धौ धौ पर्नेछ । अहिले समय छ, गल्ती सच्याउन सकिन्छ । गल्ती गर्नेलाई थाहा छ, कहाँ कहिले केके गल्ती भएका छन् । चार चार वर्ष संविधानसभाको म्याद थप्ने अनि संविधान बनाउन नसक्दाको गल्ती अरुले देखाइरहनु पर्दछ र ? जब संविधान बन्न लाग्यो अनि संविधानका विरुद्धमा लाग्ने र संविधान बन्ने नै भएपछि संविधानका पक्षमा उभिने अनि त्यसैलाई आलोचनात्मक समर्थन मान्ने ? जनताका नाममा गरिएका लुटपाट, रक्तपात र धोखाधडीका विवरण फेरि सम्झाउनु जरुरी छ र ?

जनताको मूल्याङ्कनमा सबैको रहन सहन पनि आजको लोकतन्त्रको एउटा बहसको विषय हुनसक्छ तर जनता स्थिरता चाहन्छन् र पारदर्शिता चाहन्छन् । लोकतन्त्रको विकल्पमा अर्को कुनै तानासाही व्यवस्था चाहँदैनन् । कानुनी राज्यको परिभाषा र प्रयोग व्यवहारमा हुनुपर्दछ, कागजमा मात्र होइन । अराजकतालाई, दण्डविहीनतालाई सँस्कृतिको रुपमा होइन, संक्रमणकालीन न्यायको विवेकपूर्ण कसौटीमा घोटेको हेर्न चाहन्छन् नेपाली जनता । संविधानसभाबाट साँच्चै संविधान बनेको हेर्न चाहन्थे, त्यो पूरा भए पनि त्यसको सफल कार्यान्वयन हेर्न चाहन्छन् नेपाली जनता ।

नेपाली जनता मूर्ख छैनन्, सहनशील छन् । सबैको परख गरिरहेका छन् । जनतालाई अझै मूर्ख नसम्झियून् कसैले २१औँ शताब्दीमा । राणा फाल्ने नेपाली जनता, पञ्चायत फाल्ने नेपाली जनता, राजालाई रानीबनमा बस्न बाध्य पार्ने नेपाली जनता, हिजो अङ्ग्रेजलाई महाभारत कटेर आउन नदिने नेपाली जनता र इतिहासमा कसैको दास नबनेको नेपाली जनतालाई कसैले न त दास बनाउन सक्छन्, न त कसैले थिचोमिचो नै गर्न सक्छन् । सबै बुझेका छन् आधुनिक कालको अवस्था पनि, विदेसी, स्वदेशी चलखेल पनि । मुलुकको यो अवस्थामा यदि अरु दुई तीन महिना पनि परिवर्तनका लागि सकारात्मकता देखिएन भने हुनसक्ने उथल पुथलको पूर्वाभ्यासको अहिले बास्ना आउन थालेको छ । लोकतन्त्रका पक्षमा जनता फेरि ब्युँझने अवस्था देखिन थालेको छ । भएको परिवर्तनलाई नै सँस्थागतरुपमा परिवर्तनका लागि उपयोग गरौँ र भावी अनिश्चितताको समाधान अहिले नै खोजौँ ।

नेपाली जनता मौनताका साथ हेरिरहेका छन् । बेलैमा जनताको आकाँक्षा बुझेर समयको पदचाप सुनून् । समय घर्केपछि समयले पर्खने छैन । सरकार जस्को भए पनि लोकतान्त्रिक मूल्यलाई आत्मसात गरेर समस्या समाधानमा लागून् । छिन चुके दिनको फेरो, दिन चुके जुगको फेरो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell