top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

दिल्लीले मधेसी मोर्चाको हौसला बढाउने होइन : शिवजी यादव  |  Published: December 10, 2015  |  बिहीवार 24 मंसिर, 2072  |  3:02 PM  |  Viewed: 3054 times

तराई–मधेसमा जारी आन्दोलनले सिंगो मुलुकको अर्थतन्त्र र आम जनताको दैनिकीलाई आक्रान्त बनाइरहेको छ । मधेस र मधेसी जनताका अधिकारका लागि भन्दै गरिएको आन्दोलन लम्बिदैं गएको छ । आन्दोलनरत मधेसी मोर्चाकै एक घटक संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादव भने आन्दोलन टुंगिने भरपर्दो आधार अझै नदेखिएको बताउँछन् । नेपालको आन्तरिक समस्याको निकास नेपालभित्रै खोजिनुपर्नेमा जोड दिदैं सरकार र आन्दोलनरत पक्षका प्रतिनिधिहरुको हालै सम्पन्न भारत भ्रमणबाट दुबै पक्षलाई जिम्मेवार रुपमा निकास खोज्न घच्घच्याएको उनको भनाई छ । प्रस्तुत छ, मधेस आन्दोलन र यसको निकासमा केन्द्रीत रही उनीसँग ईमेजखबर डट कमका लागि  सुदर्शन आचार्यले गरेको कुराकानी :

तराई–मधेसमा जारी आन्दोलन कुन चरणमा पुग्यो ? आन्दोलनकारी शक्तिको एक नेताका रुपमा तपाईले यसलाई कसरी बुझ्नुभएको छ ?

तराई–मधेसको आन्दोलनबाट मलाई पीडा नै भएको छ । आन्दोलन भएको यत्तिका दिनसम्म सरकारले आन्दोलनकारीको मागबारे वास्ता गरेकै छैन । आन्दोलनबारे सरकार गम्भीर देखिएन । पटक–पटक सरकारसँग भएको वार्ताले निकास दिन सकेको छैन । आन्दोलनप्रति सरकार पटक्कै गम्भीर देखिएन । सरकारको भूमिका अझै आन्दोलन चर्कियोस् भन्नेतर्फ नै केन्द्रीत भइरहेको महसुस मैले गरेको छु ।

आन्दोलनरत दलहरु र मधेसका जनता अझै उत्तेजित होउन् र स्थिती अझै भयावह होस् भन्ने चाहना सरकारमा देखिएको हामी महसुस गरिरहेका छौं । सरकारले समस्याको गम्भीरतालाई नबुझ्नु दुर्भाग्यपूर्ण हो ।

आन्दोलन चर्किरहोस् भन्ने चाहना सरकारले राखिरहेको हो भने त्यसबाट सरकारलाई के फाइदा पुग्ने देख्नुहुन्छ ?

सबैभन्दा पहिला तपाई यो सरकारको संरचना हेर्नुस् । यो सरकारमा कोही संघीयता नै चाहिदैंन भन्ने पक्षका छन् भने कोही गणतन्त्र नै चाहिदैंन भन्ने पक्षका दल छन् । कुनै दल आफूलाई घोर गणतन्त्रवादी भनिरहेका छन् । सरकारको यस्तो संरचनालाई हामीले कसरी बुझ्ने ? वैचारिक रुपमा खिचडीजस्तो यो सरकारले अहिलेसम्मका राजनीतिक उपलब्धिलाई कहाँ लैजान खोजेको हो ? गम्भीरतापूवर्क मनन् गर्नुपर्ने खाँचो छ ।

तराई–मधेसमा जारी आन्दोलनले चाहीँ गणतन्त्र, संघीयतालाई संस्थागत गरिरहेको ठान्नुहुन्छ तपाई ?

संघीयताका बारेमा अन्तरिम संविधानमा जे कुरा लेखिएको थियो, त्यसलाई अक्षरसः लागू गरियो भने मधेस आन्दोलनको मूख्य मुद्दा सम्बोधन हुन्छ । हामी त संघीयतालाई संस्थागत गरियोस् भन्नेमै छौं । उतिबेलै ८० प्रतिशतसम्म कुरो मिलिसकेको थियो, केही प्रमुख दलहरुले नै सबैको सहमतिमा यसलाई संस्थागत गरौं भनेर विषयलाई लम्ब्याउँदै आउनु भयो । पहिलो संविधानसभाबाटै निर्णय भइसकेको कुरालाई लागू नगरेर संविधानसभा नै भंग गरि दोस्रो निर्वाचन गराउनु भयो । दोस्रो निर्वाचनमा जुन किसिमको राजनीतिक शक्ति हावी भयो, त्यसले पहिला भएका सहमतिलाई उल्टाएर अहिले बहुमतको दम्भमा संविधान घोषणा गर्नुभयो ।

दुई तिहाईभन्दा बढीको सहमतिमा संविधान निर्माण हुनुलाई तपाई ‘बहुमतको दम्भ’ भन्नुहुन्छ, शतप्रतिशत सहमति सम्भव हुन्छ ?

लोकतन्त्र कै कुरा गर्ने हो भने त हरेक मतको महत्व हुन्छ । लोकतन्त्रकै दुहाई दिने हो भने पहिलो संविधानसभामा लोकतन्त्र थिएन ? पहिलो संविधानसभामा भएका निर्णयलाई किन बेवास्ता गरियो ? त्यतिबेला संविधानसभामा भएका निर्णय लागू नहुने, अहिले उहाँहरुको संख्या, हरहिसाब पुगेपछि चाहीँ लागू गर्नुको अर्थ के हो ? लोकतन्त्रलाई एकपक्षीय ढंगले सोचेर हुँदैन ।

सीमांकनका बारेमा त्यतिबेलै निर्णय भएकै हो तर अहिले आएर उहाँहरु फेरि आयोग बनाउने कुरा गर्दै हुनुहुन्छ । जब एउटा आयोगले प्रतिवेदन दिइसकेको छ भने अर्को आयोग किन चाहियो ? उहाँहरुलाई आफ्नो अनुकुलको सात प्रदेश बनाउन आयोग नचाहिने तर अहिले मधेस आन्दोलनमा उठेका मुद्दा समाधान गर्न आयोग चाहिने पनि लोकतन्त्रमा बुझ्न नसकिएको पक्ष हो ।

सीमांकनको विषय तीन महिनाभित्र टुंग्याउने गरी राजनीतिक समिति बनाउने कुरा पनि आइरहेको छ नि ? तपाईहरुलाई यसमा के आपत्ति ?

सबैभन्दा मूख्य कुरा नियतको हो । अरु कुरा गर्न तीन महिना कुर्नु नपर्ने, सीमांकनबारे तीन महिना किन कुर्नुपर्ने ? पहिलो संविधानसभा मै मिलिसकेको कुरालाई लागू गर्न तीन महिना लाग्छ र ? उहाँहरुले अहिलेको सत्ता लम्ब्याउनका लागि यस्ता प्रस्तावहरु अघि सारिरहनु भएको छ ।

अहिलेको अवस्थामा सरकारको आयु त गौण कुरा हो नि, मुलुकको समस्या बल्झाएर सत्तामा टिकिरहन को चाहन्छ होला र ?

मैले अघि नै भनेँ, यो सरकारमा थरी–थरीका विचार भएकाहरु छन् । यही सरकारमा रहेका कतिपय दलले सरकार गठनको १०० दिन कटेपछि यो सरकारलाई कसरी ढाल्ने भन्ने योजना बनाइरहेका छन् । मधेस आन्दोलन कै नाममा यो सरकारलाई ढालेर फेरि पनि आफू सत्तामा जाने र जनतालाई रणभुल्लमा पार्ने उहाँहरुको सोच देखिन्छ ।

जनता यत्तिका दिनदेखि आन्दोलनमा छन्, सरकार ढाल्ने र बनाउने खेलमा कोही आफ्नो फाइदा देखिरहनु भएको छ भने त्यो उहाँहरुको दिवास्वप्न हो । हामी कुनै पनि हालतमा आफ्ना मुद्दाहरुलाई ओझेलमा पर्न दिँदैनौं ।

मधेसवादी दलहरुको आन्दोलन, सीमा नाकामा दिइदैं आएको धर्ना र नाकाबन्दीका कारण मुलुक र समग्र जनतामा परेको असरचाहीँ सामान्य हो र ?

हेर्नुस्, यसको पीडा मलाई पनि छ । वास्तवमा आन्दोलनलाई सीमा नाकासम्म पुर्‍याउनु हुँदैनथ्यो तर प्रमुख केही दलले आन्दोलनलाई त्यो बिन्दुसम्म पुर्‍याइदिए । हामी त यहीँ थियौं, तर हामीलाई कसले सीमा नाकासम्म पुर्‍यायो ? त्यो पहिल्याउन जरुरी छ ।

हामी संविधानसभामा थिएनौं र ? संविधानसभाभित्रै लोकतान्त्रिक किसिमले हामीले विरोध गरिरहेका थियौं । आफ्ना आवाज उठाइरहेका थियौं । तर त्यहाँ हाम्रा आवाज नसुनेर ‘काग गराउँदै गर्छ, पीना सुक्दै गर्छ’ शैलीमा हाम्रा आवाजलाई उपेक्षा गर्नुभयो । हामीले विरोध गरिरह्यौं तर उहाँहरु ताली ठोकेर संविधान पारित गर्दै जानुभयो । सबैभन्दा ठूलो गल्ती त्यहीँ भएको हो । संविधानसभाको नियमावली मिचेर, संविधानसभाको प्रावधानहरु लत्याएर संविधान जारी गर्ने काम भयो ।

तपाई कसलाई दोषी ठान्नुहुन्छ ? नाम किटेरै भन्नुस् त ?

खासमा सबैभन्दा ठूलो गल्ती एमाले र नेपाली कांग्रेसको हो । यो दुईवटा दलको गल्तीका कारण मुलुकले यो समस्या भोगिरहेको छ ।

तर तपाईहरुको आन्दोलनबाट एमाले र कांग्रेसले बढी क्षति भोगिरहेका छन् कि मुलुक र जनताले ? कुनै दलको गल्तीको सजाय सिंगो मुलुक र समग्र जनतालाई दिने ? मुलुककै अर्थतन्त्र चौपट बनाउने ? यो सुहाउँदो कुरा हो त ?

आन्दोलन त अहिलेसम्म संसारमा जे प्रचलित छ, त्यसै अनुसार हुने हो । कुनै दल विशेषका विरुद्ध आन्दोलन हुने होइन । हामी गोलीगठ्ठा चलाएर आन्दोलनमा उत्रिने होइनौं । शान्तिपूर्ण आन्दोलनको मर्म अनुसार नै हामी आन्दोलित भएका हौं । हामी त्यसै सीमा नाकामा पुगेका होइनौं । हामीलाई धकेलेर सीमा नाकामा पुर्‍याइएको हो ।

कसैले गल्ती गर्‍यो भन्दैमा आफूले पनि गल्ती गर्ने कुरा चाहीँ तपाई सुहाउँदिलो मान्नु हुन्छ ? तपाईहरुको आन्दोलनले देश र जनता थिल्थिलो भएका छन्, होइन र ?

जनता थिल्थिलो भएको कुरा तपाईले जसरी गर्नुभयो, त्यो जनताले दीपावली मनाइरहँदा यो कुरा सोच्नु हुँदैनथ्यो ? मेरो अधिकार खोसियो भनेर बत्ती निभाएर अँध्यारोमा बस्ने पनि त जनता नै थिए नि ? उनीहरुको बारेमा किन सोचिएन ? ती जनताको पीडाले देश यो अवस्थासम्म आइपुगेको छ भन्ने कुरालाई अहिले पनि नबुझिदिने ? अहिले पनि मधेसका जनता आन्दोलित नै छन् । हामी त उनीहरुका सम्वाहकमात्र हौं । मैले तपाईसँग गरेका कुरा पनि जनताकै आवाज हो ।

मधेसी मोर्चाका नेताहरुको दिल्ली भ्रमण कस्तो रह्यो ?

मोर्चाका नेताहरुको दिल्ली भ्रमणलाई त्यति ठूलो विषय बनाइरहन जरुरी म देख्दिन । छिमेकी मुलुक भएका नाताले यहाँका दल र त्यहाँका दलबीचको सम्बन्ध पनि हुन्छ । सीमा नाकामै धर्नाजस्ता आन्दोलनका कार्यक्रम भइरहेका कारण एक–अर्काप्रति चासो पनि हुन्छ । भोलि कुनै किसिमको गम्भीर समस्या नै उत्पन्न हुने हो कि भन्ने पनि हुन सक्छ ।

संसारमा देशहरु एक–अर्कासँग जोडिएका छन् । एउटा छिमेकीले अर्को छिमेकीप्रति चासो राख्नु स्वाभाविक हो । भारतलाई पनि आफ्नो सुरक्षाको चिन्ता छ । यस्तै अवस्था रहे सीमा क्षेत्रमा असुरक्षा बढ्ने हो कि भन्ने उसलाई पनि लाग्न सक्छ । अन्य मुलुकको गतिविधि बढ्न सक्छ । त्यसैले दुई पक्षीय विषयमा छलफलका लागि मोर्चाका नेताहरु दिल्ली गएका हुन् ।

दिल्लीबाट फर्किएपछि मोर्चाको हौसला बढेको होला, होइन ?

दिल्लीले मधेसी मोर्चाको हौसला बढाउने होइन । यहाँ हुने वार्ता र प्रगतिले हौसला बढाउने हो । भारतले नेपालको आन्तरिक मामला नेपालभित्रै समाधान हुनुपर्छ भन्दै आएको छ । अरु पक्षलाई पनि उसले दिने सुझाव यही हो । समस्याको समाधान हामीले नेपालभित्रै खोज्नु पर्छ ।

‘हाइ–हेलो’ का लागिमात्र मोर्चाका नेताहरुको लावालस्कर दिल्ली पुगेको हो त ?

मधेसी मोर्चालाई फुटाएर पहिलो संविधानसभादेखि नै हामीलाई कमजोर पारियो । त्यसैले अहिले आन्दोलनमा हामीले सामूहिक नेतृत्व बनाएका हौं । मधेसी मोर्चाको कुनै पनि संयोजक छैन । सबैजनाको सामूहिक नेतृत्व छ । त्यसैले मोर्चाबाट जुनसूकै निर्णय गर्दा होस् या जसलाई भेट्दा होस् सामूहिक रुपमै हुने गरेको छ ।

नेपालको समस्या नेपालभित्रै समाधान गर्नुपर्ने भनिए पनि केही दिनअघि परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा राजनीतिक भेटवार्ता गर्नुभयो, लगत्तै मधेसी मोर्चाका नेताहरु दिल्ली गए । नेपालको समस्या नेपालभित्रै समाधान गर्नका लागि भारतको मध्यस्थता खोजिएको पो हो कि ?

समस्याको समाधान चाहिएकै हो र समाधानका लागि इमानदारीपूर्वक पहल गर्ने हो भने यहाँ कसैको मध्यस्थता म आवश्यक देख्दिनँ । यो हाम्रो आन्तरिक मामला हो ।

तर हाम्रो आन्तरिक मामलाको मुद्दा त दिल्लीमा पनि उठिरहेको छ नि ?

दिल्लीमा यो मुद्दा उठ्नुको पनि कारण छ । कसैले हिलो छ्याप्यो भने त्यसलाई सफा त गर्नु पर्छ नि । यताबाट भारतमाथि जुनप्रकारको आक्षेप लगाइएको छ, त्यसबारे दिल्लीमा छलफल भएको हो । राजनीति हो, त्यहाँ पनि विभिन्न दल छन् । उनीहरुको पनि आ–आफ्नो एजेण्डा र चासो हुन्छ । सोही अनुसार भारतको राज्यसभामा दलहरुबीच छलफल भएको हो । त्यसलाई हामीले सकारात्मक रुपमै लिनु पर्दछ ।

मधेस आन्दोलन टुंगिने सम्भावना कति टड्कारो देखिएको छ ?

म तत्काल त्यस्तो केही देखिरहेको छैन । अस्ति पनि परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा चार बुँदे प्रस्ताव पेश गरेको भन्ने सुनियो । समस्याको समाधान सरकारले खोजेकै हो भने प्रस्ताव भारतमा होइन, आन्दोलनरत मधेसी मोर्चासँगको वार्तामा यहाँ पेश हुनु पर्दछ । किनकी सहमति त हामीले आपसमा गर्नुपर्ने हो । त्यो बुँदा त मोर्चाका लागि हो नि, भनेपछि अर्कालाई देखाइरहनु जरुरी थिएन । हामीसँग वार्तामा बस्दा त्यस्ता बुँदा आउँदैनन् । भारतमा जाँदा पेश गरिन्छ ।

दुबै पक्षले भारतमा राजनीतिक भेटवार्ता गरेका छन् । दुबै पक्षले उताको कुरा पनि सुनेका छन् । नेपालको आन्तरिक मामला नेपालमै सल्टाउन भारतले दुबै पक्षलाई स्पष्ट रुपमा भनेको छ । त्यसैले अब हुने वार्तामा सरकारले ठोस प्रस्ताव ल्याउने छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell