top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

गाउँबाट प्रधानमन्त्री ओलीलाई सुझाव  |  Published: December 11, 2015  |  शुक्रबार 25 मंसिर, 2072  |  3:15 PM  |  Viewed: 1713 times

पेशल आचार्य । नाकाबन्दीले देश कोमामा छ । ओली भने जगतै हँसाउने उखान प्रशारणमा मस्त छन् । ओली बा उखानले भात पाक्दैन अनि गालीले गाडी चल्दैन । तपाईंका उपप्रमहरू कि त भारतलाई पाँडे गाली गर्न कि त मुलुकको कालो अर्थतन्त्रको फड्के साक्षी बनेर भारतकै दलगिरी गर्दै सञ्चार माध्यमबाट राष्ट्रवादी हुने (?) प्रयासमा नानीदेखिको बल लगाउँदै क्रियाशील छन् । खासगरी उपप्रमहरू मैनाली, केसी र थापा यसमा स्वर्ण, रजत र काँस्य पदक ग्रहणार्थ धावन मार्गमा दौडिँदै छन् । नयाँ संविधानमा थ्रेसहोल्ड नलगाएर बार्गेनिङ् राजनीतिमा टिकेका विचरा ती तीनै जनाको राजनीति इस्यु अब सकिएको अवस्था छ ।

देश, मधेश र दिल्लीबीच नेपाली राजनीतिको ‘यु टर्न’ हुन लाग्दै छ । ‘खराब भारतको विकल्प असल भारत हो’ भन्ने कुरा यी विचरा तीनजना महामहिमहरूले यतिका वर्ष सत्ता राजनीति गर्दा पनि किन नबुझेका होलान् ? अब नेपाली जनतालाई आश्वासनका धूलोमा राखेर डोकाले छोप्ने दिन तुरिए भन्ने कुरा यिनीहरूले कहिले सम्ममा बुझ्ने होलान् ?

यतिखेर देश देश जस्तो छैन । दाउरामा चल्ने कुनै आदिम देश बनेको छ । कि त मधेश चर्चामा छ । कि त मोदी चर्चामा छ । सरकारका मतियारहरू मोजको जिन्दगीमा तर मारिहरेका छन् । उनीहरूका लागि वीरगञ्ज बाहेकका नाकाबाट भित्रिएका इन्धनले दिन धकेल्न भएकै छ । कुनै पनि जङ्गे नेपाली तिनीहरूका गाडीमा ढुङ्गा हान्न निस्केको छैन । त्यसैले तिनीहरू राजधानीलाई नै देश मान्दै कालो तेलमा गुडिरहेका छन् । बाँकी देश भाँडमा जाओस् । जनता मरून तिनलाई बाल मतलब छैन ।

मेचीकाली र मधेशका निरीह नेपालीका उखुम पीडा कसैले जिम्मेवार भई उठाएनन् । राजनीतिक गिजडामा मधेश र देशका महान् नेता, मानवअधिकारवादी र नागरिक समाजका अगुवा भनाउँदाहरू आफ्नो कुर्सी र कमिसनमा क्रमशः नाङ्गिदै रासलीला मनाइरहेछन् । देशलाई प्रकारान्तरले अन्त्यहीन समस्याको भुमरीमा फँसाइयो । निकासका खिरिला डोरी बाट्ने कोही निक्लेनन् ।

संवैधानिक प्रमुख पदहरूमा कदकाँटी नमिलेका मानिसहरूलाई पदासिन गरिएको छ भनेर भनिदैछ । मधेश संविधान मान्दिन भन्दै छ । ठूला दलहरू उसलाई कजाउने मानसिकतामा छन् । देश बालेर खरानीको विगुत त लगाउन सकिएला तर त्यसको भविष्यगामी परिणतिलाई अहिले नजर अन्दाज गरियो भने त्यो पार्टी र नेता समेतका लागि प्रत्युत्पादक नहोला भन्न सकिन्न । 

‘वर्ष दिनभित्र लोडसेडिङ् अन्त्य गर्छु’ भन्ने ओली बा दिउँसोदिउँसो भारतलाई सत्तोसरापमा रन्ँिकदै रातिराति दिल्लीसँगै रोइकराई गर्दैछन् –भनिन्छ । राजदूत रे ओली बासँग भेट्दै कुरा मिलाउनै व्यस्त छन् । सरकारले बुद्धि पु¥याएको भनौं या के भनौं –मधेशमा पृथकतावादी आन्दोलन चल्ने भयले भलै यतिन्जेलसम्म उसले तराईमा सेनाचाहिँ परिचालन ग¥या छैन । यही उसको बुद्धिमानी कडी देखियो ।

बजारमा सरकार पूरै नाङ्गिएको अवस्था छ । धेरै ठालुहरूलाई यो नाकाबन्दीले वश्त्रविहीन तुल्यायो । जनताले सो पत्तो पाइसकेका छन् । इम्पेरियर न्यु क्लोथका कथाहरू बाचन गर्न अब युरोप जानु पर्दैन । नेपालमै सो हाँचका नेताहरू देखिए । बजारमा ‘डि अर्थतन्त्र’ मौलाएको देखिन्छ । हुने खानेहरू र तिघ्रापाखुरा बलिया भएकाहरूलाई यो नाकाबन्दी कबास फुटेझैँ भएको छ –कालो धन आर्जन गर्न ।  भाले हाकिम हुने पुलिस, सेना, चुल्ठे, मुन्द्रे र डन साथै माफियागिरी गर्नेहरूका सुदिन फिरेका छन् । उनीहरूले कालो बजारबाट चौगुना कमाएका छन् ।
    राजश्व चौपट भएको छ । करिबकरिब अब माइनसमा गइसक्यो । देश अरब र मलेसिया गएका तमाम लाखौं दुःखीहरूको आँसुले पठाएको रेमिटेन्सबाट घिटिक्घिटिक् पारामा अप्रेसन थिएटरमा सुताइएको मरिजझैँ भएको छ । ड्युटीमा चलायमान कथित डाक्टरहरू ‘नयाँ बोरामा पुरानो चामल’ हालेर फेरि अर्कोपटक ढाँटको सत्ता आरोहण गर्न राजनीतिक पर्वतारोहणका आधारशिविरमा चलायमान छन् ।

तेलका लाइनबाटै तस्करहरू मौलाएका समाचार आए । एउटा पम्पबाट तेल भरेर सो तेल कालो बजारमा पु¥याई दोब्बरतेब्बर मूल्यमा बेची पुन अर्को पम्पमा लाइन लागेर निजी बाहनले तेल भरेका समाचारै आए । पान पसल र तरकारी दोकानमा मँहगोमा तेल खुलेयाम विक्री भए । मिसाबटले जनताका बाहन बिग्रेका समाचार पनि तारन्तार आएका छन् । आयल निगम तेल मिसिलमा यति सारो बद्नाम कहिल्यै भएको थिएन । निजीलाई तेलको कारोबारमा ढिम्किनै दिइएन । सामाजिक सञ्जालमा जनतालाई कुहिराको काग बनाउने हावादारी जानकारी पस्कन सरकारले आफ्ना लेवीधारी भरौटेहरूको भीमकाय जत्था नै परिचालन गरेको छ भन्ने खबर पनि आएको छ । के हो ? सत्यतथ्य पत्ता लगाई कारबाही गर्न ढिला भैसकेको छ ।

नाकाबन्दीको म्याच फिक्सिङ्मा पर्दा अगाडि र पछाडि कोको मतियार छन् । तिनीहरूको मुखुण्डो नउतारी जनता चित्त बुझाउनेवाला छैनन् । सीमानालाई जथाभावी चलाउने रणनीति अख्तियारी गरिँदैछ भन्ने पनि सुनिन आएको छ । यदि त्यसो गर्न लागिएको हो भने मधेश आन्दोलनको पूर्ण विराम हुनासाथ अन्य स्थानबाट निस्कने अन्तहीन आन्दोलनलाई नेपालका यो र यो पछि बन्ने कुनै निरीह सरकारले सक्छन् जस्तो लाग्दैन ।

खासगरी राजधानी र देशैभरिका गरिखाने गरिब मानिसहरू सारै सकसमा परेका छन् । ग्यास छैन । बत्ती आउँदैन । केही समयको बत्ती पनि हिटर र इन्डक्सन चुल्होको अधिक प्रयोगले धेरै स्थानका ट्रान्सफर्मर पड्केका छन् । बिजुली अड्डाका हाकिम मुकेश काफ्लेले राजधानीबासीलाई हिटर र इन्डक्सन बाल्नै नआएको फत्तुर लगाए । यसलाई भनिन्छ ‘नाँच्न नजान्ने आँगन टेडो ।’ आफ्ना विद्युतीय उपकरण बलिया छैनन् –जनतालाई दोष ।

अख्यितारले यतिबेलै नेता, पूर्वमन्त्री, बहालबाला प्रहरी र उच्च पदस्थ कर्मचारीलाई निद हराम गर्ने शैलीमा पत्र काटेको छ । ऊ खुट्टा नकमाई आफ्नो काममा सफल भएमा  सबै क्षेत्रका कथित ठालुका नक्कली मुखौटा उघ्रिने थिए । तर अख्तियार मतियार बनेको अवस्था छ । उसले विगत्मा आफ्नो शाख उकास्ने कुनै काम फत्ते गरेको छैन । ओली बाले अख्तियारलाई सरापे । उनी अख्तियारसँग असन्तुष्ट छन् भन्ने समाचार आयो । करोडौंमा पद किन्ने बहालबाला सांसद् समेत शंकाका घेरामा परे । नेताले अहिले तोरीको फूल देखेका छन् ।

ओली बालाई सुझाव दिनु वाञ्छनीय भएकाले दिइएको छ । सक्कलबमोजिम नक्कलझैँ सल्लाह जस्ताको तस्तै छ । लिनु नलिनु उनको स्वविवेकमा निर्भर रहने छ ।
    – मधेश आन्दोलन मधेशसँग मतभेद् होइन मनभेद हो । मधेशको राजनैतिक मुद्दा समाधनार्थ ठन्डा दिमागले सोची सम्झी भविष्यगामी पाइला चाल ।
    – प्रदेश काँक्राका चिराझैँ तेर्सा नभएर अम्बा काटेझैँ ठाडो काट । अहिलेको शिक्षाले भविष्यका सरकारलाई पनि शिक्षा लिनु पर्ने गरी मधेशमा र अन्य क्षेत्रमा आन्दोलनको शैलाब नउठोस् । नत्र पछुताइन्छ ।
    – मधेशमा एमाले, काँग्रेस र एमाओवादीको भोटबैँक साथै राजनीतिक धरातल मटियामेट भएको छ । त्यसलाई पुनर्जीवन दिन फुकीफुकी वैज्ञानिक तरिका अपनाऊ ।  
    – देश असफल राष्ट्र हुनै लाग्यो । त्यसका डेन्जर सूचकहरूलाई मनन गरी तुरुन्त निराकरणार्थ सार्थक कदम उठाऊ ।
    – एक वर्षभित्र देशलाई लोड सेडिङ् मुक्त गर्न विद्युतीय वाहन चलाउने आम संस्कृतिको अवलम्बन गर ।
    – सार्कका अन्य देशसँग तु. व्यापार र वाणिज्य सन्धि गर ।
    – राजधानीलाई पुग्दो विद्युत् शक्तिका लागि सौर्य ऊर्जा र अन्य वैकल्पिक ऊर्जाका लागि जनतालाई सब्सिडी देऊ । सबै किसिमका विद्युतीय वाहनका लागि दीगो गुरुयोजना तयार गर ।
    – राष्ट्रवाद, साइकल राष्ट्रवाद हुँदै लम्पसारवादमा लागेर विरोधाभाष शैलीमा भारतसँग नझुक । दोहोरो चरित्र नदेखाऊ । जनता बाठा भैसके । अब ढाँटन सकिन्न ।

यसैमा सरकारको भलाइ छ । आगे जो विचार । सबैमा चेतना भया ।
                    

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell