top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

दिल्लीको चालमा बदलिंदै गएको ‘मधेसवादी’ चेहरा  |  Published: December 13, 2015  |  आईतवार 27 मंसिर, 2072  |  4:28 PM  |  Viewed: 4890 times

भरत दाहाल-
संविधान जारी गर्न भनेर चार दलका बीचमा १६ बुँदे सहमति भएपछि ‘त्यस सहमति अनुसार संविधान जारी हुन सक्यो भने त्यसले तीनवटा मूख्य सकारात्मक योगदानहरु दिनेछ’ भनेर मैले धेरै पटक लेखेको थिएँ । मेरो विश्लेषणमा आधारित पहिलो सम्भावित योगदान थियो– १२ बुँदेपछि अनन्तकालसम्म लम्ब्याउन खोजिएको अराजकता अध्यायको अन्त्य । दोश्रो थियो– विदेशी शक्तिहरुको दलालीका आडमा नेतागिरी चलाउँदै आएका दलालहरुका बीचको अन्तर्विरोधमा विस्तार र तेश्रो थियो– नेपाल विरोधी तत्वहरुलाई नयाँ आवरणमा सजिएर आजको भन्दा नाङ्गो रुपमा प्रस्तुत हुनुपर्ने बाध्यता ।

यी तीनवटै पूर्व आँकलनहरु आज सत्य साबित भएका छन् । शान्ति प्रकृयाको प्रहसनात्मक एकाङ्की टुंगिएर नेपालको देशभक्तिपूर्ण संक्रमणकाल नयाँ चरणमा प्रवेश गरेको छ । संविधान मार्फत् सत्ता कब्जाको होडमा संलग्न विदेशी दलालहरुका बीचमा अन्तर्विरोध बढेर गएको छ र हिजोसम्म अग्रगामीको मुकुण्डोमा खेल्दै आएका तत्वहरु आज नाङ्गीएर नेपाल विरोधी विदेशी हतियारका रुपमा सतहमा आएका छन् । विदेशीहरुले ‘नेपाली’को बर्कोभित्र लुकाएका, परिचालन गर्दै आएका आफ्ना मानिसहरुलाई निर्लज्जतापूर्वक आफ्नै भूमिबाट नेपाल र नेपालीहरु विरुद्ध प्रयोग गर्न सुरु गरेका छन् ।

जारी गरिएको संविधान असफल बनाउन विदेशीहरुले तीब्र बनाएको चलखेल यसले नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, स्वाधिनता, आत्म निर्भरता र जनताका समस्या तथा अधिकार जस्ता प्रश्नहरुको सम्बोधन गरेको छ भनेर होइन कि नेपालको कमजोर भू–राजनीतिलाई आफ्नो रणनीतिको अनुकूल बनाएर प्रयोग गर्नका लागि सुरु भएको प्रतिस्पर्धा हो । प्रतिस्पर्धामा विदेशी शक्तिहरुका विभिन्न ग्याङहरुलाई अगाडि सारिएको छ । यस्ता ग्याङहरुमध्ये मधेसवादको मुकुण्डोमा परिचालित भारतीय एजेन्टहरु अग्र मोर्चामा खटाईएका छन्, जो पूर्णतः भारतीय रणनीतिबाट सञ्चालित छन् ।

संविधानका विरुद्धमा भारतले नै पहिलो र अत्यन्तै निम्नस्तरको प्रतिकृया किन देखायो भन्ने कुरालाई ठिक ढंगले नठम्याईकन कथित मधेसवादको असलियत बुझ्न सकिन्न । त्यसका धेरै नेपाल विरोधी अभिष्टहरुलाई एक वाक्यमा सामान्यीकरण गर्दा के भन्न सकिन्छ भने दलाल तत्वहरुलाई दिल्लीमा बोलाएर कथित १२ बुँदे सहमतिका नाममा त्यसले नेपाल विरुद्ध जस्तो रणनीति बनाएको थियो, त्यो रणनीति र विगत १० बर्षभित्र नेपालको भू–राजनीतिमा बदलिएको बाह्य शक्ति सन्तुलनका बीचमा पैदा भएको अन्तर्विरोधलाई धम्कीबाट हल गर्न मधेसवाद र नाकाबन्दीको हतियार उठाईएको हो ।

कथित मधेस आन्दोलन दिल्लीको रणनीतिभन्दा बढी केही होइन भन्ने तथ्यलाई आत्मसात गर्न धेरै ठूलो चिन्तन मनन् गर्नुपर्ने आवश्यकता छैन । मधेसवादका बहानामा सुरु भएको वितण्डाको निरन्तर रुपमा बदलिंदो स्वरुप र त्यसलाई आफ्नो भूमिमा आश्रय दिएर नेपालमाथि दिल्लीले लगाएको नाकाबन्दीलाई हेरे पुग्छ । यी दुबै परिघटनाहरुको निहितार्थलाई अझ राम्ररी नियाल्नका लागि ०६४ सालको असोजमा भारतका तात्कालिन विदेश सचिव प्रितिशरण र ‘रअ’का प्रतिनिधिको उपस्थितिमा पटनाको ‘मधेसी’ बैठकमा भएका निर्णय थाहा पाउनु पर्दछ, जो ‘मधेसवादी’हरुले क्रमशः उठाउँदैछन् ।

पटना भेलाको पहिलो निष्कर्ष तराइलाई भारतीय रणनीतिको केन्द्र बनाएर काम गर्न मधेसवादी गुटहरुलाई बलियो बनाउने थियो । तराइलाई एउटै ‘स्वायत्त मधेस प्रदेश’ बनाउने र नेपाली सेनामा समानुपातिक प्रतिनिधित्वको माग गरी १० हजारको अलग मधेसी सैन्य बटालियन स्थापना गर्ने निष्कर्ष पनि त्यसमा निकालिएका थिए । ०६४ जेठमै ज्वाला सिंह समेतको उपस्थितिमा पटनामैं भएको पहिलो भेला, जसले १० बर्षमा तराइ भारतमा गाभ्ने निर्णय गर्दै भदौदेखि पहाडी मूलका नेपालीहरुमाथि बर्बर हत्या, हिंसा, बलात्कार र आगजनी गरेको थियो, यसको दोश्रो संस्करण नै असोजको भेला थियो ।

भारतीय अधिकारीहरुले पटनामा पटक पटक कथित मधेसवादीहरुलाई भेला गराएर गराएका निर्णयहरुलाई दलीय मान्यता दिलाएर वितण्डा मचाउने आधार तयार पार्नका लागि ०६४ सालको फागुनमा काठमाडौंस्थित भारतीय दूतावासभित्र राजदूतले कथित मधेसी मोर्चा र कांग्रेसलाई बोलाएर एक ‘स्वायत्त मधेस प्रदेश’, ‘नेपाली सेनामा १० हजारको अलग मधेसी बटालियनको स्थापना’, र समान ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण’ गर्ने सहमति गरायो । भारतीय दूतावासको त्यही आदेशलाई लागू गराउन अहिले ‘पूर्व सहमतिहरुको कार्यान्वयन गनु पर्ने’ भन्ने नारा लगाईएको छ ।

भारतीय रणनीति प्रष्ट छ । मधेसवादका नाममा त्यसले जति पनि मुद्दाहरु उठाउन लगाएको त्यसका पछाडिको मूख्य आडभरोसा भनेको ०६३ को नागरिकता ऐनले नेपाली बनाएका भारतीयहरुको संख्या हो । नक्कली नागरिकतााई निर्णायक मानेर सिंगो राज्यप्रणाली कब्जागर्ने उद्देश्यले समान जनसंख्याका आधारमा निर्वाचनक्षेत्र निर्धारण गर्न लगाउने, तराइ मिशनको प्रतिरक्षाका लागि मधेसी बुर्कामा नक्कली नागरिकताधारीहरुको सैन्य बटालियन बनाउर्ने र आत्मनिर्णय सहितको संघीयता स्थापित गरेर तराइ विभाजनको वैधानिक आधार तयार पार्ने दिल्लीका प्रमूख ‘मधेसवाद’ योजनाहरु हुन् ।

कथित मधेसवादका ठेकेदारहरु दिल्लीका हातका प्यादाभन्दा बढी केही होईनन् भन्ने तथ्यलाई तिनीहरुको ‘आन्दोलन’मा क्रमशः बदलिंदै गएको चेहराले स्पष्ट पार्दछ । सुरुमा तिनीहरुको माग सीमाङ्कनमा सिमित थियो । वितण्डामा सर्वसाधारणको एउटा हिस्सालाई बराल्न सफल भएपछि त्यसमा नागरिकताको मुद्दा थपियो । दिल्लीको नाकाबन्दीपछि राज्यका सबै निकाय नक्कली नागरिकताधारीहरुको हातमा पुर्‍याउने कुनियतले कथित समानुपातिक समावेशिताको प्रश्न आयो । दिल्लीले नांगो रुपमा माग राख्न थालेपछि ‘बहु–राष्ट्रिय–राज्य’ र ‘समावेशी सेना’को प्रश्न बटम लाइन बनेको छ ।

‘बहु–राष्ट्रिय–राज्य’ र ‘समावेशी सेना’को प्रश्न नै दिल्लीको अभिष्टको सारतत्व हो । यी दुबै मागहरु तराइलाई विभाजन गर्ने षडयन्त्रका अभिन्न अङ्गहरु हुन् । ‘बहु–राष्ट्रिय–राज्य’को मागले तराइलाई अलग देशका रुपमा स्थापित गर्न खोजेको छ भने ‘समावेशी सेना’को प्रश्नले पृथकतावादको उठानपछि कथित मधेस देशलाई सुरक्षा गर्ने पंक्तिको निर्माणको योजनाको प्रतिनिधित्व गर्दछन् । नेपालमाथि नाकाबन्दी र तोडफोडको दबाब बढाउन सकेको बेला एजेन्टहरु मार्फत् दिल्लीले आफ्ना मागहरुको संख्यालाई थप्दैै लग्न लगाएर बार्गेनिङ गरिरहेकोे तथ्य सबैका सामुन्नेमा स्पष्ट छ ।

कथित मधेसवाद तराइका नेपाली मधेसीहरुको गासबास, आवास, भूमिहिनता, शिक्षा, स्वास्थ्य, रोजगारी, पछौटेपन जस्ता जीवन प्रणालीहरुसँग पूरै बेसरोकार रहेको वितण्डा हो भन्ने कुरा त यी विषयहरुले तिनीहरुको एजेन्डामा कतै स्थान नपाएको तथ्यबाटै प्रष्ट छ । नाकाबन्दीको आडभरोसा सहित यिनीहरुलाई दिल्लीले दिएको दानापानी, पैसा, आश्रय, नेतृत्व आदि हेर्ने हो भने यिनीहरुले नेपालप्रति कुनै सद्भाव राख्छन् भन्ने कुराको त कल्पना पनि गर्नु हुँदैन । देशका विरुद्धमा खुल्लमखुल्ला उत्रेका हमलाकारीहरुसँग वार्ताको नाटक मञ्चन गर्ने राज्य पक्ष पनि देशद्रोहीहरुको अखाडा हो ।
        

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell