top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

अन्योलमा कांग्रेस र सुशील दाको नेतृत्व  |  Published: December 15, 2015  |  मंगलवार 29 मंसिर, 2072  |  1:15 PM  |  Viewed: 1293 times

नरेन्दराज पौडेल - स्थानभ्रष्टाः नशोभन्ते दन्ताः केशा नखाः नराः (आफ्नो निर्धारित स्थानबाट स्खलित भएपछि दाँत नङ, कपाल र मानिस असुहाउँदो अर्थात निकम्मा हुन्छ ) चाणक्यनीतिको यसै प्रसङ्गअनुसार नेपाली काग्रेसका अध्यक्ष सुशील कोइराला आज स्थानभ्रष्ट अवस्थामा पुगेका छन । उनी त आफ्नै बुद्धि बर्कतले पुगे पुगे,केही थिएन तर सिङ्गो पार्टीलाई नै घिच्याएर त्यही दीनहीन अवस्थाको गोलखाडी र अनिश्चयको भँड्रखारोमा पुर्याउने बहादुरी समेत उनैले देखाए ।

सत्य हो, जोगीको कुनै भविष्य हुँदैन । देश र जनताप्रति उसको जिम्मेदारी पनि ऐच्छिक मात्र रहन्छ । तर महत्वपूर्ण सार्वजनिक पद अ‍ेगटेर अग्रपंक्तिमा बस्न रोजेपछि त्यही अनुरुपको दायित्वबोध पनि हुनुपर्छ । चाहे त्यो जोगी होस् या फकीर । आफूले नेतृत्व गरेको वर्ग र समाजप्रति अनुत्तरदायी बनेर स्वैरकल्पनामा रमाउन मिल्दैन । आफ्नो पछाडि ठूलो जमात लिएर नेतृत्व गर्न अघि सरेको व्यक्तिले जनमतको ख्यालै नगरी हदैसम्म अनुत्तरदायी र आत्मकेन्दित बन्न पाइन्न । यो राजनीतिक आचारसंहिताको विश्वव्यापी मान्यता हो । राजनीतिको रङ्गमञ्च छोडेर गए फरक पर्दैन ।

हुन त सम्पत्तिको नाउमा आफूसंग मात्र चार सेट मोवाइल रहेको बताउने सुशील कोइरालाले बालुवाटार बसाइ सादगीपूर्ण र मितव्ययी बनाएका थिए । प्रचण्ड,देउवा र वर्तमान प्रधानमन्त्रीको खर्चालु र आडम्वरी प्रवृत्ति उनमा देखिएन । जनताका नजरमा उनले सादगीपूर्ण जीवन वाँच्ने शैली प्रस्तुत गरेका थिए र पदबाट बाहिरिएको भोलीपल्ट सुराही छाता लिएर प्रमनिवासबाट निस्किने सन्त नेता कृष्णप्रसाद भट्टराइकै स्मरण गराएका थिए ।     उनको डेढवर्षे कार्यकालभरी महाकाली सन्धी, टनकपुर, विप्पा संझौता वा विमानस्थलको सुरक्षा भारतलाई जिम्मा लगाउने र विदेशी हैकम कायम गरी जलस्रोत क्षेत्रका संझौता सम्पन्न गर्ने जस्ता राष्टघाती र समर्पणवादी गतिविधि देखिएनन । अन्तिम समयसम्म भारतले रोक्न छेक्न प्रयत्न गर्दागर्दै पनि गणतान्त्रिक नेपालको नयाँ संविधान जारी गराएरै छोडे । देशको अखण्डता र सार्वभौमिकतालाई दाउ राखेर गरिने र दूरगामी प्रभाव पार्ने खालका काम कर्तूतहरु खासै भएनन । अरुजस्तो बारम्बार दिल्ली दर्शनमा दौडिने पराबलम्वी नेताको चाकरीवादी प्रवृत्ति पनि उनमा देखिएन ।

जीवनभर अविवाहित रहेर सम्पत्ति र सत्ताको फोहोर खेलमा सामेल नभइ पार्टीको काममा निरन्तर समर्पित कोइराला लोभलालच दलाली कमिसन घुसखोरी र भ्रष्टाचारको दलदलदेखि टाढै रहेका स्वच्छ व्यक्ति मानिएका थिए । प्रधानमन्त्री भएपछि पनि उनको कारणले कुनै ठूलो भ्रष्टाचार काण्ड नहुनु र गलत काम गर्ने चार जना मन्त्रीलाई वर्खास्त गर्ने हिम्मत गर्नु उनको खूवी नै मानियो । एउटा पार्टीको कुशल नेतृत्वमा चाहिने अन्य गुण र दक्षताको कमी हुँदाहुँदै पनि उनलाई काग्रेसजनले आफ्नो जनप्रिय नेताको रुपमा स्वीकारे । त्यसैको परिणाम उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न सक्षम रहे । यसै अनुसार उनले सरकारको नेतृत्व गर्दै गणतान्त्रिक नेपालको संविधान २०७२ जारी गर्ने अवस्था सिर्जना गरेर राष्ट्रपति रामवरण यादवलाईसमेत आफ्ना असहमतिका बुँदा राख्न नपाई तीन पटक ढोगेर संविधान जारी गर्न बाध्य बनाए ।

तर संविधान जारी भएलगत्तै सुशील कोइराला एकाएक बदलिए । अप्त्यासितरुपमा उनमा देखापरेको विचलन कुरुवंशीको मुशलजस्तै आत्मघाती मात्र होइन वंशघाती नै प्रतीत भएको थियो । उनले अगिल्लो दिन आफैले राजीनामा दिएको पधानमन्त्री पदमा भोलीपल्ट आफैं उम्मेदवार बनेर पार्टीको गरिमा र आफनै औकात रातारात घटाउने काम गरे । उनको यस आत्मकेन्द्रित अस्वाभाविक निर्णयले पार्टीभित्र बाहिर ठूलै परकम्प ल्यायो । रातारात नाटकीय ढङगले समयका पदचापहरु यताउता मोडिएर सञ्चार माध्यमहरुमा अनेक आशङ्का र विवादका बादल मडारिन पुगे । यस घटनाले अलि दिन अधिसम्म उज्यालो देखिने उनको त्यो बान्की सक्कली रहेन । विदेशबाट पैसा आएर रातारात प्रधानमन्त्री पदको हरुवा उम्मेदवार बनेको हल्लाले त उनको छवि झनै धमिलियो र दिनमा बर्त बसेर रातभर मुसा खाने बिरालामा परिणत भयो । अस्वाभाविक रुपले एकाएक विकसित उनका तत्कालका क्रियाकलापले उनी वदनाम मात्र भएनन सत्तरी वर्ष पुरानो पर्टीकै छवि र चरित्रमा समेत कालो मोसो पोतिदिए ।

उनले बर्ष दिन अघिदेखि नै संविधान जारी भएको ७ दिनभित्र आफू प्रधानमन्त्री पदवाट बाहिरिने घोषणा गरेर पार्टी नीतिमाथि मनोगत तानाशाही लाद्ने शैली देखाएका थिए । संविधान जारी हुँदैमा देशको सवैभन्दा ठूलो पार्टीले सरकारको नेतृत्व छोडनु पर्ने कारण के थियो ? फेरि उनले पद छोड्छु भन्दैमा पार्टीले नै उनको सती जानु पर्ने अवस्था कसरी आयो ? अरु कोही थिएन प्रधानमन्त्री बन्न लायक व्यक्ति कांग्रेसभित्र ? आफ्नो विचार र पार्टीको दृष्टिकोण आम जनसमुदय र बौद्धिक बर्गको सामु राख्न नसकेका व्यक्ति कसरी त्यत्रो पार्टीको सभापति र  त्यसपछि प्रधानमन्त्री बन्न पुगे । केवल घरवारको त्याग र सन्त नेताको छविको कारणले मात्र न हो ? तर काग्रेस पार्टी केवल जोगी र सन्त महन्तको पार्टी मात्रै होइन भन्ने कुरा उनले बुझ्नु पथ्र्यो । जतिवेर जे मन लाग्यो भन्दै जाने र पार्टीलाइ आफ्नो झोलाको छाप बनाउने काम उनीवाट कसरी हुन गयो । के सुशील कोइराला पार्टीको छाप बोकेर हिड्ने झोले माष्टर हुन ? उनी त्यो बन्न मिल्छ ? मुलुकभरका सचेत काग्रेसले आज शिर निहुराएर मालामीको शैलीमा निन्याउरो मुख लगाएका छन ।

छिमेकी देश भारतमा सवभन्दा ठूलो पार्टीको हैसियतमा पीभी नरसिंह रावले दुइ टर्म कांग्रेस पार्टीको सरकार चलाएका थिए । उनका उत्तरवर्ती मनमोहन सिंहले पनि उनैको परम्परा चालू गर्दै भारतलाई आर्थिक विकास र समृद्धिको दौडमा अग्रसर गराए ।  विश्वव्यपी मान्यता र जनादेशको रुझानअनुसार पनि सवभन्दा ठूलो र बहुसंख्यक सांसद रहेको पार्टीले नै हो सरकार चलाउने । तर आज संसदमा सबैभन्दा बढी सदस्य रहेको कांग्ेस सत्ताबाट विमुखमात्र होइन राष्ट्निर्माणका हरेक गतिविधिबाट टाढा पुगेको छ । कुनै एक व्यक्तिको लहड वा बाध्यताको धरापमा उभिएर पूरै पार्टी सत्ताविमुख हनुपर्ने अवस्था सिर्जना गर्नमा सुशील कोइरालामात्र जिम्मेवार देखिन्छन ।

भनिन्छ साधु फकीरको थिति ठेगान हुँदैन । भविष्य हुदैन । जाहाँ पुग्ला त्यही आगो फुक्ला भन्ने त कहावत नै छ । तर त्यसो भनेर लाखौ युवा कार्यकर्ताले त्यहीँभित्र सुन्दर सपना देखेको पार्टीलाई अनिश्चयको खाडलमा पु¥याउने काम उनीवाट कसरी भयो ? बर्ष दिन अघिदेखि जम्दै आएको उनकोे मनको प्रतिज्ञा एकै रातमा कसरी भङ्ग भयो । यो के सत्य हरिचन्द्रको त्याग र वलिदानीको कथा हो कि लाछि योद्धा सिखण्डीको ? कसको स्वार्थमा सिंगो पार्टीको चीरहरण गरेर उनी कलियुगी अर्को दुशासन बने । अगिल्लो दिनसम्म आपूmले पद छोड्ने घोषणा गरेको व्यक्ति रातारात फेरि तुरुन्तै हरुवा उम्मेदवार बनेर तमासा देखाउन पुगे । अथवा आप्mनै अन्तरआत्माको आवाज भन्दै मनोगत कुरा गरेर प्रधानमन्त्रीको हरुवा उम्मेदवार बन्न पुगे । पहिले पनि भद्र सहमति नामको अभद्र कोठे सल्लाह गरेर आफ्नो पार्टीकै वर्चस्व हापिदिन उनलाई कसले सल्लाह दिएथ्यो ? को हो त्यो सल्लाहकार जसले राष्ट्र निर्माणका प्रत्येक क्षेत्रबाट हात धोएर काग्रेस नेता कार्यकर्ता र बुद्धिजीविहरुलाई तमासे बनेर बस्न वाध्य बनायो ।

वी.पी., कृष्ण प्रसाद, गणेशमान जस्ता नेताले जिउँदो बनाएको पार्टी आज विचार दर्शन र दृष्टिकोणविहिन व्यक्तिको हातमा पर्नु दुर्भाग्य मात्र होइन बिडम्बनाको विषय हो । भद्र सहमतिको नाममा मनोगत कोठे किरियावाचन कसले गर्न भन्याथ्यो ? नगरी नहुँने वाध्यता थिएन भने  किन गरेको ? पार्टीमा छलफल नगरी जे पायो त्यै सहमति गर्न वा बोल्न मिल्छ ?    कांग्रेस नेतृत्वको सरकारको पहलमा जारी भएको संविधान कार्यान्वयनको केही समय सरकारको नेतृत्व उसैले गर्दा खास फरक पर्ने थिएन । के.पी. ओलीलाई प्रधानमन्त्री बन्ने समस्यामा सुशील कोइराला शिखण्डी बन्नु कति उचित कति अनुचित थियो,समयले छयानब्यान गर्ने नै छ ।  यता काङग्रेस पार्टीको महाधिवशन पनि आउँदै छ क्यार ! कुन बेला के बोल्ने ख्याल नभएका,कहाँ के दिने के लिने हेक्का नरहेका, कुन ठाउँमा के गर्ने ध्यान नभएका व्यक्ति फेरिफेरि पनि पार्टी नेतृत्वमा पुग्ने हो भने काग्रेसको भविष्य सुकिलो देखिँदैन । यदि यो क्म जारी रहे छोटो समयमै पार्टीभित्र क्षयरोगका कीटाणुले वंशविस्तार गर्दै जाने पक्का छ । अनि त असमयमै टाइटनिक फिल्मले देखाएको महाविनशको बाटोमा पार्टीको गति अघि बढेमा आश्चर्य मान्नु पर्ने छैन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell