top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

एक दिन ‘वास्तविक’ लोकगायक भएर आउनेछु : राजु परियार  |  Published: December 16, 2015  |  बुद्धबार 1 पुष, 2072  |  1:29 PM  |  Viewed: 6421 times

काठमाडौं, पुस १ । लमजुङ जिल्लाको चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका राजु परियारले औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गरेका हुन् । काठमाडौं आएपछि पुकार दोहोरी साँझमा काम गर्ने अवसर पाएसँगै उनको सांगीतिक करिअर सुरु भएको थियो । उनका सुनपानी, रुमाल धोको छु, गर्नुगर्‍यौ बलराम भैंसी पालेर, लागुपाते नुग्यो भुँइतिर, झिमझिम सानु नझिम्क्याउ परेली, फुलमा मौरी डुल्ने बेलामा जस्ता गीतहरु चर्चित छन् ।

आफूलाई नेपाली संगीत इतिहासमै सबैभन्दा बढी गीत रेकर्ड गर्ने कलाकार भनि दाबी गर्ने परियारले एकै दिनमा १३ वटा गीतसम्म रेकर्ड गरेको अनुभव सुनाए । लोक गायन क्षेत्रकै नायकका रुपमा चिनिएका परियार केही वर्ष पारिवारिक तनावका कारण अत्याधिक मदिरा सेवन गरि जेलसमेत बसे भने केही वर्ष त उनी गुमनाम समेत रहे । हाल आएर उनी स्टुडियो र विभिन्न कार्यक्रममा झल्याकझुलुक देखिन थालेका छन् । पछिल्लो समय मन्जु पौडेलसँग उनले गाएको ‘सुपारीको तल्तल्ले ’ बोलको गीत चर्चामा समेत रहेको छ ।

सांगीतिक क्षेत्रमा सक्रिय ढंगबाट लाग्ने बताउँदै आएका राजु परियारसँग इमेज खबर डटकमका लागि हरी दुलालकृष्ण न्यौपानेले गरेको कुराकानी:

एक समय निकै चर्चामा रहेर पनि अचानक गुमनामजस्तै भएर फेरि नेपाली लोक सांगीतिक क्षेत्रमा केही सक्रिय देखिनुभएको छ । यसलाई तपाईको ‘पुनरागमन’भन्दा हुन्छ ?

त्योभन्दा पनि राजु परियार सांगीतिक क्षेत्रमा लागि नै रहन्छु भनेर कसम खाएर आएको हो । बीचमा अब यो क्षेत्रमा आउँदिन भनेको पनि हुँ । केही पारिवारिक समस्या थियो । अब त्यस्तो छैन । मन चङ्गा भएको छ, अब म आम श्रोताको काख–पोल्टामै रहन्छु ।

हिजोको दिनमा ‘अब यो क्षेत्रमा आउँदिन’ भन्ने मनसाय चाँही किन बनाउनु भएको ?

मनमा पाप छैन । सिधै भन्नुपर्दा केही समस्याहरु, केही अप्ठ्याराहरु थिए । अहिले खुल्ला आकाशझै भएको छु ।

तपाईको पारिवारिक अवस्थालाई लिएर विभिन्न टिका–टिप्पणी हुने गर्छन्, पारिवारिक अवस्थाको बारेमा के भन्नुहुन्छ ?

मसँग केही थियो र पो कुरा गरे । मसँग केही थिएन भने त कसले कुरा गर्ने ? मसँग कुनै दिन चुलो बल्ने स्थिती भएन होला । सबै कुरा भनिरहनु जरुरी छैन ।

राजु परियार चर्चित कलाकार भएर पनि ‘स्ट्याण्डर मेन्टेन’ गरेर हिँड्नुपर्ने हो, त्यो चाँही गदैन भन्छन् नि ?

यसो हो, खोले र सिस्नु खाएर धानको भातको कुरा गर्नु हुँदैन । हिजोको खोले बिर्सियो भने धानको भातले सराप्छ ।


अहिले तपाईका गीत खासै सुनिदैंन, स्टुडियोमा पनि टाइम दिएर आउनुहुन्न रे, किन ?

यस्तो छ, हिजोको दिनमा लहैलहैमा गाएँ होला, अब त्यसरी गाउँदिन । संख्यात्मकभन्दा अब गुणात्मक गीत गाउँछु । कतिपयका गीत मलाई मन परेन होला । त्यसैले गाइनँ ।

मौकामा हिरा फोर्नु भन्छन्, तपाईको यस्तो मिठो आवाज छ, पर्याप्त गीत किन नगाउनु भएको ?

म अझै लोक गायक भैसकेको रहेनछु । सिक्दै छु । उमेर अझै बाँकी छ । अघिनै भनिसकेँ, संख्यात्मकभन्दा गुणात्मक गीत गाउँछु ।

अहिलेसम्म कति गीत गाउनु भयो ?

अहिलेसम्मको तथ्याङ्कमा १५ हजार कट्यो भन्ने छ । तर मैले ठ्याक्कै मेसो पाएको छैन । अब खोजी गर्दै छु ।

अहिलेको वर्तमान लोक गीतको क्षेत्रलाई तपाईले कसरी हेर्नुभएको छ ?

झलकमान, मेलवादेवी, धर्मराज थापाको जस्तो गीत आजभोली आउँदैन । दुःखलाग्दो कुरा हो । माटो सुहाउँदो गीत गाउने प्रतिक्षामा म पनि छु । म कसैलाई दोष दिन चाहन्नँ ।

आगामी दिनमा आफ्नै एलबम ल्याउनुहुन्छ वा के गर्नु हुन्छ ?

अवश्य पनि म आफ्नै एलबमको तयारीमा छु । तपाईहरुकै सल्लाह, सुझाव अनुसार आगामी दिनमा एकल र कलेक्सन गीत छिट्टै आउँदै छ । तपाईहरु अब ढुक्क हुनुस् कि राजु परियार यो क्षेत्र छोडेर अब कतै जाँदैन, यो मेरो कसम भयो ।

अचेल देश–विदेशमा सांस्कृतिक कार्यक्रममा कलाकारहरु जाने होड नै चलेको छ, तपाई खासै जानुहुन्न, किन ?

राजुपरियारले अहिलेसम्म १८/१९ देश घुमिसक्यो । कार्यक्रममा बोलाउँदैमा मात्र पनि जान्नँ । त्यो कार्यक्रम कुन उद्देश्यले गरिएको छ, बिचार गर्छु । त्यही भएर त्यस्ता कार्यक्रममा म कम पुगेँ होला ।

नेपाली संगीतको भविष्यचाँहि कस्तो देख्नुहुन्छ ?

सुन्तला रोपेर आँपको कुरा गर्नु हुन्नँ । यतिबेला हामीले सही विजारोपण गरिरहेका छैनौं । राम्रो ग¥यो भने भविष्य छ । म आफैंले पनि रामो गीतको खोजी गरिरहेको छु । हाम्रा देउडा, पूर्वको हाक्पारे, सालैजो गाउन सकियो भने निकै रामो भविष्य छ ।

कलाकारलाई राज्यले दिनुपर्ने सम्मान कतिको पाएको महसुस गर्नुभएको छ ?

तपाईको कुरा सुनेर मलाई हाँसो उठ्यो । राज्यले मलाई पनि कलाकार भन्छ र ? संस्कृतिमन्त्रीलाई संस्कृतिको ‘स’ पनि थाहा हुँदैन । नयाँ संविधान आएको छ । कलाकारका हकहितका कुरा कहाँ छन् ? म राज्यबाट केही अपेक्षा गर्दिनँ । अझै केही गर्न सकेँ भने राज्यले एक दिन सम्झेला ।

अन्त्यमा आफ्नो श्रोता–दर्शकलाई के भन्नुहुन्छ ?

म तपाईहरुकै भाई, भतिजो, छोरा हुँ । माया गरिनै रहनुस्, एक दिन वास्तविक लोक गायक भएर आउनेछु ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell