top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

दोश्रो विश्वयुद्धको इतिहास यस्तो छ, यसरी बने अमेरिका र सोभियत संघ ‘महाशक्ति राष्ट्र’ गृष्मा राजभण्डारी/ईमेज  |  Published: December 24, 2015  |  बिहीवार 9 पुष, 2072  |  4:56 PM  |  Viewed: 18601 times

काठमाडौं । विश्वका ६१ देश र एक अर्ब ७० लाख मानिस सामेल भएको दोश्रो विश्वयुद्ध इतिहासको सबैभन्दा ठूलो र भयानक युद्ध हो । सन् १९३९ देखि १९४५ सम्म चलेको यो युद्धमा साढे ५ करोड मानिसको मृत्यु भएको थियो, जसमध्ये ३ करोड निहत्था सर्वसाधारण नै थिए । दोश्रो विश्वयुद्धमा मृत्यु हुनेमा सबैभन्दा बढी रुसी नागरिक थिए । यही एउटा युद्धमा दुई करोड रुसी नागरिक मारिएका हुन् ।

दोश्रो विश्वयुद्ध शुरु गर्ने मुलुक जर्मनी, जापान र इटली थिए । हंगेरी र रोमानिया पनि पछि यही बगालमा थपिएका हुन् । मुख्यगरी तीनवटा कारणले उनीहरुले यो युद्धको शुरुवात गरेका थिए । पहिलो कारण थियो, विाश्वको आकर्षण र ठूला बजार, प्राकृतिक श्रोतका भण्डारहरुलाई आफ्नो प्रभुत्वमा ल्याउनु । दोश्रो, आफ्नो जातीको संस्कृति र राजनीतिक प्रभुत्व संसारभर कायम गर्नु । र तेश्रो, पहिलो विश्वयुद्धमा हारेर निकै ठूलो भू–भाग गुमाएको र युद्ध हर्जानाको रुपमा निकै ठूलो थैली तिर्नुपरेको जर्मनीले त्यसो गर्न बाध्य पार्नेहरुलाई बदला लिनु र बाध्य पार्ने भर्सायल्स सन्धि खारेज गराउनु ।

जर्मनीले सन् १९३८ मा जर्वजस्ती अष्ट्रियालाई र सन् १९३९ मा चेकोस्लोभाकियाको केही भाग र पश्चिम पोल्याण्डलाई जर्मनीमा गाभेपछि दोश्रो विश्वयुद्धको आगो सल्काउने काम भएको थियो । शुरुमा फ्रान्स र बेलायतमात्र यस आक्रमणकाविरुद्ध युद्ध मैदानमा उत्रिएका थिए तर पछि जर्मनीले डेनमार्क, हल्याण्ड, बेल्जियम, फ्रान्स र नर्बेलाई समेत आफ्नो फौजी बलले निलेपछि यो युद्धको क्षेत्र विकास भयो । जर्मनीले रुसमा हमला गरेर मस्को नै कब्जा गर्न खोजेपछि र जापानले अमेरिका अधिनस्थ पर्ल हार्वर र फिलिपिन्समा कब्जा जमाएपछिमात्र ती दुबै शक्तिशाली मुलुक पनि युद्धको मैदानमा होमिए ।

सन् १९४२ सम्म आक्रमण गर्ने तीन मुलुकको हालीमुहाली युद्धमा निकै नै बढ्यो । तर सन् १९४३ लागेपछि विशेषतया जर्मनी, जापान र इटलीको पतन शुरु भयो । जर्मनीले समाजवादी सोभियत संघबाट विश्वयुद्धमा साह्रै ठूलो हार ब्यहोर्नु पर्‍यो । सोभियत संघका लाल सेनाले हिटलरको विशाल सेनालाई स्तालीनग्रड र ककेशसबाट लेखट्न शुरु गर्‍यो । त्यसपछि सम्पूर्ण सोभियत संघ, पोल्याण्ड, रोमानिया, बुल्गारिया, फिनल्याण्ड, युगोस्लाभिया र हंगेरिलाई मुक्त गर्दै जर्मनीको राजधानी बर्लिनसम्म घेराबन्दी गर्न सफल भयो । त्यसपछि निराश भएर हिटलरले ३० अप्रिल, १९४५ मा आत्महत्या गरे र जर्मनीले एक हप्तापछि आत्मसमर्पण गर्‍यो ।

उता, बेलायत र अमेरिकाले जर्मनीलाई फ्रान्सबाट लखेटे । इटालीलाई १९४३ मै आत्मसमर्पण गर्न बाध्य पारे । अमेरिकाले जापानलाई फिलिपिन्समा पराजित गर्‍यो । सन् १९४५ मा पुग्दा त अमेरिकाले जापानमै दिनदिनै बमबर्षा गर्न थालेको थियो । उसले जापानको ओकिनावा टापू नै आफ्नो कब्जामा लिन सफल भयो । यतिबेलासम्म जापान एक्लो परिसकेको थियो भने उसको हार सुनिश्चित थियो । यत्तिकैमा सोभियत संघले जापानविरुद्ध युद्धको घोषणा गर्‍यो र मंचुरिया कब्जा गर्‍यो । उता बेलायतसँगको सहमतिबाट अमेरिकाले अगष्ट ६ र ७ मा हिरोशिमा र नागासाकीमा एटम बम खसाल्यो । अन्तमा, अगष्ट १४ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भयो । यो विश्वयुद्धबाट अमेरिका र सोभियत संघ महाशक्ति राष्ट्रका रुपमा अगाडी आए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell