top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

यदुवंशी पाराबाट मुक्त कांग्रेसको स्वरुप कस्तो होला ?  |  Published: December 28, 2015  |  सोमबार 13 पुष, 2072  |  12:28 PM  |  Viewed: 589 times

हरिविनोद अधिकारी -
नेपाली कांग्रेसको महाधिवेशन आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने भनी निर्णय गरिएको छ र यो समीक्षा तयार पार्दासम्म अर्को समयको बारेमा कुनै आधिकारिक तिथि घोषणा गरिएको छैन । मिति सर्ने हल्ला पनि यसकारणले छैन कि यो बाध्यकारी समयभित्र पर्दछ । यदि नयाँ संविधानमा ५ वर्षपछि विशेष कारणबस् अर्को ६ महिनाको प्रावधान राखिएकोले यो अधिवेशन गर्नैपर्ने गरी व्यवस्था गरिने भएको हो ।

जति जति नयाँ संविधानको घोषणा ढिलो हुँदै गएको थियो, त्यति त्यति नेपाली कांग्रेसको महाधिवेशनको मिति पर धकेलिँदै गएको थियो । स्वाभाविक पनि हो । तर यत्ति ढिलोसम्म समय लिएर जानु नै व्यवस्थापकीय हिसाबले गलत थियो र संवैधानिक हिसाबले दलको रुपमा रहिरहन पनि त्यो मितिसम्ममा अधिवेशन गर्नु नै पर्दछ भन्ने बाध्यकारी अवस्था भने सृजना भएकै हो । एउटा लोकतान्त्रिक संस्थाको आन्तरिक व्यवस्थापन र सांगठनिक व्यवस्थापन लोकतान्त्रिक प्रक्रियाले हुनु नै पर्दछ र त्यो पनि नमुनाको रुपमा नै हुनु पर्दछ भन्ने कुरामा दुई मत नै रहँदैन । तर बिहेका अलमलमा केटी माग्न बिर्सेको जस्तो अरु कुराको अलमलमा जिल्ला तथा केन्द्रीय निर्वाचन नै अन्यौलमा परेर दलको दर्ता नै धरापमा पर्ने अवस्था आउन लागेको थियो । त्यसको फाइदा कांग्रेस विरोधी र लोकतन्त्रका विरोधीहरुले उठाए र आजसम्म पनि संविधान आएको खुसी सबै नेपालीले दिलखोलेर मनाउन सकेको अवस्था छैन । त्यसका पछिल्तिरका कारण जेसुकै हुन् । यसमा भने त्यो दलप्रति आस्था राख्ने लाखौं समर्थकहरुलाई लाजमर्दो हुन लागेको अवस्थाचाहिँ सृजना हुनै लागेको थियो । यो समीक्षकको विचारमा त नेपाली कांग्रेसको अन्यौल र दलको दर्तासँग पनि संविधानका असल प्रावधानहरुलाई समय पुर्‍याएर छलफल पनि गर्न सकिएको अवस्था थिएन । नेपालको राजनीतिको सूक्ष्म अध्ययन गरेर बस्ने पक्षलाई यो एउटा सुनौलो अवसर थियो प्रजातन्त्रका विरुद्धमा संविधानलाई प्रयोग गर्न ।

देशमा प्रजातन्त्र स्थापना, पुनस्र्थापना र प्रजातन्त्रको विकासका लागि अनवरत संघर्ष गरिरहने दलको रुपमा नेपाली कांग्रेस पर्दछ । प्रजातन्त्रप्रति आस्था राखेका कारणले सर्वस्व हरण गरिएका, ज्यान गुमाएका, दसौँ वर्ष जेल बसेका व्यक्तिहरुको लामो संख्या नेपाली कांग्रेसमा छ । प्रजातान्त्रिक प्रक्रिया देशमा बहाल गराउनका लागि अनवरत संघर्ष गरिरहने दलको रुपमा नेपाली कांग्रेस पर्दछ । तर सत्तामा आएपछि आफूलाई माया गर्ने र नगर्नेका बीचमा फरक देख्न नसक्ने अनि लोकतन्त्रका नाममा भिडतन्त्रलाई प्रोत्साहन दिने काम गरेको सुरुदेखि नै पाइन्छ । सायद त्यसैले तुलसी गिरी, विश्ववन्धु थापाहरुको जन्म भएको थियो र केशर बहादुरहरुको पनि जमघट भएको थियो । अहिले पनि त्यस्ता पात्रहरु पार्टीमा गजधम्म सबैको बाटो ओगटेर बसेकै छन् । यो नामको लस्कर लामो हुन्छ र अहिले धेरैजसो निर्णायक तहमा छन् । यसको उदाहरणका लागि पार्टी सभापतिदेखि सबै खाले नेताहरुको गुनासो एउटै छ तर कोही पनि त्यसको निराकरण किन गर्न सक्दैनन् त ?

एउटा मास पार्टीमा क्रियाशील र साधारण सदस्य भन्ने पो किन चाहियो ? यो समीक्षकले बुझेको सांगठनिक प्रक्रिया भनेको साधारण सदस्यहरुका बीचबाट केही सक्रिय सदस्यहरु हुनेछन् र सक्रिय सदस्यहरुबाट प्रतिनिधिमूलक सदस्यहरुले कार्यकारीहरुको निर्वाचन गर्ने हुन् । कांग्रेसमा एकैपटक सक्रिय सदस्यहरु हुन्छन् र ती पनि प्रायोजित तरिकाले । अहिले त्यसैमा मारामार छ । किन मारामार ? किनभने त्यसैबाट राम्रा र त्यागीलाई हराउन सबैले सबैलाई प्रयोग गर्ने गर्दछन् । लोकतन्त्रप्रति आस्था र संगठन गर्नेहरुको कुनै अभिलेख छैन । अहिलेकै केन्द्रीय सभापति नै यदि फेरि पनि प्रधानमन्त्री या सभापतिमा आउन सक्नु भएन भने उहाँको अवस्था गुमनाम हुन्छ जस्तो कि पहिले हुने गरेको पाइन्छ । अहिलेसम्म गणेशमानजी, किसुनजीले समेत पार्टीबाट अलग भएको घोषणा गर्नु भएको इतिहास छ । त्यस्ता धेरै प्रजातान्त्रिक सेनानीहरुलाई इतिहासको गर्भमा विलीन गराई सकेर आजको यो बेथिती देखिएको हो ।

मुलुकको यो बेथितीमा प्रमुख भागिदारको रुपमा कांग्रेसलाई सबैले लिन्छन् । संविधान बनाएर पनि त्यसको जस लिन नसक्दा र हिजोकै गलत प्रवृत्ति दोहोरिने कारकतत्वका रुपमा आगामी महाधिवेशन पनि जोडिने भएकाले कडा समीक्षाको जरुरत छ कि आजको यो अवस्था ल्याउनमा को को कति जिम्मेवार छन् ?

सर्पले भ्यागुतालाई मुखमा गाँज्दा पनि भ्यागुतो कीरा टिप्न थाल्छ रे आफ्नो जिभ्रोले भनेजस्तै मुलुकको यो भयावह अवस्थामा पनि कांग्रेसका विवाद र छिनाझपटी कायम छ । आफैँले आफैँलाई सिध्याउने प्रयास द्रूततर गतिमा कायम छ । यसै मेसोमा यो अधिवेशनले आगोमा घिउको काम गर्ने कुरामा समीक्षकहरु चिन्तित छन् । लोभी, पापी र अक्षमहरुको बथानमा कोही कोही सक्षम र इमान्दारको कुनै महत्व हुँदैन भन्ने कुरा अहिले प्रमाणित हुँदैछ । कम्तीमा शुद्धिकरण अभियान र लोकतन्त्रप्रतिमात्र आस्था हुनेको जमात नेपाली कांग्रेसलाई बनाउन सके भविष्यमा नेपालको लोकतन्त्र सुरक्षित हुने थियो भन्ने अभिलाषामात्र राख्न सकिन्छ । को सभापति, को प्रधानमन्त्री र को राष्ट्रपति भन्ने प्रश्न अब बाँकी रहेन, अब त को राष्ट्रवादी, को स्वाभिमानी, को लोकतन्त्रवादी र को नेपाली कांग्रेसको घोषित आदर्शलाई मान्ने भन्ने कुरा महत्वपूर्ण हो । अरु त प्रक्रियामा आफैँ हुने कुरा हो । अतीतमा नदेखिएको गुटबन्दी यसरी देखिएको छ कि प्रतिस्पर्धीहरुले त्यसैमा खेलाउँछन् र नेपाली कांग्रेसका कथित नेताहरु त्यसैमा आफूलाई महान सम्झेर आफैँलाई समाप्त पार्न रमाउँछन् ।

आखिर नेपाली कांग्रेसबाहेक कसैले लोकतन्त्रका बारेमा बोल्दो रहेनछ । संवैधानिक प्रणालीलाई आत्मसात गर्दो रहेनछ । त्यसैले लोकतान्त्रिक प्रणाली र आस्थाप्रतिको अविचलित यात्रामा यो महाधिवेशनले कोसेढुङ्गोको काम गरोस् । समय बाँकी छ । अरु समीक्षा सामयिकरुपमा हुने नै छ । राष्ट्र र लोकतन्त्रप्रतिको माया नै १३ औं महाधिवेशनको नारा बनोस्, लक्ष्य बनोस् र आपसमा लडार्इँ गर्ने यदुवंशी पाराको अन्त्य होस् । विषयमा बहस र निष्कर्षपश्चात एकता यही नै लक्ष्य र उपलब्धि बनोस् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell