top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

नेपाल हार्दै , भारत जित्दै !  |  Published: December 30, 2015  |  बुद्धबार 15 पुष, 2072  |  5:56 PM  |  Viewed: 4588 times

पेशल आचार्य - नेपालले यी पाँच कामहरू तत्काल गर्न सकेन भने अबको दसबीस वर्षमा नेपाल विश्व मानचित्रबाटै हराएर भारतको कुनै प्रान्त बन्न बेर लाग्दैन ।

(१) भारतसँगका विगत् सन् १९५० देखि यताका सन्धि सम्झौताहरूलाई समयानुकूल पुनःव्याख्या र नेपालको हित हुने गरी नयाँ सम्झौता गर्न नसकेमा,
(२) दक्षिणका भारतीय खुला सिमालाई समयानुकूल वैज्ञानिक तवरले व्यवस्थित गर्न नसकेमा,
(३) अङ्गीकृत नागरिकता सम्बन्धमा कडा कानुन बनाउन नसकेमा,
(४) देशका विरुद्धमा जाने सिन÷अनसिन पावरवाला वा विद्रोही जोकोहीलाई पनि समयानुकूल मातृभूमि कानुन बनाएर देशद्रोहको मुद्दा लगाउन नसकेमा,
(५) व्यापार व्यावसायमा भारत बाहेकका तेस्रो मुलुकसँग वैज्ञानिक र  व्यवस्थित प्रकृतिको समयानुकूल सम्झौता गर्न नसकेमा या खानीखनिज र तेल एवम् ग्यास उत्पादनका दीर्घकालीन योजनाहरू ल्याएर पूर्वाधारमय आक्रामक विकास गर्न नसकेमा ।

मुलुक जलिरहेको छ । लहडी र हठी आवरणमा नेपाली निरोहरू सत्तामा छन् । ती सरकारी आवासमा र जसले अनेकौं तिक्डमका साथ भ्रष्टाचार गरेर देशलाई हरिकङ्गाल बनाउँदै जोडेका आफ्ना भव्य महलमा आनन्दको बाँसुरी बजाइरहेछन् । मुलुकी ग्यास र तेलका लागि हप्तौं लाइनमा छन् तर सरकार कुरै सुन्दैन ।
    ‘सुशीलदा स्लो मोसनको संगीत सुनेर सुतेका छन् । ओली काका धुर्मुसलाई माथ गर्दै हासपरिहासमा उत्रिएका छन् । राजेन्द्र साउथ इण्डियन फिल्मका भिलेन बनेका छन् । जनता दर्शक बन्न विवश बनाइएका छन्’ –घतलाग्दा स्टाटस लेख्ने नेपाल साप्ताहिकका पत्रकार नारायण अमृतले भर्खरै कलात्मक चित्रण छन् ।नेपालीको दुःखको यो नियतिलाई अन्त्य गर्ने कुनै राजनैतिक मसिहा नेपालमा जन्मेको छैन, सायद् ।

जनताले भागबण्डारूपि गणतन्त्रको प्याकेजमा नपाउनुको बन्दहडताल, आन्दोलन र चरम अभावी प्याकेज पाएका छन् । विगत्मा नेपाल अतीव शान्त थियो ? नेपाली जनताको इस्पाती एकतामा क्रमशः हाम्रै नेपाली ‘लेण्डुप नेता’ हरूले भाँजो हाल्दै अनेकानेक खेलहरू खेल्न भारतलाई दिँदा यो अवस्थामा पुगेको हो । यो परिस्थितिले पुरानो नेपाली उखान ‘बाख्राको पुच्छर काटी बोकालाई सजिलो’ लाई तितो रुपमा सम्झाएको छ ।

अझै भारत नेपालमा यो वा त्यो बहानामा खेलिरहेको छ । उसले यहाँ सबै पार्टीका नेताहरूको पाउ, छटाक, सेर र पसेरीको हियो र ह्याकुलो छामिसकेको छ । प्रजातन्त्रका नाममा साजिस रच्दै उसले यहाँका नेताहरूलाई दमडीको लोभ र अनेकौं पदीय लालच देखाएर दक्षिणपन्थी र वामपन्थी दलहरूमा लगाएको फसल अहिले आएर भागबण्डाको सिण्डीकेटरूपि गणतन्त्रकालमा मधेशवादी दलको आन्दोलन र नाकाबन्दीको अनुकूल मौसममा उठाउँदैछ । यसमा ऊभन्दा बिकाउ नेपाली नेताले नै अक्षम्य गल्ती गरेका जनताले थाहा पाइसके ।

वाह ! नेपाली मोदीहरु ! ! बधाइ छ, तपाईंहरूलाई ।

यतिखेर प्रसिद्ध कथाकार हान्स एन्डरसनको सन् १८३७ मा प्रकाशित र अहिलेसम्म सयभन्दा बढी भाषामा प्रकाशित ‘बादसाहको नयाँ लुगा’ नामको डेनिस कथाले नेपाली राजनीतिको क्रूर यथार्थ चित्रण गरेको छ । सन्की बादशाहलाई चतुर मन्त्रीले महान् बेबकुफ सावित गर्नैका लागि नदेखिने लुगा लगाएर सहर घुमाउँदा एकजना बालकले बादशाह नाङ्गै भएको खुलासा गरेपछि बबण्डर मच्चिन्छ । साँचो बोल्ने त्यो बालकझैँ आज नेपालमा पनि करोडौं सचेत नेपाली जनता देश र विदेशमा सर्वत्र छन् । गणतान्त्रिक नेपालका भरौटे बादशाहहरू आफ्ना कर्तुत र व्यवहारका कारण यति धेरै नाङ्गिइसके कि अब उनीहरूले छोप्न बाँकी कुनै कुरा छैनन् ।

२०६२-०६३ को आन्दोलनपछि भारतले राजा ज्ञानेन्द्रलाई सिँहासनबाट हटाएन मात्र नाङ्गो बनाएर सामान्य नागरिक नै बनाइदियो । सर्वहाराको महान् क्रान्ति गरेर नेपालमा शक्तिशाली कम्युनिष्ट राष्ट्रपतिको पगरी गुत्ने लोभ देखाएर प्रचण्डलाई संसदीय राजनीतिको भासमा ल्याएर लाखौं कम्युनिष्ट कार्यकर्ताको आस्था र विश्वासप्रति कुठाराघात गर्दै उल्टै नङ्ग्यादियो । संविधान जारी भएकाबखत विवादास्पद राजनीतिक छवि बनाएका डा.बाबुराम भट्टराईलाई एमाओवादीबाट बहिर्गमन गराई नाङ्गो बनाइदियो ।

दिल्लीका मुख्यमन्त्री केजरीवालको जस्तो ‘आम आदमी पार्टी’ खोल्न  डा. बाबुराम यतिखेर देश दौडाहामा लागेका छन् । उनलाई नेता मानेर ‘रक्तक्रान्तिको ज्वालामुखीमा’ बोलको क्रान्तिकारी गीत गाएर घरबार छाडेका कार्यकर्ता र नेता तीनछक्क परेका छन् । उनको हैसियत महाभारतको पात्र सिखण्डीको भएको छ । पढिँदैछ –उनी नेपाली राजनीतिमा कुनै हैसियत नभएका र केही दर्जन रिटायर्ड अनुहारहरूलाई साथलिएर ‘नयाँ शक्ति’ नामको ‘नेपाली आम आदमी पार्टी’ खोल्दैछन् ।

हार्ने पूरापूर देखिएको प्रधानमन्त्री चुनावमा भारतले सुशील कोइरालालाई उठाएर फेरि अर्कोपटक नाङ्गो बनाइदिनुका साथै साना पार्टीहरूको लोहोरो मिलन देखाएर ओलीको सरकारमा १६ दलको उपस्थिति मात्र गराएन आधा दर्जन उप प्रधानमन्त्रीसमेत बनाइदियो । एकातिर बहुमतीय आधारमा ऊ प्रधानमन्त्रीको चयन गर्न सफल भयो भने अर्कोतिर काँग्रेस र एमालेको संविधान जारीभन्दा अघिको भद्र सहमतिमा धाँजा पार्न पनि सफल भयो । मधेश आन्दोलन त उसको तुरुप मात्रै हो । उसले अङ्गीकृत नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र सीमाङ्कनको खेल अघि बढाउँदै अन्नतोगत्वा नेपाललाई फिजी बनाउनै खोजेको हो ।

नेपाली इतिहास गहन विश्लेषण गर्दा २००७ को प्रजातन्त्रपछि भारत हरेक पक्षमा सूक्ष्म व्यवस्थापन गर्न नेपालमा सफल हुँदैछ । अहिले देशमा राजनेताको भ्याकुम भएको छ । देशमा चलायमान सबै पार्टीमा संस्थागत निर्णयलाई कुल्चदै केही टाउके नेतालाई निर्णय गर्न दिँदा तीती पार्टीहरूमा लागेका इमान्दार र सिद्धान्तनिष्ठ कार्यकर्ता र नेताहरूको बोली कार्पेट मुनि दबाइएको छ ।

देशलाई यस्तो अशान्त, अस्थिर र कोलाहलमय बबण्डर राज्यमा लैजान तीनजनाको प्रमुख हात छ –एक नेपाली काँग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको, दोस्रो भूतपूर्व बनाइएका राजा ज्ञानेन्द्रको र तेस्रो भारतलाई जे जुनशैलीमा विरोध गरेजस्तो देखाए पनि ऐमाओवादी नेता प्रचण्डको । जसले नेपालमा जातीय राज्यको वीज छरेर देशलाई यो भड्खालामा ल्याइपु¥याएका छन् । भारतले उहिल्यैदेखि ग्य्रान्ड डिजाइन गरेर ‘म्याच फिक्सिङ्’ गरिरहेको कुरा नेपालीलाई थाहा भैसकेको छ । नेपाली नेताहरू उसका राजनीतिक म्याच फिक्सिङ्हरूमा एकपछि अर्को गर्दै क्रमशः फँसिरहेका छन् ।

भारतीय राजदूतावासबाट वार्षिक २५ अरब तलबमा बिकेका सबै किसिमका सफेद पोसाकधारी सुकिलामुकिलाहरू यहाँ विभिन्न भूमिकामा विराजमान छन् । सूत्रधारको भूमिकामा उसका व्युरोक्र्यासहरू नेपालभरि छरिएर रहेका छन् । नेपालको लालची र कमजोर कर्मचारीतन्त्र, भिजनविहीन नेताहरूको लोभीपापी व्यवहार र जीर्ण राजनीतिक परिवर्तनको फाइदा उठाएर ऊ नेपालका आफूले लैजान बाँकी अपार जलस्रोतमा गिद्धेदृष्टि लगाएर बसेको छ ।

यतिखेर नेपाली सत्तामा अण्डर एसएलसीवालाको बोलबाला छ । सबै पार्टीले सिद्धान्त र आस्था पोलेर खाइसकेका छन् । कमल थापा, चित्रबा र सिपीजीहरुको राजनैतिक अजेण्डा पनि तुरिएको अवस्था छ । पार्टीले चुनाव जित्नु पर्दैन, यहाँ । एकजना समानुपातिक कोटामा सांसद भएका एकनाथ ढकाल मन्त्री बनेर सानदार ढंगले झण्डा हल्लाउन थालेका छन् ।

सिण्डीकेटमा चलाइएका छन् –पार्टीहरू । शासनमा कार्टेलिङ् गरिएको छ । तेल र ग्यास जनताका पँहूचबाट भूमिगत भएका छन् । कालो कमिसनमा मन्त्रीहरुको अतिरिक्त आम्दानीको मेलो चलेको छ । जहाँ योग्यता र क्षमताभन्दा पैसाको खोलो बगाइएको छ । एमाले सभाषद् राज्यलक्ष्मी गोल्छाको करतूतलाई ढाकछोप गर्न जगतै हँसाएर उल्टै उनलाई सार्वजनिक अभिनन्दन गरिएको छ ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीका शब्दमा –‘भारतले सात सालदेखि नै कहिले राजामार्फत्, कहिले पार्टीमार्फत् खेल खेल्दै आयो र आइरहेछ । ऊ पच्चीस र पचास वर्षको भिजन बनाएर आफ्नो कुत्सित राजनीतिक मनसायको बिजिनेस गर्न सबै किसिमको लगानी गरिरहेको छ । जसमा ऊ सफल भएको छ ।’ अहिलेको मधेश आन्दोलन पनि यस्तै हो ।

अब हेर्दै जानु छ –देशका स्वनामधन्य पत्रकार, लेखक, एनजिओ र आइएनजिओमा लागेर उँचो व्यक्तित्व बनाएका भनिएका कसकसको मुखौटा अझै उघ्रिने हो । जनतालाई ती कथित व्यक्तित्वको मुखौरो जतिसक्दो चाँडो उघ्रिएको हेर्ने रहर छ । लोकतन्त्रमा मुखुण्डो लगाउन जति सजिलो हुन्छ तर त्यसलाई बँचाइराख्न त्योभन्दा धेरै गुना बढी तागत लगाउनु पर्छ ।

आखिर लोकतन्त्र भनेको प्रकारान्तरले ठालुतन्त्रको मुखुण्डो नै हो । नेपालको लोकतन्त्र शनैःशनैः लुटतन्त्रमा र गणतन्त्र फाष्टगतिमा गनतन्त्रमा चाँच्चाँडो अनुवाद भैरहेकोले त्यसको बास्तविक मुखुण्डो उत्रिन अब धेरै कुर्नु नपर्ने भएको देखिएको छ ।

अख्तियारले धरौटी मागेका प्रहरीका बहालवाला र भूपू अधिकारीले राखेको धरौटीबाट पनि जनता चकित भएका देखिए । पाल मुनिका जनतालाई न्यानो दिनै मन्त्री थप्ने जुक्ति उखाने प्रमले जो निकालेका छन् । त्यसलाई इतिहासले मार्मिक रुपले मूल्यांकन गर्ने नै छ । राष्ट्रपतिले पशुपतिमा ठाँटसँग पूजार्चना गरी भेटी स्वरुप एक महिनाको तलब दान गर्नु ‘धर्म अफिम हो’ भन्ने महान् वाणिको सानदार बर्खिलाप होइन र ? बरु त्यो एक महिनाको तलब दोलखा या गोरखाका भूकम्पपीडित र जाडाले कामेका गरिबहरुलाई दिएको भए मानव धर्म कायम हुने थियो । सत्तामा बसेपछि बुद्धि किन हराउँछ ठालुहरुको ? भूपू भएपछि के यिनीहरुले जमिनमा टेक्ने दिन आउँदैन र ? सर्वत्र जिज्ञासा चुलिएको छ । सबैमा चेतना भया ।                        

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell