top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

देशले पीडा भोगेका बेला , युगपुरुष मरिचमान सिंहको सम्झना  |  Published: January 1, 2016  |  शुक्रबार 17 पुष, 2072  |  5:59 PM  |  Viewed: 3706 times

नरेन्द्रबहादुर श्रेष्ठ - मुलुक नाकाबन्दीको चपेटामा परेको छ । सरकार र दलहरु तीन महिना लामो नाकाबन्दीका बारेमा मौन छन् । जनतामा आक्रोशसंगै पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सम्झना व्याप्त छ । संयोग मान्नु पर्छ , भारतीय नाकाबन्दी झेलिरहेका बेला मरिचमान सिंहको जन्मदिन पनि परेको छ । उनी जनवरी १ , १९४२ सालमा जन्मिएका थिए ।

मरिचमान सिंहको प्रधानमन्त्री कालमा देशले लामो भारतीय नाकाबन्दी खेप्नु पर्यो । जुन आज पनि चर्चा गरिन्छ । भारत नेपाललाई झुकाएर आफ्नो इसारामा नचाउन खोज्ने ,तत्कालीन प्रभानमन्त्री मरिचमान र दरवार भारतका सामु नझुक्ने भएका कारण नेपालको तत्कालीन सरकारलाई अफ्ठायारोमा पार्नका लागि भारतले आर्थिक नाकाबन्दी लगायो । भारतको नाकाबन्दीका विरुद्धमा निडर प्रधानमन्त्री सिंह झुकेनन् बरु सत्ताच्यूत गरिए ।

भारतका सामु मरिचमान नझुक्दा उनको राजनीतिक यात्रा त असहज भयो तर उनको देशभक्ति झनझन जनमानसका अगाडि आयो । अहिलेको राजनैतिक अराजकता र नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई अझ माथि उठाइदिएको छ ।  ।
२०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दी समक्ष नझुकेका र भारतले पठाएका गोप्य दस्तावेजमा अपारदर्शी रुपले हस्ताक्षेर गर्न नमानेका कारण उनको राजनीतिक जीवनलाई समाप्त पार्ने काम गरियो । त्यसबेला मरिचमानले लिएको राष्ट्रिय अडान नेपाली राष्ट्रवादको मानक हुन सक्छ । उनले राष्ट्रिय स्वाभिमान जोगाउन खेलेको भूमिको चर्को मूल्य तिर्नु पर्यो । उनलाई अपमान गर्न मुलुकका  दलहरु र भारत कम्मर कसेर लागे ।

०६२ –०६३ को राजनीतिक परिवर्तन पछि मरिचमानलाई अपहेलना गर्न जति  तरिका निकालियो त्यती नै तरिका  भारतलाई खुशी पार्न निकालियो । कुनै राजनीतिक र सामाजिक हैसियत नभएका रामराजा सिंहलाई राजकीय सम्मान दिनु भारतलाई खुशी पार्न दलहरुले गरेको अन्तिम चाकडी थियो ।
मरिचमानलाई सिंगो देशले अपमान गर्नु पर्ने कुनै कारण थिएनन् । भारतका कट्टर विरोधी मरिचमानलाई अस्तित्वविहीन पार्दा भारत खुसी हुने भ्रममा थिए, नेपालका दलहरु  । उनका पंचायतकालीन साथिहरु कुनै न कुनै दलको पुच्छर समातेर भारतको दलाली गर्न लागे तर मरिचमान बरु एक्लिए भारतको गुलामी गरेनन् ।

मरिचमानलाई जीवनभर त अपमान गरियो गरियो मरेपछि पनि उनको राष्ट्रवादी छविसंग डराउनेहरुले अपमान गर्न छोडेनन् । पूर्वप्रधामन्त्रीले पाउने सेवासुविधा खोसिएका मरिचमानको अन्तिम श्रद्धाञ्जलीमा राजकीय सम्मान नदिएर भारतलाई खुशी पार्ने अर्को मौका छोपे दलहरुले ।मरिचमानको अपमान नेपालका दलहरुको् हैसियतले मात्र भएको छैन् । दिल्ली अर्थात 'र' को आदेशमा उनको अपमान भएको थियो । भारतसंग राष्ट्रियताको टकराव गर्नेहरुको अवस्था यस्तै हुन्छ, भन्ने सन्देश दिनका लागि मरिचमानमाथि भारत लागिपर्यो ।

मरिचमान अहिले हाम्रा माझ छैनन् ।तर उनको राष्ट्रवाद झनझन खोजिन थालिएको छ । मरिचमान राष्ट्रप्रति कति संवेदनशील थिए । भारतीय नाकाबन्दीको प्रति उनी रत्तिभर अत्तालिएका थिएनन् ,भन्ने अनेकौ दृष्टान्तहरु त्यो समयलाई भोग्नेहरुसंग छन् । । म आफु बिशाल बजार व्यापार संघको अध्यक्ष हुदा मरिचमानले आफै संघलाई पत्रपठाएर देशप्रति समर्पित हुन गरेको आग्रह आजपनि सम्झिन्छु ।

पत्रमा उनले लेखेका छन् – “नेपाल र भारतबीचको व्यापार तथा पारवान सन्धिहरुको समाप्तिपछि जनजीवनमा पर्न आएका केही कठिनाईबाट रत्तिभर पनि विचलित नभई धैर्य र संयमका साथ राष्ट्रिय स्वाभिमान अडाउन हक र हितको पक्षमा  तपाईबाट देखाएको समझदारी , सहयोग र दृढता श्री ५ को सरकारको लागि सशक्त आधार हुन पुगेको ।”

मरिचमान सिंह जनजाति नेवार समुदायबाट पहिलो प्रधानमन्त्री बन्न पुगे । उनलाई राजनीति गर्न त्यति सजिलो थिएन । हकि , निडर उनी बरु राजनीतिबाट अलग्ग बसे तर देश बेचेनन् । उनै युगपुरुष मरिचमानमा श्रद्धासुमन ।   


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell