top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

सरकार हुनुको आतङ्क !  |  Published: January 3, 2016  |  आईतवार 19 पुष, 2072  |  1:45 PM  |  Viewed: 685 times

नरेन्द्रराज पौडेल - हो त नि यो देशमा सरकार छ ! र नै आतङ्क छ । औषधि ग्यास पनी बत्तीको हाहाकार हुनुमा नै यसको अनन्य योगदान रहेको छ । लेकबेसीमा बस्ने भूकम्प पीडित बालबालिका र बूढाबूढीमा शीतलहर र जाडाको बर्चस्वले विभिन्न रोग व्याधको प्रकोप फैलिएर सरकार सफलतातर्फ उन्मुख भैरहेको छ । त्यसमा पनि बोर्डरक्षेत्रको शान्तिसुरक्षा बहालीमा भने यसको अनुपममात्र होइन अभूतपूर्व नै योगदान रहेको छ ।
हो त सरकार छ र नै जनतामा विचित्र आनन्द छ ! विचित्र यस अर्थमा छ कि सरकार स्वयं बहुचित्रको छिर्विरे रङ्गमा रङ्गिएको छ । र नै यो टाटेपाटे बाघ भएर जनतामा सुखसमृद्धि अमनचैनका पञ्जा मार्न कस्सिएको छ । टाटेपाटे पनि यस अर्थमा छ कि यसभित्र रतिक्रीडामा संलग्न सर्पसर्पिणीको मेख मार्नेगरी गिरिजापुराणमा वर्णित माले मसाले मण्डले नाउँका देश धुल्याउने धमिराहरु एक ज्यान भएर एकै काम्लोभित्र अटाएका छन । त्यही बहुरङ्गी सरकारको छत्रछाया पाएर नै देशभित्र अमनचैनको खाताखात छ । र नै नेपालमा गणतन्त्र गाँणतन्त्र न भै गणिकातन्त्रको सर्वोत्कृष्ट उदाहरण बनेको छ । यो गणिकातन्त्र पनि यति यत्ति जनपिय भएको छ कि मान्छेको मनमस्तिस्कमा ऐँजेरु बनेर दिनरात नभनी अहोरात्र मौलाएको छ ।
पूजीवादी अर्थशास्त्रीहरु राज्यलाई आवश्यक अभिशाप भन्थे । नभइ पनि नहुने भएपनि सुखभन्दा दुःख बढी दिने । व्यक्तिको सम्पत्ति कमाउने उपभोग गर्ने अवाध निर्वाध स्वतन्त्रतामाथि अंकुश लाउने र छिर्के दाउ हानेर  स्वतन्त्रताको उचाइलाई ढाल्ने अनि मान्छेको अस्मिताको महललाई लडाउने र धूलोमा मिलाउने काम गर्छ राज्यले—उनीहरु यस्तै गनगन गर्दै सिद्धान्त बनाउँदै गर्थे ।

हाल आएर गणतन्त्रे नेपालमा भने राज्य आफैं आवश्यकभन्दा अति आवश्यक चैं अभिशाप बनेको हो कि भन्ने सोझासीधा जनतालाई लाग्न थालेको छ । यहाँ त राज्यको काम सरकार बनाउने र सरकारको काम परपरी भाषण ठोक्ने र जनताका दुःखकष्ट,असुविधा,अनिकाल, शीतलहर र अन्धकारमा रमाएर हाँसो ठट्टा गर्दै रत्यौलीमा रमाउनु रहेको छ । त्यसमा पनि दूरदराजमा रहेका बाढीपहिरो अनि भूकम्पप्ीडित अनाथहरुको नाउँमा राजनीति दाउ खेलेर तिनलाई महँगो भाउ खोजेर भजाउँदै आपूm र आसेपासेको धोक्रो भर्ने काम मात्र सिद्धयाउनु परेको छ । भोका नाङ्गा जनताका नली खुट्टीमा अञ्जीर ठोक्ने काम मात्रै प्रमुख लक्ष रहेको भन्दा हुन्छ ।
सरकार छ र नै त्यो बनाउने भत्काउने पुच्छर निमोठने र पगाहा लगाउने दलहरु छन । दल भएर नै दलालहरु छन । देशको अस्मितामाथि दाउ थापेर जुवा हान्ने खालेहरु छन । अपच्दो सरकारी सुविधा हसुरेर मझेरी फोहोर गर्ने रण्डखालेहरु छन । पालो आउला र विगौती खाउला अनि बिगूल बजाउँला भनी कोतपर्व पर्खने भण्डारखालेहरु छन ।
हो सरकार छ , र नै नानाथरी नामनामेसीका विविधखाले दिक्पालहरु अटाएका छन । देशको ढुकुटी रित्याउन भूपू बर्तमान सबैखाले सण्डमुसण्डहरुकोदागि सदावर्त भण्डारा लागेको छ । अनि हसुर्ने प्रयोजनमा बलीयाबाङ्गालेमात्रै डाडुपन्युँ आफैंतिर घर्काउने र भारेभुरे बाथ भन्दै भोकानाङ्गा, वृद्धबालकजतिलाई ढिम्कन नदिई बोर्डरमा तस्कर पालेर नाकाबन्दीको मौका छोप्दै र नौथरी बाहना बनाउँदै एकलौटी हसुर्नेको खाँडो जागेको छ । त्यसमा सहयोग पु¥याउन क्षेत्रपाल द्वारपाल उदरपाल नाउँका गणहरु पनि टाट्नो चाटेर उग्राउँदै छन । आँङमा सफा खोल हालेर भाङको तालमा देश बनाउन भन्दै पराइ देशमा पाउलागी पर्ने पनि छन । कुनै दिन संघीयतालाई घाँडो भनेर होहल्ला गर्ने र अहिले त्यसैको कुन्यूमाथि दाइँ हाल्नेहरु छन । छनमात्र होइन त्यही संघीयताको फाँडो खाएर मझेरीमा नै फोहोरको रैफाँडो थुपार्ने खालेहरु झनै जमजमाएका छन । दैवीप्कोपको नाउमा लाग्ने विदेशी सदावर्ते भतेरको लागि हााँपझाँप गर्न मात्र यो धरतीमा अवतरित भएका जीओ एनजीओहरु लाइन लागेका छन । आआफ्नो औकात दक्षता अनुसार केही घोक्र्रो फुलाएर सनै फुक्दै छन । कोही कर्नाल डुक्रदै छन । कोही ट्याम्का ठटाउँदै छन । कोही मादल त कोही झ्याम्टा बजाउँदैछन । कोही आफ्नौ राग अलापेर मालसिरी गाउनमा मग्न छन ।
हो यो देशमा सरकार छ र नै विकास निर्माणका आयोजना छरपष्टै छन । कोही बिजुलीका छन कोही खाने पानीका छन । अनि कोही मोटर गुडाउने र जहाज उडाउँने पनि छन । कोही सिञ्चाइ गरेर देशमै चाहिँदो अन्न फलाउने पनि छन । छन मात्र होइन , ती सबै सधै चालु छन , रहेकै छन । र नै ती कहील्यै पूरा हुनेतर्फ अघि बढ्दैनन । तिनै आयोजनाको कात्रोमाथि बसेर यहाँका जननायकहरु नायवी चलाउँछन । अनि जनताकै नाम भजाएर ङारङुर गर्दै सरकार बनाउने विगार्ने र टिकाउने खेल हुन्छन । तिनमा कतै झेल हुन्छ त कतै राष्ट्रिय ढुकुटी पेलम्पेल हुन्छ । कतै कसले पहिलो भाग सुम्ठ्याउने भनेर आपसमै खडाजङ्गी पर्छ र ठेलमठेल हुन्छ । अन्त्यमा मिलिजुली खाने एकसूत्रीय मेल हुन्छ । अनि भाषणको लीकमाथि सुपर्फाष्ट रेल चलेर हुइयाँ छोडदै देशैभरी दौडिएर छुट्टि गर्छ ।
सरकार छ र नै बलियाले ग्यास पाउछन । निर्धाले पुलिश दाइको कुटाइ खान्छन । हो देशमा सरकार छ र नै अनिकाल छ । अनिकाल छ र नै खाद्यान्य तेल मसला लुगाफाटा आयात गरिन्छ । आयात हुन्छ र नै सरकार आफैं उपभोग्य वस्तुको तस्करी र कालोबजारी चलाएर जनतामाथि जाल हान्छ । अन्नपात इन्धन र अरु चाहिने वस्तुमा उच्चस्तरीय सरकारी अधिकारीहरु खटाएर सरकार आफैंँ कालोबजारी गर्छ । तेलका भण्डारगृहमा थरीथरी माछा पाल्ने गर्छ । तिनै असला माछामाथि मसला मलमाल गरेर धनियाँ प्याजसहितको सोरुवा बनाएर पुषको ठण्डी मानाउछ । महँगीको मारमा पिल्सिएका जनताको छाला तरेर सरकार चर्मपरिधान पहिरन्छ । बेसहारा चेलीबेटीको कपाल उखलेर झीँगा भगाउने चमर डोलाउँछ । आपूm तीनपानेको बर्को ओड्छ । तिनै जनाताको इन्धन आभावको क्याम्पफायरमा सुकुटीसंग तातो सीप दिदै दोहोरी गीत गाएर डेउढा नाँच देखाउँछ । तव पो सरकार !
त देशमा राष्ट्रिय भेषभूषासहितको सरकार छ र नै तराई दूनका जनतालाई शीतलहरको अनुभव हुँदैन । अलि अलि भैहाले पनि सिडियो लगाएर ठूटामुढा बाँडीदिन्छ । जनताको भोको पेटमा चारो हाल्ने गफ दिन्छ तर काममा जिरो । उल्टै भाषणको वीचवीचमा धारे हात लम्काउँदै अलच्छिनको घारोमात्र तेस्र्याउछ । उधारो आस्वासन बाँडेर अभाव र बेरोजगारी पीडितलाई झीँगा मार्ने, तास खेल्ने काम खिलाइदिन्छ । उसको जादूगर पाराको भाषण सुन्दा च्यातिएका प्लाष्टिके छाना एकाएक रङ्गीचङ्गी बज्रबुर्जामा बदलिएको भान पार्छ । असीबर्षे लेकाली बूढाबूढीको कठ्याङ्ग्रिएको ज्यानलाई बादल फाटेको दिन न्यानो घामको पाहार उपहार दिएर सरकार मक्ख पर्छ ।
यो देशैभित्र सरकार छ र नै सुरक्षा छ । किन त भन्दा सुरक्षाकोलागि देशले प्रहरी गुप्तचर अनि शेना पालेको छ । र नै शेना दरवन्दी थप्याथप्यै गर्छ । शेना परेड खेल्छ । तालीम गर्छ । विदेश जान्छ र डलर कमाइ ल्याउँछ । शेना छ र नै बन्दूक पड्काएर परेवा भगाउँछ । भँगेरा तर्साउँछ । बोर्डर पारीबाट आएका  विदेशी अपराधीले पुलिश चौकीमा पेटेलबम हान्दा थपडी मारेर दुःख मनाउँछ । सीमापारीबाट शसस्त्र बल आएर दशगजा कब्जा गर्दा गहीरो घुराइमा मस्त रहन्छ । अनि कसैले घचघच्यायो भने मजैले भनिदिन्छ– बोर्डरको सुरक्षा गर्नु शेनाको काम होइन , फुइँ झार्ने , दरवन्दी थप्ने र विदेश जाने या बसीबसी खानेमात्रै हो ।
त सरकार छ र नै देशभित्र थुप्रैथरी आयोगहरु छन । यी बन्नैकालागि बनेकामात्र छैनन विनाकाम राज्यको ढुकुटी चपाएर कोही हीटर तापेर उङ्दै छन । कोही पहारमा उग्राइ बसेका पनि छन । कोही राम्रो गर्छु भनेर कस्सिँदा सत्तोसराप खाएर हाड मकाउने पनि छन । तिनले गर्नुपर्ने काम कर्तव्य सम्वन्धी नीति नियम कानून बनाउनमा सांसदलाई सरोकार छैन । सरकारलाई चासो र फुर्सद पनि छैन । मानौ आयोग भन्नु विकासे घाँसको मैदान हो जहाँ कामकाज नभएका,नपाएका साँडे दादाहरु स्वछन्द चर्ने गर्छन । अवाध विचारण गर्छन ।
त्यस्तै देशमा सरकार छ र नै विदेशमा नियोगहरु छन । नियोगमा नियुक्त अधिकारीहरु देशमा नाकाबन्दी हुँदा खुच्यूँ भन्दै सुतेर दिन कटाउनमा आनन्द मान्छन । रातमा अरुले दिएको जाँडपार्टी र रात्रीभोजको मात साट्छन । गरीव देशको कमजोर मुद्रा साटेर महागो डलर पचाउछन तर देशमा कस्तै शंकट पर्दा तातोछारो केही नगरी अनलाइन र फेसबुकका समाचार हेरेर रमाउछन ।  युटयूबमा मनोरञ्जन पघारेर निदाउँछन । बस !

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell