७३ औं गोल्डेन ग्लोब अवार्ड : लियोनार्दो बने सर्वश्रेष्ठ अभिनेता | Published: January 11, 2016 | सोमबार 27 पुष, 2072 | 12:32 PM | Viewed: 715 times
लस एन्जलस, पुस २७ । अमेरिकाको लस एन्जल्समा आयोजित ७३ औं गोल्डेन ग्लोब अवार्डमा लियोनार्दो डि क्याप्रियोलाई ड्रामातर्फ सर्वश्रेष्ठ अभिनेता घोषित गरिएको छ । उनले चलचित्र ‘दि रेभेनान्ट’ बाट सर्वश्रेष्ठ अभिनेताको उपाधि हासिल गरेका हुन् ।
उत्कृष्ट चलचित्रको विधामा पनि ‘दि रेभेनान्ट’ कै बर्चश्व
रह्यो । सो चलचित्रकै निर्देशक अलेजान्ड्रो जि एनार्रिटुलाई सर्वोत्कृष्ट निर्देशक घोषणा गरियो ।
त्यस्तै ब्रि लार्सोनलाई ड्रामातर्फ उत्कृष्ठ अभिनेत्रीको अवार्ड प्रदान गरियो । उनलाई चलचित्र ‘रुम’ का लागि सो पुरस्कार प्रदान गरिएको हो ।
कमेडी या म्यूजिकल फिल्म श्रेणीमा उत्कृष्ट नायिकाको अवार्ड जेनिफर लरेन्सलाई दिइयो । उनलाई चलचित्र ‘ज्वाय’ का लागि सो पुरस्कार दिइएको हो ।
अभिनेता म्याट डोमेनलाई ‘मोशन पिक्चर (कमेडी या म्यूजिकल) को सर्वश्रेष्ठ नायक घोषित गरियो । उनले चलचित्र ‘दि मार्शियन’ का लागि सो पुरस्कार हासिल गरेका हुन् ।
चलचित्र ‘दि मार्शियन’ लाई सर्वश्रेष्ठ म्यूजिकल या कमेडी चलचित्र घोषित गरिएको छ ।
त्यसैगरी ब्रिटेनकी अभिनेत्री केट विन्सलेटलाई फिल्म ‘स्टिभ जब्स’का लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ । सोही चलचित्रबाट आरोन सोरकिनलाई सर्वश्रेष्ठ पटकथाका लागि अवार्ड दिइयो ।
सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार भने सिल्बेस्टर स्टेलोनलाई दिइयो । उनलाई ‘क्रिड’ चलचित्रका लागि सो पुरस्कार दिइएको हो ।
सर्वश्रेष्ठ विदेशी चलचित्र भने हंगेरीको चलचित्र ‘सन अफ सोल’ लाई घोषणा गरियो ।