top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

हुचिल तस्करीमा वृद्धि  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  10:04 AM  |  Viewed: 645 times

उदयपुर, पुस २९ । पूर्वी क्षेत्रका रामपुर, चौदण्डी तथा बबला र मैनामैनी क्षेत्रबाट दिनानुदिन लोप हुँदै गइरहेको दुर्लभ पन्छी हुचिलको तस्करी बढ्दै गएको छ ।

विशेष गरेर वन तथा खोला इलाका क्षेत्रमा लाटोकोसेरोका अनुहारको ठूलो चरो ‘हुचिल’ पन्छी पाइन्छ । यिनले लाटोकोसेरो जस्तै राति आँखा देख्छन् । हुचिल तस्करीमा केही स्थानीयवासी र सुनसरी, मोरङ तथा सप्तरी क्षेत्रका सिकारीको संलग्नता रहेको रामपुर जहडाका धनबहादुर मगरले बताए ।

मगर भन्छन्, ‘हुचिल दिनमा वन र खोला किनार रूख तथा ओडारमा बस्ने गर्छन्, दिनमा नै सिकारी गएर मार्ने तथा पासो थापेर मार्ने गरेका छन्, प्रायः जिउँदै पासोमा पारेर लाने गरेको हामीले नै पटक पटक देखेका छौं ।’

मैनामैनी क्षेत्रमा हुचिल तस्करी स्थानीयवासीको पनि सहयोगमा हुने गरेको छ । सुनसरी क्षेत्रका हुचिल तस्करले भारतको वीरपुर तथा भीमनगर क्षेत्रमा लगेर बिक्री गर्ने गरेको मैनामैनी–४ का हर्कमान राईको भनाइ छ ।

राई भन्छन्, ‘हुचिल तस्करले कतिपय स्थानीयवासीले पक्रेका हुचिललाई सहजै दश हजार रुपैयाँ दिएर लाने गरेका छन् ।’ अन्यत्र क्षेत्रमा लोप हुँदै गइरहेको दुर्लभ हुचिल पन्छी उदयपुरको पूर्वी क्षेत्रका जङ्गलमा अहिले पनि प्रशस्त मात्रमा पाइने गरेको स्थानीयवासी बताउँछन् ।

अन्यत्र क्षेत्रबाट आएर समेत हुचिलले यस क्षेत्रमा बच्चा हुर्काउने गरेको छ । हिउँदको समयमा हुचिल बढीमात्रामा यस क्षेत्रमा आउने गरेको स्थानीयवासीको भनाइ छ । हुचिल सिकारीले विशेष गरी राति समाउने गरेको रामपुर–६ गुरुङचौरीका भवीन्द्र राई बताउँछन् ।

केही वर्षअघिदेखि हुचिल तस्करी हुँदै आएसँगै स्थानीय प्रहरीले केही तस्करीमा संलग्नलाई पक्राउ गरेर कारबाहीसमेत गरेको छ तर पनि वन कर्मचारी तथा सुरक्षा वनरक्षकको उपस्थिति प्रभावकारी नहुँदा र स्थानीयवासी पनि हुचिल तस्करमा संलग्न हुँदा अहिले यी क्षेत्रमा हुचिल लोप हुन थालेको बताइएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell