top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

नेपालले श्रीलंकालाई हरायो, बिमलले गरे गोल  |  Published: January 13, 2016  |  बुद्धबार 29 पुष, 2072  |  5:56 PM  |  Viewed: 37926 times

अपडेटः
काठमाडौं, पुस २९ । नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा श्रीलंकालाई पराजित गरेको छ ।

बंगबन्धु अन्तर्राष्ट्रिय फुटबल मैदानमा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो ।

नेपालको जितमा बिमल घर्तीमगर नायक रहे । उनले खेलको दोस्रो मिनेटमै गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । उनी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

यससँगै नेपाली टोलीले श्रीलंकासँग राम्रो बदला पनि लिएको छ । अघिल्लो साता साफ च्याम्पियन्सिप फुटबलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

यस्तै, यो जितसँगै नेपालले १३ खेलसम्मको जितविहीन यात्रासमेत टुंग्याएको छ ।

सन् २०१३ को साफ च्याम्पियन्सिप फुटबल प्रतियोगितामा भारतविरुद्ध २–१ को जित निकालेको नेपालले त्यसपछि जित निकाल्न सकेको थिएन ।

बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा मलेसियन क्लब फेल्डा युनाइटेडसँग गोेलरहित बराबरी खेल्दै नेपालले १ अंक जोडेको थियो भने यो जितसँगै नेपालको ४ अंक भएको छ । यो खेलपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।

समूहको अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक बंगलादशेको सामना गर्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक बंगलादेश, नेपाल, मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell