top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

पूर्वअर्थमन्त्रीको पुरस्कार महात्म्य  |  Published: January 14, 2016  |  बिहीवार 30 पुष, 2072  |  1:15 PM  |  Viewed: 1045 times

पेशल आचार्य - 'हामी गरिब, पूरै देश गरिब ।'हामी भ्रष्ट भएर गरिब भएका हौं । अहिलेको नेपालमा व्यक्तिले जितेको छ । देशले हारेको छ । युवापुस्ता भन्छ –‘हामी ग्लोबल वल्र्डमा बाँचेका छौं ।’ ऊ कोरियाले हाइड्रोजन बम परीक्षण गरेको घटनाले विश्व शान्तिलाई खल्बल्याउँछ भनेर पिरोलिन्छ । हाम्रा नेताचाहिँ काठमाडौँ–निजगढ ‘फाष्ट ट्रयाक’ आफ्नो सरकारका पालामा बन्छ कि बन्दैन ? कमिसन हसुर्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ता गर्छन् । अनि स्लिपिङ् ट्याबलेट खाएर अपानवायु छोडी मस्तसँग सुत्छन् ।

दस, बीस र तीस वर्षमा नेपाललाई यस्तो बनाउँछौं भनेर अहिलेका कुनै पनि नेताले नेपालको तस्वीर टुडिखेलमा टाङ्ने हिम्मत गरेका छैनन् । किनकि यिनीहरुसँग भिजन छैन । उहिल्यै बीपीले आफूले १५ वर्षभित्र सम्पूर्ण नेपालीको स्तर आफ्नोजस्तो बनाउने भिजन दिएका थिए तर महेन्द्रले उनलाई ‘कू’ गरे । गफले भिजन निस्किदैन । लि क्वेन र डा.महाथिर महमद्ले सिङ्गापुर र मलेसिया बनाउँदा गफ दिएनन् । कडा काम गरे । नेताको बोली, व्यवहार र विश्वास हुनुपर्छ । नेपालका नेतामा यी तीनवटै कुरा छैनन् । पाइँदैनन् ।

देश बन्न जल, जङ्गल, जमिन, पद्दति र मानव श्रम पाँच थोक चाहिन्छ । सिङ्गापुर, मलेसिया, चीन, जापान र संसारका विकसित देश त्यसरी नै बनेका हुन् । अन्त प्रकृतिले नदिएका स्थानमा पनि नेताको भिजन र मिसनले देश बनेको छ । हामीकहाँ प्रकृतिले त दिएको छ तर नेताले बिगारेका छन् ।

देशमा सित्तै बगिरहेका नदीबाट पानी ल्याएर नेपालीका घरघरमा धारा पु¥याइदिन्छौं भन्दैनन् बोधा नेताहरू । विदेशबाट महङ्गोमा ग्यास किनेर ल्याएर भान्साभान्सामा पाइप लाइन वितरण गर्दिन्छौं, भन्छन् । लाज नामको कुनै जिनिश नै रहेन नेपाली नकच्चरा नेताहरूसँग ।पैसा लिएर मन्त्रालय फुटाइकन मन्त्री पद विक्री गरिएको छ, अहिले । साना र भुरे पार्टीहरूलाई जनताले संविधान मै थ्रेस होल्डको व्यवस्था गरौं भनेका थिए चारदलीय सिण्डीकेटले कानमा बतास लगाएन । याद गरौं यो संविधान असोज ३ गते जारी भएको हो ।

इतिहासको कुनै असोज ३ गते (सं. १९०२ असोज ३ गते) नेपालमा ठूलो रोमहर्ष लाग्ने कोतपर्व भएको थियो । नियमित आकस्मिकता हो या नेपालको राजनीतिक वृत्तीय नियति ? आगे समयले बताउने छ । क्रान्तिकारी माओवादी नेता देव गुरुङ ‘देश रहे पछि पनि संविधान बनाउन सकिन्छ’ भन्दैछन् । देशै नरहने स्थितिले संविधान पुरानो उखान ‘कता जुठे कता जुठेकी स्वास्नी’ बन्न बेर लाग्दैन । मधेशसँग मतभेद होइन मनभेद भएको हो ।

नाकाबन्दीको नाटकले वीरगञ्जबाट मात्रै ३२ अरब राजश्व घाटा भयो । अझै सूत्रधारलाई नङ्ग्याइएको छैन । पूरै देशैभरिका २२ सय उद्योग मटियामेट भए । ५ लाख मानिस रोजगारीबाट विमुख भए । देश फेरि पचास वर्ष पछि धकेलियो । कुनै नेताले दुई थोपा आँसु खसाल्न जानेनन् ।गरिब देशमा मानिसहरू आस बढी गर्छन् । आसे हुन्छन् । मानिस धनका मात्र नभएर मनका पनि गरिब हुन्छन् । धनका गरिबलाई जुनसुकै हिसाबले धनी बनाउन सकिन्छ तर मनका गरिबलाई कहिल्यै धनी बनाउन सकिन्नँ । संसार मनका गरिबहरूले भरिएको छ । यसमा दुईमत छैन । नेपाल त्यसबाट अछुतो रहन सक्दैन ।

वैशाखमा भूकम्प आउँदा सुशील कोइराला मन्त्रिपरिषद्मा अर्थमन्त्री रामशरण महत थिए । उनले अल्पकालीन र दीर्घकालीन रूपमा मुलुकलाई राहत र पुनर्निमाण कार्यका लागि जेजुन भूमिका खेले त्यो आफ्नो ठाउँमा सकारात्मक र मनासिब होला । तर उनी अलिपछि जस्ता खरिदमा विवाद्मा तानिए । सो मुद्दा के हुँदैछ ? जनताले अझै थाहा पाएका छैनन् । सूचना आयोग त्यस मामिलामा के गर्दैछ ? जनतालाई जानकारी दिनु पदैन ?

महत अर्थशास्त्रका जानकार हुन् । संग्रहमुखी अर्थतन्त्रका बारेमा उनी बेमिसाल जानकारी राख्छन् । विश्व अर्थशास्त्र चप्पाचप्पा अध्ययन गरेका छन् । भनिन्छ –संसार जित्ने मानिस घरमा हार्छ । नेपालमा बजेट बनाउँदा भने उनी पटकपटक चुके । उनको संग्रहवादी अर्थतन्त्र देखाउने दाँत मात्रै हो तर चपाउने दाँत अर्कै छ । सकेसम्म बजेटको सिलिङ् बढाएर कर कलेक्सन उनको एकमात्र ध्याउन्न हो । उनले गर्न सक्ने थुप्रै विकासे पहेली थिए । जनतालाई स्वास्थ्य बीमाको दायरामा ल्याउन सकिन्थ्यो । ल्याएनन् । किसानलाई परिचयपत्रका आधारमा पेन्सन दिन सकिन्थ्यो । त्यो पनि प्राथमिकतामा परेन । चस्माको पावर बढाउँदै हरेकपटक मन्त्री भएर उनी पूँजीपतिहरूलाई पृष्ठपोषण गर्ने बजेट बनाउँछन् । गरिब, छेउ लागेको वर्ग, विद्यार्थी र न्यून वेतनभोगी कर्मचारी उनका प्राथमिकता भित्र परेनन् ।

देश असफल हुनै लाग्दा एउटा अर्थमन्त्री कसरी विश्वकै सफल अर्थमन्त्री हुन सक्छ ? आज युवा पुस्ताले नबुझेको गुह्य यही हो । उनी जिम्मेवारीका साथ यो कुराको बहसमा हाक्काहाक्की आउन सक्नुपर्छ ।

झन् भूकम्प पछिको बजेटमा उनी भूकम्प पीडितबाटै आलोचित भए । गरिब नेपालीहरू पालमा थिए । उनी दाता सम्मेलनका लागि दौडिए । ४ खर्ब  पूँजी संकलन हुने आश्वासन पाए । तर पीडितका पोल्टामा हाल्न अघि उनका हात काँपे । निधारबाट चिट्चिट् पसिना आयो । उनका पिएले जस्तापातामा गरेको भ्रष्टाचारका समाचारले पत्रिकाका पाना भरिए । प्राधिकरण निर्माणमा सनातनी परम्पराको पुच्छर समातेर यति ढिला भयो कि अहिलेसम्म पीडित पालमै छन् । अहिलेको ओली सरकारले सो विषयमा पर्याप्य खेल्ने मौका पायो । सिइओको नियुक्तिमा शैक्षिक योग्यता कबाबमा हड्डी भएको छ रे ! मुख्य सचिव नियुक्ति दिन आनाकानी गर्दैछन् भन्ने सुनिन्छ ।

देशैभरिमा पचासौँ पीडित चिसोले मरे । मरिसके । अझै मर्दैछन् । दोलखामा न्यानोका लागि दिएको १० हजार किरियाका लागि काम लागेको खबर बाहिर आयो । हालको राष्ट्रवादी (?) सरकार पनि कछुवा गतिमा हिँडिरहेको छ ।विश्व बैँकका पूर्व कर्मचारी महतको विद्वतामा भलै प्रश्न गर्न नसकिएला तर उनले जुन कार्यशैली अख्तियार गरे । त्यसले उनैलाई जनमानसमा अनालोच्य बनाउन सकेन । जनता उनको नाम सुन्दा अमिलो मुख पार्छन् । गरिबमुखी बजेट उनका दिमागबाट आएनन् कुरा जगजाहेर छ । प्रजातन्त्र आएपछि सबैभन्दा बढी अर्थात् चार पटकसम्म अर्थमन्त्रीको कुर्सीमा उनी विराजमान भए ।

उनका समकक्षी तथा एमालेबाट दुईपटक अर्थमन्त्री भैसकेका भरतमोहन अधिकारीले महतको पुरस्कार प्रकरणमा कूटनीतिक प्रतिक्रिया दिँदै भने –‘महत अर्थशास्त्र बुझेको मानिस हो ।वहाँको विद्वातामा प्रश्न उठाउन सकिन्नँ । तर वहाँकै पालामा देशमा भएका स्वदेशी उद्योगहरू धराशयी हुनु र मुलुकलाई निजीकरणमा लैजानु, वहाँको अर्थनीति ठिक नभएको देखिन्छ । भलै एसियाबाट पहिलो र मेरो घनिष्ट मित्रले विश्वको चर्चित पुरस्कार पाउनु खुसीको कुरा हो । वहाँ आफू सफल भए पनि अर्थनीति असफल भएकाले पुरस्कारका बारेमा चाहिँ बहस गर्न सकिन्छ ।’ यो टिप्पणीमा गहिरो अर्थ छ ।

सन् २०१५ मा विश्वका अर्थमन्त्रीहरूमा सर्वोत्कृष्ठ अर्थमन्त्रीका रूपमा बेलायतको ‘द बैँकर’ पत्रिकाले उनलाई पुरस्कार दिएको घोषणा गरेपछि एकाएक उनी चर्चा र विवादमा तानिए । जीवनमा पुरस्कारको ठूलो अर्थ रहन्छ । अर्को हिसाबले भन्दा पुरस्कारले इन्स्पायर गर्छ ।

इतिहास शिरोमणि बाबुराम आचार्य खरदारको जागिरमा पसी खरदारबाटै अवकाश लिने राष्ट्रसेवक हुन् । देवकोटाले बाँचुन्जेल एक रूपैयाँ पुरस्कार पाएनन् ।  दर्जनौं अजरामर कृतिहरू लेखे । भूपिले एकथान साझा पुरस्कार २०२६ मा पाएका हुन् । उनको कवितामा कत्रो सान र मान छ ।कुनै जमाना थियो । मानिस आफ्नो क्षेत्रमा ठूलो हूँ नभनी सेवारत हुन्थ्यो । समाज र देशले कदर गरेको अवस्थालाई स्वीकाथ्र्यो । आजभोलि समय बेग्लै छ । मानिस झुण्ड बनाएर पुरस्कारमा राजनीति गर्ने गर्छ ।

बहुदल आएपछि नेपालका सबैखाले पुरस्कारहरू बद्नाम भए । पन्ध्रहजारको पुरस्कारका लागि दस हजार खर्च गर्ने मानिसहरू देखिए । कतिपय संस्थाले त ठूलो धनराशीको पुरस्कार दिएको भनेर हल्ला फिँजाई खाली खाम दिने काम पनि गरेका छन्, भनिन्छ ।
    बजारवादको युगमा अहिले पुरस्कारले व्यक्तिको व्यक्तित्व र उसका कृति एवम् कीर्तिलाई व्यापारीकरण गर्न सहयोग गर्ने हुनाले मानिस पुरस्कार दिने संस्थालाई भरसक खरिदने प्रयत्न गर्दछ । नभए प्रभवमा पार्छ । त्यो पनि नभए धम्क्याउँछ । जसरी पनि आफूलाई पूजा गरिनु पर्छ भन्ने मपाइँत्व भएको संस्कारले आजको समाज भ्रष्ट हुँदै गएको छ । खादा र मालाले नाक छोपी माग्नु त्यही सूचक हो ।

देश हारेको बेला महतले पुरस्कार जितेका छन् । यदि लबिका कारण त्यो पुरस्कार जितेको हो भने पुरस्कार संस्कृतिमा फेरि पनि जनताको विश्वास नेगेटिभ रहनेछ । कथम् महत प्रकरणमा त्यस्तो खबर नआओस् ।

महतको पुरस्कारमा भलै त्यो नहोला तर उनले जुन बेलामा पुरस्कार पाएका छन् त्यो बेलामा उनको बजेटबाट निजामति कर्मचारी, निजी क्षेत्रका व्यावसायी र भूकम्पले आहत भएका जनता खुसी भने पक्कै छैनन् । बजेट भएर वितरण गर्न महत ढंग पु¥याउँदैनन । उनलाई यो आरोप लाग्ने गरेको छ । उनी सुध्रिनु पक्कै पर्छ । पैसा जम्मा गरेर मात्र देश धनी हुँदैन । उत्पादनमुखी काम र जनताका हितमा झ्याम्मझ्याम्म खर्च गर्नुपर्छ । अहिले प्रतिदिन १८ सयको संख्यामा युवाहरू विदेश गइरहेका छन् । देशमा काम र माम पाएका भए ती विदेश पक्कै जाने थिएनन् । ऊर्जावान् युवा विदेश पठाएर संसारको कुनचाहिँ देश विकसित बनेको छ ? डा. महतज्यू कृपया जनतालाई दृष्टान्त चाहियो ।

अब हेर्नु छ । विवाद्मा आएका महत सो पुरस्कार लिन्छन् या लिन्नन् ?
                    

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell