top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

छ , हिम्मत ! मल्लिक आयोग र रायमाझी आयोगका प्रतिवेदन खोलेर कारवाही चलाउने ?  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  3:31 PM  |  Viewed: 2031 times

हरिविनोद अधिकारी - अचेल सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका कुरालाई लिएर किन हो कुन्नि, प्रेस अलि अनुदार बन्न थालेको छ । वास्तवमा प्रेसले कुरै बुझ्दैन र प्याच्च बिचमा बोलेर हावादारी गफ भनेर उडाउने गर्छ रे । प्रमको खिल्ली उडाएर गरी खाने मेसो रे प्रेस र सम्पादकहरुको । कसैले त रोम जलिरहेछ, निरो मुरली बजाएर बसेको समेत भने रे । ती सामाजिक सञ्जाल चलाउनेहरु पनि निकम्माकै रहेछन् अरु कामै नपाए जस्तो प्रमका बोलीका पछि लाग्ने । नेपालमा ठूलाका बोलीका पछि लाग्ने होइन कि काम गरेको प्रमाणित गरेर प्रशंसा गर्नु पर्नेमा उल्टै आलोचना पो गर्न थालेका छन् ।

नेपालमा धेरै प्रेस सञ्चालन गर्ने र विश्लेषण गर्ने जिम्मा वामपन्थप्रति झुकाव राख्ने संस्था र व्यक्तिहरुको नै पाइन्छ । उनीहरु पनि किन हो अचेल सम्माननीयको कुरालाई हावादारी भनेर उडाउँछन् तर सम्माननीय भने तिनीहरुप्रति नै कटाक्ष गर्न चुक्नुहुन्न । पूर्व प्रधानमन्त्रीहरु र एमालेका पूर्व जिम्मलहरुले नै सरकार असफल भई नै सक्यो भनेर ठोकुवा गर्न थालेछन् । एकजना जिम्मेवार पदाधिकारी प्रचार प्रमुख योगेश भट्टराईले त सिंहदरबारमा फोटो झुन्डिने कुरालाई नै व्यंग्य गरेर बबाल नै गर्नु भएछ र त पूर्व सञ्चारमन्त्री शंकर पोखरेलले टिप्पणी गर्न हतारो भयो कि भनेर आँशिक समर्थन गर्नु भएछ । अर्थात अब केही दिन पर्खेरमात्र टिप्पणी गरौँ वा सँगै टिप्पणी गरौँला भनेको जस्तो गरी ।

बारम्बार एउटै कुराको रटान लगायो भने अन्ततः त्यो सत्य हुन्छ भन्ने हिटलरका प्रोपोगन्डा मन्त्री  गोयबेल्सको भनाइलाई हिटलरले त मानेका थिए र त्यसैअनुसारको रणनीति तयार गरेर आफ्ना विपक्षी जत्तिको सखाप बनाएका थिए भने अहिलेका एक्काइसाँैँ शदीका लोकतान्त्रिक कम्युनिष्ट प्रधानमन्त्रीले नमान्ने कुरै छैन । विपक्षीप्रति त हाम्रा प्रधानमन्त्री पनि कम उदार हुनुहुन्न । भित्तै पुग्ने गरी उछित्तो काड्ने सारै राम्रो बानी उहाँको पहिलेदेखि नै हो । अहिले आएर त्यसमा परिवर्तन गरेमा त्यो त कम्युनिस्टको भाषामा संशोधनवादी र पश्चगामी नै हुनेगर्छ । वास्तवमा हिटलर पनि एउटा अत्यन्त उदार र लोकतान्त्रिक वाइमर संविधानका उपज थियो । उग्र राष्ट्रवादका नाममा । एउटा उदार र पूर्ण प्रजातान्त्रिक संविधानले पनि तानासाह जन्माउँछ भन्ने मिठो उदाहरणका लागि पनि हर हिटलरको उत्पत्तिलाई मान्नुपर्छ । हिटलरलाई जर्मनीको मात्र दुश्मन मानिएन कि संसारको नै शत्रुको रुपमा मानियो । आज पनि नाजीका पक्षमा लागेको भनेर उनका सन्तानलाई समेत दुत्कारेको पाइन्छ ।

कोही नाजी थिए भने पनि ती सबै या त जेलमा नै कुहिए या जीवनभर लुकेर बसे कतै ओडारमा । रुसी तानासाह स्टालिन र जर्मन तानासाह हिटलरमा एउटा अचम्भको मिलन थियो , ती दुबै यहुदीका कट्टर दुश्मन थिए । नाजी अर्थात त्यो बेलाको राष्ट्रवादी समाजवादी दलको दोस्रो विश्वयुद्धपछि  निमिट्यान्नै भयो । तर जर्मनी र नेपालको फरक केमा छ भने नेपाल अति उदार छ र जर्मनी अति नै अनुदार । पञ्चायत कालीन राजाको एकदलीय सरकार र राजाको तानासाही सरकारका पालामा भएका कुराहरुलाई अहिलेको बेलामा छोइछिटो हालिएको छ । ती बेलामा भएका घटनावलीका वारेमा आयोगहरु बनाएर अनुसन्धान गरियो । हाम्रो देशमा ती आयोगहरुले बडो मिहिनेतसाथ प्रतिवेदन दिए मल्लिक आयोग र रायमाझी आयोगले । तिनले स्पष्ट देखाएका ती पुराना दोषीहरुलाई हामी तत्काल सरकारमा स्वागत गर्दछौँ र ती आयोगका प्रतिमा लेखिएका मूर्त अमूर्त प्रमाणहरुको कार्यान्वयनका लागि ठाउँ दिन्छौँ । दूधको साक्षी बिरालो । चोरलाई चौतारी र साधुलाई शूली । अहिलेको सरकारलाई त्यसरी नै हेरिएको छ । २०५२ र २०७२का सन्देशले मुलुकलाई नयाँ दिशा दिएको होइन कि पुराना ठाउँमा उभ्याएको महसुस हुन्छ । कसैलाई पनि यहाँ चोख्याउने जरुरत छैन । सबै एकै ड्याङ्का मुला साबित भएका छन् । हिजो भएका सबै घटना ठिकै थिए जस्तोगरी ।

ओलीजीको बोलीमा दम छ भने रायमाझी आयोगका चिसा अक्षरहरुलाई तातो लेपनमा कार्बाही सुरु गर्नुहोस् । कम्तीमा पनि त्यसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका परिबारका सदस्यहरुलाई पछि केही हुन्छ कि भन्ने सन्देश दिने थियो । सनिमेमि आयोगले सङ्केत गरिसकेको छ —यदि राज्यले आयोगलाई सहयोग गर्दैन  र साधन श्रोत सम्पन्न पार्दैन भने संयुक्त राष्ट्रसंघ मौन बस्नेवाला छैन , हस्तक्षेपकारी भूमिकामा देखा पर्नेछ । हेग युरोपबाट ओरालो लागेर नेपालसम्म आउने छ । युरोप र अफ्रिकामा त पुगेकै छ ।

काम धेरै छ । गरेको केही छैन नयाँ संविधान आएपछि । चुपचाप काम गरौ। योजना बनाएर त्यसलाई मूर्तरुप दिने काम सरकारको हो । सरकारसँग धेरै काम बाँकी छ । मुलुक एउटा समस्याबाट अर्को समस्यामा अल्झिएको छ । एकएकओटा समाधानपश्चात काम फत्ते गर्दै जानुको सट्टा सरकारका प्रमुख ठट्टाले मुलुक हाँक्ने कुरा गरिरहनु भएको छ । काम गर्नुस्, तपार्इँका विकल्प प्रमुख प्रतिपक्षले समेत खोजेका छैन भने काम गर्न किन नसक्ने ?
भन्न त भन्न थालेका छन् विपक्षी पनि, पाकेको आँप आफ्नो बोझले आफैँ कुहिएर झर्छ । यसो हेर्दा सरकारको बोझ सरकार आफैँले बोक्न सक्ला जस्तो छैन । सिद्धान्त छैन । विचार छैन । दूरदृष्टि छैन । भाग्यले पाएको पदवी पनि बोझ भए जस्तो छ । जुन जोगी आए पनि कानै चिरिएका भन्थे । अहिले त अर्को उखान बनेछ—जुन जोगी आए पनि खानै छिरेका ।

संविधानको नयाँ कार्यान्वयसँगै मल्लिक आयोग र रायमाझी आयोग  अनि मानव अधिकार आयोगका सिफारिसहरुलाई तदारुकताका साथ कारवाही गरे धेरैहदमा अराजकता निर्मूल हुने थियो, र सरकारले पनि केही गरेजस्तो हुने थियो । दण्डहीनताका विरुद्धमा , अराजकताका विरुद्धमा र राष्ट्रहितका पक्षमा ।
 छ हिम्मत ? ठट्टा र आँटमा फरक देखाउने ? प्रधानमन्त्री ओलीले त्यो हिम्मत देखाउन सके अमर हुन त कत्ति बेर पनि पो लाग्दैन । तर पक्कै भन्नुहोला यो मौसम त मिलेर जाने हो । कसैलाई बेखुसी पार्ने हुँदै होइन । रायमाझी आयोगका पाना खोल्न थाले सरकार जो धरापमा पर्नेवाला छ । मल्लिक आयोग र रायमाझी आयोगका असलीहरुले नै सरकार टिकाएका जो छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell