top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

रोए धुर्मुस र सुन्तलीे मुसहर बस्तीमा  |  Published: January 15, 2016  |  शुक्रबार 1 माघ, 2072  |  11:40 AM  |  Viewed: 5449 times

राजकरण महतो - महोत्तरी,माघ १। हाँस्य कलाकार धुर्मुस र सुन्तली महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर २ स्थित मुसहर बस्तीमा पुगेर रोएका छन् । उनीहरु बस्तीको दयनीय अवस्था देखेर आँसु पुछ्दै बस्तीबाट निस्किएका थिए ।

बर्दिवास नगरपालिकाका कर्मचारी लगायत अन्य टोलीहरु मुसहर बस्तीको अवस्था बुझ्न पुगेका छन् । बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की, एकिकृत सेवा केन्द्र बर्दिबासका प्रमुख सुरेन्द्र प्रधान, मालपोत कार्यालय बर्दिबासका प्रमुख गोपाल प्रसाद नकर्मी, बर्दिबास नगरपालिकाका १, २ र ३ का वडा सचिव नारायण बहादुर सेन ठकुरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका महोत्तरी क्षेत्र नम्बर १ अध्यक्ष पिताम्बर महतो, एलजिसिडिपि हेटौंडाकी रञ्जु यादव, बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चुडामणी पोखरेल, जनता उच्च मावि बर्दिबासका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी लगायतका सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु मुसहरहरुको अवस्था बुझ्न बिहीबार मुसहर बस्ती पुगेका हुन् ।

मुसहर बस्तीमा खानेपानीको लागि १० वटा सामुहिक धारा जडान गरिने बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चुडामणी पोखरेलले बताए । बर्दिबास नगरपालिकाका वडा सचिव नारायण बहादुर सेन ठकुरीले मुसहर बस्तीमा सार्वजनिक शौचालय बनाउन नगर परिषद्बाट चार लाख बजेट विनियोजन गरिएको बताए ।

पत्रकार राजकरण महतोले मुसहर बस्तीको विकराल अवलोकन गर्न पुगेका सरोकारवालाहरुलाई बस्तीका समस्या सुनाएका थिए । मुसहर बस्तीमा, खानेपानी, शौचालय, बिजुली बत्तीको जस कयौं समस्या उनीहरुले बषौंदेखि खेपिरहेको पत्रकार महतोले बताए ।

मुसहर बस्तीमा बालविवाह, बालबालिका विद्यालय पढ्न नजानु, महिलाहरु सुत्केरी गराउन अस्पतालसम्म नपुग्नु, मुसहरमा चेतनाको अभाव हुनु, विहानदेखि नै मुसहरहरु रक्सी खाएर मातिनु जस्ता समस्या रहेको उनले बताए । साथै बच्चाहरुको जन्म दर्ता, ठूला मानिसहरुको विवाह दर्ता, नागरिकता बनाउनबाट मुसहर समुदायपछि परेकोे पत्रकार महतोले औल्याएका थिए ।

बस्तीको एकिकृत विकासका लागि योजना बद्ध रुपमा अघि बढ्नु पर्ने उल्लेख गर्दै मुसहर बस्तीको समाचार लेखिरहनेमा पत्रकार महतोले जोड दिए । तत्कालका लागि मुसहर बस्तीमा चिसोबाट बचाउन उनीहरुलाई न्यानो नाना उपलब्ध गराउनु पर्ने देखिएको छ ।

ओड्ने औछ्याउने सिरक डस्नाको अभावमा बढ्दो शितलहरले गर्दा उनीहरु रातभरी राम्रोसँग सुत्न पाएका छैनन् । त्यहाँका मानिसहरुलाई आङ छोप्न न्यानो लुगा तत्काल जुटाउन पर्ने आवश्यकता देखिएको स्थानीय गोविन्द प्रसाद पौडेलले बताए ।

बर्दिबास नगरपालिका किसानगरका सामाजिक अभियन्ता विन्देश्वर साहले धुर्मुस र सुन्तली अब एक हास्यकालकार मात्र नभएर देश र जनतालाई सेवा गर्ने राष्ट्रिय व्यक्तित्व रहेको बताएका छन् ।

भूकम्प पीडितका लागि काभ्रेमा नमुना बस्ती नै बनाएका र त्यसयता मुलुकभर सरसफाइ अभियानमा लागेका हास्य कलाकार जोडी सीतराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) महोत्तरीको लोपोन्मुख मुसहर बस्तीमा पुगेर सरकारलाई आँखा देखाएको साहले बताए ।

मुसहर बस्तीको उत्थान गर्न सबै मिली धुर्मुस र सुन्तलीलाई सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

चिसोसँगै शीतलहर चलिरहेको बेला बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा पुगेर उनीहरूले एकीकृत विकासको पहल थालेको सुन्दा आफुलाई खुशी लागेको र उनीहरुलाई आफुपनि सहयोग गर्ने समाजिक अभियन्ता साहले बताएका छन् ।

विकास सँगसँगै मुख्य कुरा चेतना र सशक्तीकरण रहेको बताउँदै यो बस्तीको एकीकृत विकासका लागि सरोकारवालालाई अपिल गर्दै आफूहरू पनि लागिपर्ने धुर्मुश र सुन्तलीले बताएका छन् ।

 


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell