सञ्चारकर्मी खेमले गाए प्रेम–गीत | Published: January 16, 2016 | शनिबार 2 माघ, 2072 | 12:21 PM | Viewed: 697 times
काठमाडौं, माघ २ । गीतमा माया प्रेमको सन्दर्भ आइरहन्छ । कतै प्रेम वियोग त, कतै प्रेम रोमान्सको कुराले गीतमा प्रवेश पाउँने गर्छ । ‘प्रेम’को ग्ल्यामरले तानेरै हुनसक्छ, गीत र प्रेम एकअर्काको पयार्य जस्तै बनेको ।
यसै सिलसिलामा अर्को गीत थपिएको छ, ‘कोहि भन्छन् माया ।’ गायक खेम रिसालले स्वरबद्ध
गरेको यो गीतमा मायाको छुटै व्याख्या छ । गायकले प्रेमको मझदारमा उभिएर प्रेमलाई आफ्नै किसिमले परिभाषित गर्ने जमार्को गरेका छन्, गीत मार्फत ।
‘मायाको सन्दर्भमा आ–आफ्नै किसिमको भोगाइ र बुझाई पाइन्छ’ खेम भन्छन्, ‘त्यही आधारमा उनीहरुले यसको व्याख्या गर्ने गर्छन् ।’ खेमले मानिसहरुले बुझेको प्रेमभित्रै यर्थाथताको खोजी गरेका छन् ।
उनको सुमधुर आवाजमा ‘कोहि भन्छन् माया’ बजारमा आएको छ । नक्सालस्थित साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गराइएको गीतमा राम धामीको शब्द र संगीत रहेको छ । यसमा थप माधुर्य थप्ने काम गरेका छन् रोशन बान्तवाले, संगीत संयोजन मार्फत ।
खेम आफैमा सञ्चारकर्मी हुन् । सात वर्षदेखि सञ्चार क्षेत्रमा क्रियाशील खेमले मकालु टेलिभिजन, टीटीभी हुँदै सगरमाथा टेलिभिजनमा समाचार सम्पादक र प्रस्तोताका रुपमा काम गरिसकेका छन् ।
सुनसरीको इटहरी स्थायी घर भएका खेमले केही वर्ष अगाडि सुनसरीमै रेकर्ड गरिएको गीतलाई फरक रुपमा संगीत संयोजन गरी पुनः रेकर्ड गराएका हुन् ।