top
ImageKhabar
शुक्रबार, 10 माघ, 2076 Friday, January 24, 2020

ImageKhabar Archive

तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक आज, जुट्ला त सहमति !  |  Published: January 18, 2016  |  सोमबार 4 माघ, 2072  |  10:40 AM  |  Viewed: 768 times

काठमाडौं, माघ ४ । प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच आज पनि छलफल हुने भएको छ ।

सिंहदरबारमा दिउँसो बस्ने बैठकमा सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको कार्यक्षेत्रसहित मोर्चाका अन्य मागबारे छलफल हुने छ । कार्यदलको बैठकअघि तीन दलबाट कार्यदलमा प्रतिनिधित्व गरेका नेताहरुले पहिले आन्तरिक छलफल गर्नेछन् ।

हिजोको बैठकमा सहमति नजुटेपछि प्रमुख दलका तर्फबाट कार्यदलमा रहेका नेताहरुले प्रस्तावित कार्यक्षेत्र परिमार्जनका विषयमा शीर्ष नेतासँग छलफल गर्न भन्दै समय मागेका थिए ।

तीन दलका नेताहरुले संयन्त्रलाई संविधानको अनुसूचीमा राखेर वैधानिकता दिन सकिने प्रस्ताव गरेका छन् भने मोर्चाका नेताहरुलाई संयन्त्रलाई पनि संविधानको धारामै राखेर वैधानिक हैसियत दिनुपर्ने अडानमा छन् ।

हिजोको बैठकपछि दुबै पक्षका नेताहरुले आज (सोमबार) सम्ममा सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए ।

आइतबार नै भारतबाट स्वदेश फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि आफूलाई प्रधानमन्त्री केपी ओलीको विश्वास लागेर नै काठमाडौंमा छलफलका लागि आएको प्रतिक्रिया दिएका थिए ।

उता आइतबारै धनगढी पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सोमबारसम्ममा सहमति जुट्ने दाबी गरेका थिए ।

यिनै सकारात्मक संकेतहरुका साथ आज हुने वार्ता सहमतिमा पुग्ने अपेक्षा गरिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell