top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

बारी न बोट, बडा–बडा ओठ  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  12:36 PM  |  Viewed: 1306 times

-लाओस राई ।

नेपाली समाजमा केही प्रचलित उखान छन्– हात गोडा चल्दैन मझेरीमा फल्दैन, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड, कामकुरा एकातिर कुम्लोबोकी ठिमीतिर, कच्चा बैद्यको मात्रा यमपुरिको जात्रा ।

यी र यस्ता उखान झट्ट सुन्दा केही होइनजस्तो तर गहिरिएर हेर्दा यसभित्र निकै गहकिलो अर्थवोध हुन्छ । यस्ता उखान नेपाली समाजमा दैनिक प्रयोग हुँदै आइरहेको छ । विश्वविद्यालयको पुस्तकालयमा सीमित र लुप्त प्रायः भएका उखान समेत अचेल व्यवहारमा सुन्न थालिएको छ । किनकी अचेल नेताहरुको जिब्रोमा पनि यस्ता उखान झुण्डिने गरेको छ भने सरकारका काम कारवाही देखेर जनताले पनि खोजी–खोजी उखान तुक्कामार्फत नै सरकारको मूल्यांकन गर्न थालेका छन् ।

नेपाली समाज, नेपाली राजनीति र आर्थिक प्रणाली परम्परागत शैलीबाट आजको दिनसम्म जसोतसो चलिरहेको छ । एक पक्षबाट हेर्दा यस्तो परम्परागत ढाँचामा चलेको देशमा नेताहरु पनि त्यही चरित्रको हुनुलाई आश्चर्य र अनौठो मान्नु हुँदैन । किनकि राजनीतिक पाठशाला नै परम्परागत शैलीको र त्यसमा पनि गुरुहरु झनै पुरातनवादी सोचका छन् । त्यस्ता पाठशालाका विद्यार्थीहरुमा नयाँ सोच, नयाँ योजना र तन्दुरुस्त कार्यशैलीको आशा गर्नु भनेको त कर्कलाको पातमा पानी जमेको देख्दा नुहाउन खोजेको जस्तोमात्र हो ।

नयाँ संविधान जारी हुनासाथ मधेसवादी दलहरुले विभिन्न माग अघि सार्दै सीमानाकामा धर्ना दिन थालेपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिदियो । नाकाबन्दीका कारण जनताले इन्धन लगायत अन्य उपभोग्यबस्तुको अभाव झेल्नु पर्‍यो । एउटा सियोसम्म पनि उत्पादन गर्न नसकेको हाम्रोजस्तो मुलुकका नेताहरुले नाकाबन्दीजस्तो समस्या कुनैबेला देश र जनताले झेल्नु पर्ने हुन्छ भन्ने हेक्का राखेर त्यसअनुसारको सोच र तयारी गर्नु त परै जावस नाकाबन्दी गरेकै ‘हो’ र ‘होइन’ भन्ने विषयमा आपसमा बहस गर्न थाले ।

सबैभन्दा लज्जास्पद र हाँस्यास्पद कुरा त यो छ कि जब सबै नाका ठप्प भयो, तब नेपालका खानी विभागका विज्ञहरु दिउँसै लाल्टिन बालेर कुन–कुन स्थानमा कस्ता–कस्ता खनिज पदार्थ र पेट्रोलियम पदार्थहरुको सम्भावना छ भन्दै सम्भाव्यताको अध्ययनका लागि हिँडे । अभावको सामना गरिरहेका जनताका लागि यस्ता समाचारले क्षणिक खुशी दिनेमात्र हो, तत्काल समस्याको समाधान निस्कने होइन । कोही चीनबाट इन्धन ल्याउँछौं भनेर भ्रम छर्न थाले । नेपाली समाजमा प्रचलित उखान ‘जब पर्‍यो राति, अनि बुढी ताती’ भनेजस्तै मुलुकलाई आत्मनिर्भर बनाउने सम्पूर्ण कला आफैंसँग भएजस्तो केही नेताहरु ‘आत्मनिर्भरता’को रट लगाउन थाले । कोही साइकल चढ्नुपर्छ भन्दै उपदेश दिन थाले । मानौं साइकल त नेपालमै बन्छजस्तो ।

यो हदैसम्मको नाटकीय, लज्जास्पद र बचपनापूर्ण राजनीति हो । यस्ता कुराले जनताको पीडामा ठट्टा गरेकोमात्र देखाउँछ । मुलुकमा खानी नभएको भने होईन तर ती खानीबाट आज उत्पादन खोज्नका लागि हामीले एक डेढ दशक अघि नै योजना संचालन गरिसक्नु पर्दथ्यो । तर त्यसबेला यी नेतालाई त्यस्ता खानीको चासो नै भएन । नेपालमा के–कस्ता खानी छन् भन्ने कुरा नेपालका विज्ञहरुलाई भन्दा विदेशी विज्ञ तथा अनुसन्धानकर्तालाई बढी थाहा छ । नेपालमै यति धेरै कुराको सम्भावना हुँदाहुँदै पनि यतिन्जेलसम्म सम्बन्धित निकाय कानमा तेलहालेर बस्नुको कारण के थियो भन्ने प्रश्न जनताले उठाईरहेका छन् । तर सरकार मौन छ । अनि त जनस्तरले सरकारतर्फ प्रचलित उखान ‘धाकभन्दा धक्कु ठुलो हिडन लागे खुट्टा लुलो’ तेर्स्याइरहेका छन् ।

वर्तमान नेपालको स्थिति इतिहास कै सर्वाधिक दुःख, कष्टपूर्ण हो । यसमा विश्वलाई सबै कुरा छर्लंग हुँदाहुँदै पनि यो किन लम्बिरह्यो ? यसमा गहिरो रहस्य लुकेको देखिन्छ । विश्व ब्यापार संघको प्रावधान निर्माण गर्ने देशहरु र ती प्रावधानको अक्षरसः पालाना गर्छु भन्ने देश सबैलाई सबैकुरा प्रष्टसंग थाहा हुँदाहुँदै पनि यो संकटमा सामान्य बक्तब्यबाजीको अलावा गम्भीर ढंगको छलफल भएको देखिएन । यस बिषयमा नेपालको कमजोरी प्रष्टसँग देखिन्छ । किनकि प्रधानमन्त्रीको कुर्सी पाएदेखि ओलीजी पण्डितले पुराण सुनाएजसरी उखान सुनाउँदैमा फुर्सद नमिलेर होला मुख्य विषयमा ध्यान दिन सकेका छैनन् । चीनबाट तेल ल्याउने कुरा पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भयो । अनुदानमा बाहेक चीनबाट तेल ल्याउन सकिएन । आजै सम्झौता गरि भोलिदेखि नै तेल ल्याउन सुरु गर्ने भन्ने बाम सरकारको योजना प्रारम्भ नहुँदै यसरी तुहियो कि, मन्त्रीहरु समेत लुकीलुकी चीन जानु पर्‍यो । अन्ततः सरकारको ‘नमच्चिने पिङको सय झट्का’ यतिखेर चरितार्थ भएको छ ।

त्यस्तै अर्को प्रसङ्ग पनि कम नाटकीय र हाँस्यास्पद छैन । नाकाबन्दी भएकै पहिलो साता तात्कालीन सरकारले एअर लिफ्टिङ्गद्वारा तेल निर्यात गर्ने भनेर निगमले गोल्बल टेन्डर आह्वान गर्‍यो तर त्यो झन् क्षणभरमा हावामा उडेको चंगा झैँ चेट भयो । यस्तै हावादारी कुरा गर्ने सरकार र मन्त्रीहरुको बोलीले गर्दा नेपाली जनताले दुःख सहनु परिरहेको छ । हिउँ बर्सिने ठण्डी महिनामा चिसोले कठ्याग्रिएको जनताका लागि भाषण मै कम्बल बितरण गर्ने सरकार, गरिव जनताको छोराछोरीलाई बिदेशी भूमिमा श्रम गर्न बाध्य बनाउने नीति नियम बनाउने सरकार, नेपाली भूमिलाई विभिन्न शक्ति केन्द्रको खेल मैदान बनाउने सरकार र राष्ट्रवादको नाममा कालो बजारियाहरुलाई संरक्षणगर्ने सरकारले कहिलेबाट जनताको बारेमा सही र हितकारी काम गर्ला ?

तात्कालिन सरकारको अर्थमन्त्रीले ‘चीनदेखि तेल ल्याउन सकिन्न, यो हावादारी कुरा हो’ भन्दै एकतर्फी कुरा गरे । तर चीनले अनुदानमा दिएको तेल ल्याएर वितरण त भयो नै, त्योसँगै ती मन्त्रीको बोली हावादारी थियो भन्ने प्रमाणित पनि भयो । तर व्यावसायिक प्रयोजनका लागि चीनबाट तेल ल्याउन किन सकिएन ? यो प्रश्नको जवाफ अहिलेको सरकारले दिन सकेको छैन । यी र यस्ता घटनाक्रमले के देखाउँछ भने प्रत्येक जिम्मेवार नेताले देश र जनतालाई अल्मल्याउन खोजिरहेका छन् । चाहे प्रधानमन्त्री, मन्त्री होस या पार्टीको नेताहरु नै किन नहोस् । सबैको ध्येय भनेको नै जनतालाई भूल भुलैयामा पार्नु रहेको प्रष्ट हुन्छ । काम गर्न नसक्ने कुरा बोलिरहनु, ठोस योजना निर्माण गर्न नसक्नु, विभिन्न प्रकारले नेता आफै जनता माझ अलोकप्रिय, अस्वीकृत, बहिस्कृत हुँदैछन् ।

संविधान घोषणा भए यताको राजनीतिक पक्षको विश्लेषण गर्ने हो भने अत्यन्त असामान्य, कष्टपूर्ण र दुःखदायी परिस्थितीको सामना देश र जनताले गरिरहेको पाइन्छ । तराईमा आन्दोलन भएको पनि आधा वर्ष हुन लागि सक्यो । यद्यपी यस परिस्थितिको सृजना कसरी भयो ? यो समस्याको समाधान के के हुन सक्छ ? भन्ने जस्ता अनेकन सवालहरु नेपाली जनताले गरिरहेका छन् । तर नेताहरु भने आलटाल गर्दै समय ब्यथित गरिरहेका छन् । समस्याको निकास खोज्न सकिरहेका छैनन् । यस्ता आलटाले नीति र क्लिस्ट ब्यबहारले गर्दा नेपाल काकाकुलको देशमा परिणत भईसक्यो । जनता काकाकुलले पानी खोजे झैँ तेल, ग्यास खोजी गर्दैछन् । तर सरकार अजिंगर झैं लडिरहेको छ । मन्त्रालय फुटाएर भएर पनि सरकारमा भागवण्डा मिलाउन मै सरकारले आफूलाई व्यस्त बनाएको छ । नाकाबन्दीले जनतामा काँचै दाल चामल खानपर्ने अवस्था सिर्जना भएको बेला घर–घरमा ग्यासको पईपलाईन बितरण गर्छु र सिलिन्डर बोक्न पर्दैन भन्दै जनतालाई भाषण सुनाउनु कति स्वाभाविक हो ? यस्तै कुरा सुनेर मेरी बुढी बजैले भन्नुभयो– ‘यत्रो खोलानाला छ तर खेतमा सिचाई छैन, धारमा पानी छैन, कहाँबाट ल्याउने ग्याँस ? बारी न बोट, बडा–बडा ओठ ।’

(लेखकः नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हुन् )

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell