top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

‘काँकडभिट्टा नाका पूरै सहज, कुनै रोकतोक छैन’  |  Published: January 19, 2016  |  मंगलवार 5 माघ, 2072  |  3:55 PM  |  Viewed: 1862 times

झापा, माघ ५ । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतले गरेको अघोषित नाकाबन्दीको असर पूरै हटेको छ ।

पूर्वी नाकाबाट पूर्ववत् अवस्थामै सवारी भित्रन थालेपछि अवस्था पूर्णरुपमा सहज भएको हो ।

भारतको पानीट्यांकीबाट सबैखाले मालबाहक सवारी भित्रिरहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

दैनिक दुई सयको हाराहारीमा सबै प्रकृतिका मालबाहक सवारी पूर्वी नाकाबाट भित्रिरहेको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले राससलाई जानकारी दिए ।

‘नाकामा अहिले कुनै रोकतोक छैन’–उनले भने-‘पूर्ण रुपमा सहज भएको छ ।’

नेपाल भित्रिएका सवारीलाई भन्सार परिसरमा यार्डको व्यवस्था गरी पार्किङ गरिँदै आएको छ ।

‘अहिले पार्किङको पनि समस्या छैन’–अधिकारीले भने–‘यार्ड विस्तार गरेपछि सबै सवारी अटेका छन् ।’

केही समययता पूर्वी नाका खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । विशेष गरी पेट्रोलियम पदार्थको अभावले दैनिकी चलाउन अप्ठ्यारो परिरहे पनि पूर्वी नाकाबाट पर्याप्त मात्रामा ट्यांकर नेपाल प्रवेश गर्न थालेपछि पेट्रोल पम्पमा तेल प्रशस्त पाइन थालेको छ ।

यद्यपि, पूर्णरुपमा भने सहज हुन नसकेको पेट्रोलियम व्यवसायीले बताए । धेरै दिनको नाकाबन्दीको असरले गर्दा पूर्ववत् अवस्थामा फर्किन केही समय लाग्ने व्यवसायी बनाउँछन् ।

पूर्व क्षेत्रका धेरैजसो पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गरिरहेका छन् तर पनि तेल भर्न लाइन बस्नुपर्ने बाध्यता हटेको छैन । प्रशासनले पनि अवस्था सहज भएको भन्दै पेट्रोलियम पदार्थमा लागू गरेको कुपन प्रणाली बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले दुई साताअघिदेखि कुपन प्रणाली हटाएको हो । नाकाबन्दीका कारण तेल अभाव हुँदा मौज्दातमा राखिएको पेट्रोलियम पदार्थ आवश्यकता हेरेर सिफारिस दिने गरिएको थियो ।

अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर तेलको कुपन दिने गरिएपनि अहिले अवस्था सहज भएकाले कुपन प्रणाली हटाइएको प्रशासनले जनाएको छ ।

प्रशासनले करिब तीन महिना अत्यावश्यक सेवाका लागि पेट्रोलियम पदार्थमा कुपन प्रणाली लागू गरेको थियो । त्यसबेला प्रशासनले दैनिक दुईदेखि चार हजार लिटर तेलको सिफारिस दिने गरेको थियो ।

आवश्यकता हेरेर पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रशासनले पम्पलाई सिफारिस गर्ने गरेको थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell