top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

‘एक हप्ताभित्र सार्वजनिक यातायातको भाडा समायोजन गरिने’  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  6:40 PM  |  Viewed: 586 times

काठमाडौं, माघ ६ । यातायात व्यवस्था विभागले एक हप्ताभित्र सार्वजनिक सवारी–साधनको भाडा समायोजन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेसँगै नेपालमा पनि सोमबार रातिदेखि मूल्य समायोजन गरिएको हो । इन्धनको भाउ घटेपछि बुधबारदेखि नै हवाई भाडा समायोजन गरिएको छ ।

सार्वजनिक यातायातको भाडा भने अझै घट्न नसक्दा यात्रु मनपरी भाडा तिर्न बाध्य छन् । इन्धन अभावले कालाबजारियासँग डिजेल हालेको भन्दै सार्वजनिक सवारीका परिचालकले सकेजति भाडा उठाए पनि विभागले कारबाही गर्न नसकेको पीडितको गुनासो छ ।

‘लाइनमा बसेर पेट्रोल पम्पबाट डिजेल हाल्ने सवारीलेसमेत कालाबजारियासँग बढी पैसा तिरेर किनेको भन्दै मनपरि भाडा उठाएका छन्, विभाग कानमा तेल हालेर बसेको छ’–उपभोक्ता मन्चका मध्यमाञ्चल संयोजक रोशन पोखरेलले भने ।

विभागले वि.सं २०६५ देखि वैज्ञानिक भाडादर लागू गरेको भने पनि बढेको समाचार सन्चारमाध्यमले सार्वजनिक गरेकै दिन बढेअनुसार भाडा लिने र घटेको महिनौं बित्दा पनि भाडा समायोजन नगर्ने गलत परम्परा बसेको उपभोक्तावादी र यात्रुको गुनासो छ ।

‘भाडा घटाउन मन्त्रीस्तरीय निर्णय गर्नुपर्ने भएकाले प्रक्रिया अघि बढाइएको छ, भाडा वैज्ञानिक मापदन्डअनुसार समायोजन गरिने भएकाले सवारीमा इन्धनको प्रभाव ३५ प्रतिशत मात्र हुन्छ, अरु अन्य तत्वमा भरपर्ने भएकाले यसपटक न्यूनतम पैसामा मात्र भाडा घट्छ’–विभागका निर्देशक एवं प्रवक्ता बसन्त अधिकारीले बताए ।

लामो रुटमा भने भाडा घट्ने विभागले जनाएको छ । यसअघि, भदौ २५ गते विभागले घटाएको भाडा कार्यान्वयनमा यातायात व्यवसायीले सहयोग नगरेपछि रु एकभन्दा बढी भाडा लिनेलाई पनि ट्राफिक प्रहरीले रु पाँच हजार दन्डस्वरुप कारबाही गरेको थियो ।

भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउँदै सवारीका परिचालकले विद्यार्थी सहुलियत नदिएपछि राजधानीमा त्रिचन्द्र क्याम्पसका विद्यार्थीले आन्दोलन गरी कारबाहीका लागि ट्राफिक प्रहरीलाई दबाब दिएका थिए ।

नेपाल विद्यार्थी संघले बुधबार (आज) एक विज्ञप्ति जारी गरी इन्धनको समायोजित मूल्यअनुसार भाडादर कायम गर्न र बिना रोकतोक विद्यार्थी सहुलियत लागू नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell