top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

पुष्कर लोहनीले सुनाए यौनसाहित्य  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  4:22 PM  |  Viewed: 110 times

काठमाडौं, माघ ९ । नेपाली यौनसाहित्यका अगुवा पुष्कर लोहनीले शनिबार आफ्ना थुपै्र हाइकु(तीन हरफ र सत्र अक्षर), तान्का(पाँच हरफ र ३१अक्षर), सिजो(तीन हरफे कोरियाली लोकगीत) र कविता प्रस्तुत गरे ।

स्रष्टा समाज काठमाडौंद्वारा ‘हामी सुन्छौं पुष्कर लोहनीलाई’ शीर्षकमा आयोजित कार्यक्रममा ७८ वर्षीय लोहनीले यौनलाई विभिन्न प्रतीक एवं विम्बद्वारा अभिव्यक्त गरी स्रोतालाई आफूतिर मजाले आकर्षित गरे ।

उनले आफ्नो ‘कौडी’ शीर्षक कवितासंग्रहका केही कविता, र ‘माटोको गाग्री’, ‘रात’, ‘लुसुक्क भाग्ने निद्रा’ आदि शीर्षकका कविता, एक दर्जन जति माया र अरु विषयका हाइकु, आधा–आधा दर्जन तान्का र सिजो सुनाए ।

आफूले सत्र वर्षको उमेरदेखि नै यौनसाहित्यबारे निरन्तर लेखिरहेको र नमरुन्जेल यसलाई अगाडि बढाउने बताउँदै साहित्यकार लोहनीले वर्तमान पुस्ताले त्यति स्वीकार नगरे पनि पछिल्लो पुस्ताले आफूलाई बुझ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार रामकुमार पाँडेले ‘नेपाली साहित्यमा भिन्दै अस्तित्व लिएर आउनुभएका लोहनीले प्रयोगमा ल्याएको साहित्यलाई हेय दृष्टिले हेर्न हुँदैन’–भने ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मञ्जु काँचुलीले लोहनीको यौनसाहित्यमा पनि निकै दर्शन र अध्यात्मका विषय रहेको र तिनले मन्त्रमुग्ध पारेको बताइन् भने साहित्यकार मोमिलाले ‘नेपाल यौनसाहित्यका बादशाह’ लोहनीको छुट्टै पहिचान, खुबी र आँट भएको र त्यसैमा उनी परिपूर्ण भएको बताइन् ।

समालोचक महेश पौड्यालले लोहनीका विषयमा बोल्दा र लेख्दा निकै जोखिम रहेपनि आफूले उनको साहित्य पढेपछि मात्र नेपाली साहित्यलाई बुझ्न सकेको टिप्पणी गरे ।

समाजका अध्यक्ष अतृप्त पाण्डेयले ६० वर्षदेखि निरन्तर साहित्यमा संलग्न लोहनीले आफ्नो समयमा काठमाडौंलाई तरंगित बनाएको र यौनसाहित्य लेखेकै कारणले काराबास भोगेको जानकारी दिए ।

साहित्यकार लोहनीका ‘धरालोको टुप्पा’ कथासंग्रह तथा थुप्रै कविता, चोका, हाइकु, तान्का, सिजो र समालोचनाका कृति प्रकाशित छन् । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell