top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

कुरौटे सरकारको हनिमुन  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  3:20 PM  |  Viewed: 485 times

पेशल आचार्य - नेपालीमा लोकप्रिय उखान छ –‘कुराले च्युरा भिज्ने भए, गोरस किन चाहियो ?’ अहिले नेपालमा ठूला राजनीतिक पार्टीका गल्लावाल नेता र तिनका गुलिया महमा लटपटिएका ठालु कार्यकर्ताहरू सबै अनेक कुरा कोरल्नमा व्यस्त छन् । यतिखेर गरिब, निमुखा, छेउ लागेको वर्ग, भूकम्प र नाकाबन्दीले पीडित नेपालीहरू चाहिँ सारै सकसको जीवन जिउँदै आएका छन् । अघाउँजी खाएर बाँच्ने हक संविधान नामको एक थान मोटो किताबमा नेपाली जनताले साट्नु कहाँ सम्मको लोकतन्त्र हो ? सरकार र हातमा डाडुपन्यौ हुनेहरू लखनौ लुटमा मस्त र चौरासी व्यञ्जन भोजमा व्यस्त छन् । जनता आफ्नो चुलो नबलेर आतह छ । सरकार संवैधानिक भूपूहरूलाई अनेक सुविधा थपेर नाङ्गो नाच नाच्दैछ ।

‘नेपालको लोकतन्त्र सलामी, गुलामी र मलामीमा मात्रै सीमित हुने भन्ने जानेका भए नेपालीले भुलेर पनि २०६२-०६३ को लोकतान्त्रिक आन्दोलनमा भाग लिने थिएनन् ।’ त्रिवि अन्तर्गतका एकजना प्राध्यापकले अमिलो मुख पार्दै भनेका छन् । सो भनाइमा अथाह पिडा लुकेको हुनुपर्छ ।

आयल निगमको थानकोट डिपोमा तेल वालछ्याल छ तर जनतालाई दिँदैन । अभाव देखाएर काला बजारीयाका हातमा पुगे उसलाई मोटो कमिसन आउँछ । उता अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा भारी गिरावट् छ यता किर्ते निगम भने ४९ रुपैयाँ ९४ पैसामा पेट्रोल किनेर ९६ रुपैयाँमा बेच्छ । जनता चुपो लाग्छन् । मुन्द्रे, कुण्डले र तिघ्रेको हैकम बजारमा छ, सरकार नदेखेको अभिनय गर्छ ।

भूकम्प पुनर्निमाणको सुरुआत रानीपोखरीमा तामझामसाथ फोटो सेसन गर्दै गरिन्छ उता गोरखाको वारपाकमा हिउँको सिरानीमा जनताहरू मरिरहेका छन् । सरकारले हल्ला गर्दागर्दै न्यानो लुगाको पैसा जनताले कात्रो किन्नमा खर्च गरे । दोलखा र गोरखाका गरिब जनताको हरिबिजोक भएको छ । यता सरकार एकसिटे ताननीय (चुनाव जितेकालाई माननीय र समानुपातिकलाई ताननीय भनिन्छ) लाई मन्त्रालय फुटाएरै मन्त्री पदको विक्री गर्छ ।

मधेस मुद्दाले देशमा पूरै विखण्डनको क्यान्सर होला जस्तो छ । ठूला पार्टीका गल्लावाल नेताहरू एकापसमा बैठक कक्षमै पाँडेगाली गरेर बाझाबाझ गर्छन् । नेपाल राष्ट्र बैँकको अनुसन्धान विभागले (आर्थिक वर्ष २०७२÷०७३ को पाँच महिनाको तथ्याङ्क जारी गर्दै भनेको छ) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विश्लेषण गर्दा नराम्रो तथ्य देखियो । काठमाडौँमा सबैभन्दा बढी अर्थात् १३ दसमलब २, पहाडमा १२ दसमलब ४, हिमालमा १० दसमलब ३ र तराईमा १० दसमलब २ प्रतिशतले मूल्यवृद्धि भएको छ । राजश्व परिचालन २० प्रतिशतले ह्रास भएको छ । मुद्रास्फीति साढे ४ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीमा जाने २२ प्रतिशतले घटेका छन् । पेट्रोलियम पदार्थको आयात ६३ प्रतिशतले घटेको छ । धानको उत्पादन १० प्रतिशतले घट्ने, मकैको चाहिँ ४ प्रतिशतले बढ्ने, विप्रेषण आप्रवाह २ दसमलब ७ प्रतिशतले मात्रै वृद्धि हुने, सरकारी बजेट ३२ अर्ब ८१ करोडले बचत साथै चालु खर्च १२ दसमलब ७ प्रतिशतले घटेर ८३ अर्ब २२ करोडमा सीमित भएको देखाएको छ ।

अर्थशास्त्रका जानकारहरूका अनुसार भूकम्पले ५० वर्ष र नाकाबन्दीले ५० वर्ष गरी मुलुक करिब एक शताब्दी पछि परेको छ । सरकारमा रहेका पेटी बुर्जुवा र सरकार बाहिरका जम्माखोर बेपारीहरू जनताको बोसो निकाल्नमै तन्मय छन् । उपप्रम कमल थापाले त मुखै फोरेर भने –‘निजी क्षेत्रले सरकारलाई सहयोग गरेन बरु कालाबजारीयाले मद्दत गरे ।’ सोहै्र आना सत्य हो, थापाहरूको मात्रै नभएर धेरैको वैचारिक राजनीति तुरिएकै हो । अब बेपारको राजनीत सुरु भयो । हो, सरकार दुई नम्बरीलाई साथ लिएर टिकेकै देखियो ।यसबीच उसले हनिमुन पनि मनायो । चर्का भाषण गरेर भारतलाई गाली गर्ने मन्त्रीहरू सबै दुला लुकिसके कि कमिसनको हिसाबमा व्यस्त छन् । चित्र बाले त मलाई उप प्रधानमन्त्री पद कोक्यायो समेत भनेका छन् ।

सरकारले बहादुरीका साथ आफ्नो हनिमुन सकाएको छ । अहिले यसैमा बधाइ दिन उपयुक्त देखिन्छ । यो सरकारको सबैभन्दा ठूलो उपलब्धी भनेकै आफ्नो हनिमुन पिरियडभित्र आफू नढल्नु हो । प्रतिपक्षमा बसेको काँग्रेस र आन्दोलनरत पार्टीहरूले नानीदेखिको बल निकालेर अब सरकार ढाल्नमा आफ्नो शक्ति सञ्चय गर्नेछन् । काँग्रेस महाधिवेशन पर्खिरहेको छ । मधेशी मोर्चाले चाहेको त्यही हो । काँग्रेस सत्ताबाहिर टिक्न नसक्ने पार्टी हो तर उसको अहिलेको बाध्यता भनेको आफ्नो तेह्रौं महाधिवेशनलाई सकुशल रुपमा सम्पन्न गर्नु रहेको छ । वार्ता र वार्ता अनि फेरि वार्ता भनेरै धेरैपटक वार्ताको नाटक भएको छ । २७ पटक वार्ता भयो तर असफल वार्ता मात्रै भयो भन्ने खबर बाहिर आएको छ ।

यस्तो हेर्दा अहिले नेपाल आन्दोलन र वार्ताप्रधान मुलुक भएको छ । जोकसैले पनि जे माग तेस्र्याए हुने । जुन प्रकृतिको आन्दोलन गरे हुने । देश झन्झन् जर्जर हुँदै भड्खालामा जाकिइसक्यो । न कसैलाई सुर्ता न कसैलाई पिर छ । सरकारले सुरुसुरुमा भारतको विरोध गरी चीनलाई ग्वाम्म अँगालो हाल्नै लागेको थियो तर चीनले पनि नेपाललाई खुट्टी देखाइदियो । अहिले चीनवादीहरू सबै कुकरमा पकाएका साग भए ।

वीरगञ्ज भन्सारबाट मात्रै सरकारलाई अहिलेसम्म ३३ अर्ब राजश्व गुमेको छ । यो राजश्वको क्षतिपूर्ति हुन सक्दैन । आप्mनो रगत पसिनाले एकीकृत गरेको राज्य भाइहरूले अंश लगाउनु पर्छ भन्दा ‘राष्ट्र सिकारमा मारेको बिलो होइन । यसलाई भागवण्डा गर्नु हुँदैन’ भन्ने पृथ्वीनारायण शाहका बारेमा बोल्दालेख्दा अहिले अराष्ट्रवादी हुने समय आयो । कस्तो अचम्म ? राष्ट्र विखण्डन गरौं । टुक्राटुक्रा पारौं भन्नेचाहिँ प्रकारान्तरले राष्ट्रवादी भएका छन् । अजब नेपाल गजब चाला !

देशमा अहिले आधा सिलिण्डर ग्यास र कालो बजारको इन्धनमा हामीले लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रतालाई साट्यौं । नेपालीको विडम्बना नै भन्नुपर्छ हामीले रगत र पसिनाले निखनेर ल्याएको यत्रो ठूलो स्वतन्त्रताको कोसेलीलाई नेपाली नेपाली मै लडाउने र मारकाट गर्ने हतियार जो बनाइयो । अहिले ठूला भनिएका पार्टीहरू नै अकर्मण्यताको सिकार भए । उनीहरूसँग न संविधान कार्यान्वयनको रोडम्याप छ । न देशै अगाडि लैजाने भिजन छ । सबै विरोधका लागि विरोध भासमा भासिएका छन् ।

देश कालो अर्थतन्त्रमा चलेको छ । सरकार यति पङ्गु भैसकेको छ कि ऊ एक त गरीब र निमुखाको हकहितमा काम गर्नै चाहँदैन । तेलका कमिसनले नेपाली सत्तासीनहरू पोटिला किर्ना भएका छन् । भूकम्प पीडितहरू चिसो हिउँमा जीवनमरणको दोसाँधमा घिटिक्घिटिक गरिरहेका छन् । बन्दबेपार, कल कारखाना, उद्योगधन्दा र कमाइ हुने सबै चिजबिजहरू नारायण हरि भए !

नयाँ संविधानको धज्जी उडाउँदै २५ जनाभन्दा बढीको मन्त्रीमण्डल राख्न नपाइने नियमलाई धोती लगाएर प्रम ओलीले मन्त्रालय समेत फुटाई ४० जनाको जम्बो मन्त्रीमण्डल बनाए । मन्त्री पदहरू विदेशी एजेन्टलाई विक्री गरिएको छ भन्ने समाचारै आयो । बास्तविकता के हो ? भलिबल खेल्न पुग्ने ६÷६ जना मानिसहरू उपप्रधानमन्त्री भए । जसले जनताका दुःखदर्द कम गर्न एकरत्ति काम गरेनन् । बरु हावादारी गफ दिएरै दिन कटाए । अहिले उद्घाटन र भाषणमुखी भएको छ –सरकार । इतिहासमा यति नालायक सरकार कहिल्यै भोगिएको थिएन ।

हावादारी सपनाका महलमा जनतालाई भुल्याउने काम भैरहेको छ । एक वर्षमा लोड सेडिङ् अन्त्य र घरघरमा ग्यास पाइपलाइन भन्दै सरकार हास्य सिरियलमा अभिनय गर्ने कलाकारहरूको जत्था भएको छ । कार्टून र उखान टुक्काको  भरमार विक्री भएको छ ।

मन्त्रीहरूले वरको सिन्को परसम्म सार्ने काम गरेका छैनन् । ‘बारी न बिरुवा नौ मुरी तोरी’ भनेझैँ तुक्का सुनाउन प्रधानमन्त्री र मन्त्रीजीहरू लागेका छन् । भारतलाई गाली गरेर मात्रै उनीहरू आफ्नो भत्ता पचाउने काम गरिरहेका छन् । भारतसँगको कूटनीतिक र बेपारिक सम्बन्ध माटो भएको छ । अब फेरि नयाँ शिरा र धारबाट सम्बन्धको आरम्भ नगरी भएको छैन ।

मधेसी मोर्चाका मागमा भारत नेपाललाई अझै मुसो खेलाएझैँ गरी खेलाइरहेको छ । भारतीय राजदूत रे नेपाली राजनीति व्यवस्थापनमा सफल देखिएका छन्। ओलीसँगै उनको पनि विरोधको हनिमुन पिरियड सकिएको छ । अब प्रम भारत जाने तारतम्य मिलाउन र भएका अलिअलि पानी भारतलाई सुम्पन आतुर छन् भन्ने गाइँगुइँ सुनिन्छ । भारतको विरोध गरेजस्तो गरी सत्तामा टिकिरहेका ओली अब भारत भक्तिको शक्तिमा पुनः आफ्नो सत्तालाई लम्ब्याउन चाहन्छन् ।

यो सरकारले आफूलाई मन परेका मानिसलाई करिब ४ करोड सहयोग बाँडेको छ । भूपूहरूलाई सुविधा थप्ने निर्णय होस् या आफ्ना सल्लाहकारहरूलाई राष्ट्रपति र सभामुखभन्दा बढी सुविधा दिएर अति नै आलोचनाको विषय बन्दै गएको छ । सरकार भारतको विरोध गरेजस्तो मात्र गरिरहेछ । जनता उडुसझैँ सहेर राष्ट्रियताका नाममा भोकभाकै बस्न बाध्य छन् । डा. गोविन्द केसी फेरि मेडिकल माफियाका विरुद्धमा छैटौं पटकको अनसनमा बस्ने चाँजोपाँजो मिलाउन खोज्दैछन् । केही नयाँ गरौं भन्ने शिक्षा मन्त्रीको नयाँ शिक्षा विधेयक तुहाइएको छ । उल्टो उनी चिकित्सा आयोगका पो अध्यक्ष बनाइएका छन् ।

हो, सरकारको सबैभन्दा ठूलो उपलब्धी १०० दिनसम्म सरकार टिकेको छ । अहिलेलाई यही सन्दर्भमा सरकारलाई बधाइ । सबैमा चेतना भया ।
            

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell