top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

किसुनजीको नामको विवाद, तल्लो स्तरको राजनीति  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  4:54 PM  |  Viewed: 525 times

हरिविनोद अधिकारी - २०७२—७३को बजेट भाषणमा सूचना तथा सञ्चार शीर्षकमा एउटा वाक्य थियो जुन संसदले पारित गर्‍यो र अहिले त्यही बजेट मुताबिक मुलुकको आय व्ययको सिद्धान्तअनुसार काम भइरहेको छ । अर्थात त्यो बजेट पारित गर्ने काँग्रेस र एमालेको संयुक्त सरकार थियो । बजेट भाषणको २२१ नंबरको बुँदाको वाक्य यस्तो थियो—नेपाली पत्रकारहरुको संगठनको पहिलो सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्मानमा कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रतिष्ठान गठन गरिने छ ।

वास्तवमा त्यस्तो कामलाई साँचेर राख्ने पहिलेका सञ्चार मन्त्रीलाई पनि यसमा धन्यवाद दिनै पर्छ किनभने त्यो साँचिएकाले नै आज सरकारले सन्तनेता तथा पहिलो सभापतिको नाम हटाउन पाएको हो । यदि त्यो काम बेलैमा भएको हुन्थ्यो भने अहिले आम सञ्चारको प्रशिक्षण तथा योजना तर्जुमाका कामहरु भएका हुन्थे । अहिले पूर्वमन्त्रीबाट भएका कामहरुको समीक्षा गर्नका लागि यो समीक्षा तयार गरिएको होइन । बरु काम साँची आफूलाई, खान साँची अरुलाई भन्ने चलन नै छ । काम साँचियो काँग्रेसका तर्फबाट, त्यसलाई तोडमरोड गरियो एमालेका तर्फबाट । यत्तिमात्र हो ।

पहिलेको सरकारले सम्मान दिनका लागि होला, प्रजातन्त्रका अनवरत योद्धा तथा अभिव्यक्ति स्वतन्त्रताका एक संरक्षक तथा आफ्ना बेलामा राजनीतिज्ञ तथा सञ्चारकर्मी दुवै भूमिकामा अनवरत लागिरहने मुक्तियोद्धाको नाममा एउटा आम सञ्चार प्रतिष्ठान गर्ने निधो गर्‍यो । ठीक भयो या भएन, त्यो आम जनताले भन्ने कुरा हो तर एमालेका अहिलेको सरकारले त्यसलाई एउटा राजनीतिक प्रश्न बनायो । भट्टराईजीलाई न त त्यस्तो संस्था गठन गरेर त्यसमा आफ्ना कुनै भाइभतिजा या पार्टीको कुनै चाटुकारलाई पद दिने कुनै मोह थियो , न त त्यस्तो गर्नका लागि आफ्ना उत्तरवर्ती सरकारहरुलाई कहिल्यै भन्नु नै भयो । तत्कालीन सरकारले ठान्यो होला उहाँको नाममा एउटा प्रतिष्ठान स्थापना गरौँ जसले जीवनभर आमसञ्चारको हितका लागि र अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्नुभयो । अहिलेसम्मको प्रमाणका आधारमा उहाँ नै पहिलो सभापतिको रुपमा मानिनु हुन्छ र नेपाल पत्रकार महासंघले प्रकाशित गरेको आधिकारिक दस्ताबेजमा उहाँको नाम नै पाइन्छ ।

किसुनजी(जसलाई सबैले सम्मानका साथ यसै भन्थे)का नाममा विवाद गर्नु मनासिब हुँदैन । सरकारले यसमा विवाद गर्नुको कुनै महत्व राख्दैन । यसले आगामी दिनमा जोजो सरकारमा आउने छन्, तिनले यसै गर्नेछन् । यसले रिस, द्वेष, बदलाको भावना बढ्ने छ । आजको राजनीतिमा यसले पुर्‍याउने क्षति सोचेभन्दा बढी नै हुनेछ । नेपाली काँग्रेस, त्यसका भ्रातृसंस्थाहरुसमेतले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । कुरो कहाँसम्म पुगेको देखिन्छ भने नेपाल प्रेस युनियले यसो हुनुमा प्रेस चौतारी र नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व प्रति इँगित गर्दै भावी दिनमा महासँघको सदस्यतासमेत लिने कि नलिने भन्नेसम्मको बहस सुरु भएका छन् ।

आवेगलाई सबैले समन गर्नुपर्दछ । किसुनजीको नाम जोडिएको कुरामा सबैले संवेदनशील हुनु जरुरी छ । संसारमा सबै कब्जा गर्छु भन्ने राजा महाराजा त कता गए भने अहिलेको लोकतान्त्रिक नेपालमा , त्यो पनि संयुक्त सरकारको सँस्कृति मौलाएको बेलामा त्यसले कुनै असर पार्ला भन्ने लाग्दैन । यदि यही कारणले नेपालको प्रेस स्वतन्त्रताको आन्दोलनले विखण्डनको अवस्था भोग्नु पर्‍यो भने त्यसले हामीलाई घाटा नै पुर्‍याउँछ । यसले पारित विनियोजन ऐनको नै खिल्ली उडाउने छ । मुलुकको एउटा लोकतान्त्रिक शक्ति र अर्को शक्तिका बिचमा दूरी सुरु हुनेछ । त्यसैले सरकारले यदि त्यस्तो निर्णय गरेर किसुनजीको नाम हटाउन खोजेको भए अब त्यो दुराशय छोडेर पारित बजेट अनुसार नै गठन गरे हुन्छ ।

अहिलेका गर्नैपर्ने तात्तातो विषयहरु थुप्रै छन् । मुलुक अझै भूकम्पीय जोखिममा छ र भूकम्पबाट भएको क्षतिलाई समाल्न र जनताको दुःखमा मलम लगाउन ढिलो भएको छ । नाकाबन्दीको मारमा देश छ  । कालोबजारी र महङ्गीको चपेटामा जनता छन् । इन्धनको अभावले जनताको चुलो बल्न सकेको छैन । पाँच महिनादेखि तराई मधेसधको अवस्था दिनानुदिन नाजुक भएको छ। सरकार निर्विवादलाई विवादमा तानेर राष्ट्रिय व्यक्तित्वहरुको तेजोबध गर्न लाग्न थाल्यो भने सम्झे हुन्छ कमिलो आकाशतिर उड्न थालेछ । सायद सरकारले छिटै त्यो प्रयासलाई सच्च्याउने छ र किसुनजीकै नाममा सँस्था खोल्ने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell